दीपेन्द्र बस्नेत
कञ्चनपुर , माघ १६
सम्पत्तिको संरक्षण गर्नु पर्ने समितिलेनै आर्थिक लाभ लिन सार्वजनिक जग्गा धमाधम बेच्न सुरु गरेपछी करोडौं सरकारी लगानीमा निर्मित हाट बजारका भवन यतिबेला ब्यक्तिका नाममा कायम हुन पुगेका छन् ।
सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ६ स्थित कृषि हाट बजारको नाममा रहेको जग्गा तत्कालीन ब्यबस्थापन समितिले धमाधम बेच्न सुरु गरे पछि नेपाल सरकारका विभिन्न मंत्रालय बिभागको करोडौं लगानीमा निर्मित भवनहरु निजि स्वामित्वमा पुगेका हुन ।
तत्कालिन ग्रामीण आवास कम्पनी लिमिटेडले २०५८ चैत १२ गते पुनर्वास हाट बजार समितिको नाममा १७ कठ्ठा जग्गा राजिनामा गरि दिएको थियो । जग्गाको एकल स्वामित्व पाएको हर्कबहादुर थापाको अध्यक्षतामा रहेको हाटबजार सञ्चालन समितिले निर्णय गरि जग्गा बेच्न सुरु गरेको पाइएको छ ।
हाट बजार समितीको ऋण तिर्ने नाममा २०५९ देखि हाटबजारको जग्गा बेच्न सुरु गरिएको बुझिएको छ ।
अध्यक्ष थापाले समितिको बहुमत निर्णयबाट हाटबजारको जग्गा बेच्न कानुनी अडचन न आए पनि सार्वजनिक सम्पत्तिको दोहन गलत मनसायबाट गरिएको स्थानीयहरुले बताउदै आएका छन् ।
हाट बजार सञ्चालन समितिको बहुमत निर्णयबाट सार्वजनिक जग्गा बेच्ने कार्य गलत नियत र बेइमानी भएको पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण बहादुर तामाङले बताए । ऋण छ भन्दैमा हाटबजारको जग्गा बेच्नु नै समितिको बेइमानी भएको उनले बताए ।
संस्थाको सम्पत्तिको संरक्षण गर्दै हाट बजारलाई ब्यबस्थित गर्नु पर्ने ब्यक्तिहरुले जग्गानै बेचेर निजि सम्पत्ति जोड्नु अक्षम्य अपराध भएको स्थानीय मेनुका उप्रेतीले बताइन् । तत्कालीन अध्यक्ष हर्कबहादुर थापाको नेतृत्वको समितिले बेचेको जग्गा पुनः हाटबजारको नाममा स्थापित गराउन सर्व पक्षीय पहल कदमी हुनु पर्ने स्थानीय जीतराज तामाङले बताए ।
बेचिएको जग्गालाई पुनः हाटबजारको स्वामित्वमा ल्याउन शनिबार पुनर्वास नगर स्तरीय सर्व पक्षिय भेलाको आयोजना समेत गरिएको थियो । भेलाले मेनुका उप्रेतीको अध्यक्षतामा हाटबजार समिती गठन गरेको छ । समितिको अन्य पदहरुमा उपाध्यक्ष जीतराज तामाङ , सचिव हिमाल मल्ल , कोषाध्यक्ष माया खड्का ,र सदस्यहरुमा राजकुमार श्रेष्ठ , जन्तरा बिष्ट , परि बोहरा , वीर बहादुर तामाङ र रामबहादुर बिश्वकर्मालाई चयन गरेको छ ।