कञ्चनपुर २० माघ
देशका विभिन्न जिल्लाका स्थानहरुबाट लागू औषध सहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जनाएको छ ।
सुर्खेत: वीरेन्द्रनगर नगरपालिका-६ बसपार्कस्थित चौलागाई होटलबाट ३ ग्राम ६ मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका-३ बस्ने २१ वर्षीय प्रकाश बुढा र २० वर्षीय दिपेन्द्र थापा रहेका छन् ।
होटलमा लागूऔषधको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
दाङ : घोराही उपमहानगरपालिका-१७ गुलरीयाबाट १ ग्राम ३ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही उपमहानगरपालिका-१२ हापुर बस्ने २६ वर्षीय दिपेन्द्र खड्कालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
स्याङ्जा : अर्जुनचौपारी गाउँपालिका-१ गहतेबाट करिब ७ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने २२ वर्षीय पबन जिसीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अर्जुनचौपारीबाट खटिएको प्रहरीले पवनको घर तलासी गर्नेक्रममा लुकाईछिपाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
झापा : बिर्तामोड नगरपालिका-४ ओमशान्ति टोलबाट ३ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ डेरा गरी बस्ने २१ वर्षीया हसिना मण्डल र सोही नगरपालिका-५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बाजुरा : खप्तड छेडेदह गाउँपालिका-५ डोगडी बजारबाट सोही गाउँपालिका-७ लमगाउँ बस्ने ४० वर्षीय हर्क बहादुर रावतलाई करिब १० केजी अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । से.१ ज ६०९ नम्बरको जिपलाई प्रहरी चौकी डोगडीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा जिपमा सवार रावतलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।