धनगढी , माघ १७ । कैलालीमा विप्लव कार्यकर्ताले सहायक वन अधिकृतलाई कालोमोसो दलेका छन्। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कैलालीको पचमुडिया सव डिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई कालोमोसो दलेका हुन ।
आफुलाई विप्लवको कार्यकर्ता भनेर परिचय गराएका केही व्यक्ति तपाईंसंग कुरा गर्छु भन्दै आएका थिए र चन्दा आतंकको किन विरोध गरेको भन्दै एक्कासी दुर्ववहार गरेकाे अधिकृतले बताए। केही समय अगाडि उक्त सव डिभिजनअन्तर्गत पर्ने कैलालीका सामुदायिक वनमा विप्लवका कार्यकर्ताले चन्दा असुली गरेका थिए ।
सामुदायिक वनमा आफूले तोकेको रकम चन्दास्वरुप नदिएमा भौतिक कारबाही गर्ने धम्की आएपछि सामुदायिक वनले समूहमा निर्णय गरेर बिप्लबका कर्याकर्ता लाइ चन्दा दिएका थिए।
एउटै वनबाट तीन लाखसम्म असुल गरिएको थियो। यस्तै सुदूरपश्चिम प्रदेश अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति तथा प्रदेशसभा सदस्य हर्क कुँवरसहितको टोलीले सामुदायिक वनमा अनुगमन गर्दा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुले विप्लवको चन्दाबाट आफूहरु आजित बनेको बताएका थिए।
चन्दाबारे उक्त समिति र सञ्चारमाध्यमलाई जानकारी दिएको भन्दै पण्डितलाई कालोमोसो दलिएको बताइएको छ। नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव दीपेन्द्र चलाउनेले भने सोबारे अपुष्ट खबर आएकाले बुझेर जानकारी दिने बताए।