धनगढी ,
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरी बीच हात झडप भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि एमाले निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघका कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन र राँके जुलुस निकाल्न खोज्दा प्रहरीले अवरोध गरेपछि हात हालाहाल भएको हो ।
अनेरास्ववियूका जिल्ला अध्यक्ष किशोर शाहले प्रहरीले शान्तिपूर्ण आन्दोलनमा लाठी चार्ज गरेको बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले सामान्य धरपकड मात्रै भएको बताए।
अनेरास्ववियू र राष्ट्रिय युवा संघले तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता लिनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका हुन्। पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले जनाएको छन्। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ। योसँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ।
