दीपेन्द्र बस्नेत
पुनर्वास , कञ्चनपुर
पैसा कमाउने अभिलाषामा नेपालका शिक्षित युवाहरु कोहि सात समुद्र पारी त कोहि मुग्लान पस्ने होडबाजीका बिच “गणेश रैकाल” नाम पृथक रहेको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका ३० वर्षिय “गणेश रैकाल” न्यु श्री गणेश सिमेन्ट तथा कंकृट उद्योग सञ्चालन गर्दै पुनर्वासको औद्योगिक बिकासमा इटा थप्ने अभियानमा होमिएका हुन । गाउमै उत्पादन क्षेत्रमा आफ्नो मन, बैंस र पसिना खर्चिने प्रण लिएका युवा हुन । रोजगारीको अबसर आफ्नै आँगनमा सृजना गर्दै मालिक बन्ने सुनौलो सपना “गणेश” ले देखेर साकार पार्ने अभियानमा लागेका छन् ।
बिएस्सी उतिर्ण युवा हुन । स्नातक तहको पढाइ पूरा गरेपछी अधिकाँश युवाहरुको रोजाइ जागिर हुने गरे पनि गणेशले भने अलि फरक बाटो रोजे । केही समय अघि सम्म उनि शिक्षण पेशामा समेत आवद्ध थिए ।
शिक्षा जागिर खाने माध्यम मात्रै नभई जागिर ख्वाउने माध्यम बन्न सक्ने पुष्ट्याइ उनको यो पहलबाट हुन पुगेको छ । यसै माघ महिना देखि संचालनमा आएको गणेशको उद्योगले हाल ४ जना स्थानीय लाई रोजगारी दिएको छ ।
२५ लाखको लगानीमा सञ्चालनमा ल्याइएको उनको उद्योगले घर निर्माणका लागि ब्लक इटा , खाँबा , घर सजावटका बिभिन्न सामाग्री , शौचालय रिङ , आँगन टायल लगायतका सामाग्री उत्पादन गर्दै आएको छ ।
आफ्नो उत्पादनको बजार हाललाई पुनर्वास नगरपालिका स्तरीय रहे पनि भविश्यमा आसपासका क्षेत्रहरुमा बिस्तार गर्ने सोचाइमा गणेश रहेकाछन ।
उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने दृढ संकल्प बोकेका गणेशले सूक्ष्म सम्भाव्यता अध्ययन गरेर सिमेन्ट कंकृट उत्पादनमा लागेको बताउछन् ।
बिपन्न समुदायका जुनसुकै मान्छेले पनि नयाँ घर निर्माण गर्न आर्थिक भार खेप्न नपरोस् , सस्तो र थोरै लगानीमा आकर्षक घर निर्माण गर्न सकिने भएकाले सिमेन्ट कंकृट उद्योगमा आफुले लगानी गरेको गणेशले बताउछन् ।
धुँवा , धुलो रहित उद्योग भएकाले बाताबरणीय सन्तुलन कायम राख्न समेत आफ्नो उद्योगले भुमिका निर्वाह गर्ने र बलियो , आकर्षक , सस्तो उत्पादन भएका कारण सबै आर्थिक स्तरका मान्छेहरुका लागि सिमेन्ट तथा कंकृटका उत्पादन रहने युवा उद्यमी “गणेश” बताउछन् ।