कञ्चनपुर, ९ फागुन
नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस सङ्गठन कञ्चनपुरका संयोजक माधव पौडेलले सङ्गठन त्यागेको घोषणा गरेका छन् ।
नेकपा एकीकृत समाजवादीका केन्द्र देखि तल्लो तह सम्मका नेता कार्यकर्ताहरुको कार्यशैली प्रति असन्तुष्टि व्यक्त गर्दै उनले सङ्गठन त्यागेको फेसबुकमा स्टाटस लेख्दै बताएका हुन ।
संसद्मा एमसिसी टेबुल गर्न नेकपा एकीकृत समाजवादी सहमत भएपछि सत्तामा टिकिरहन राष्ट्रघाती सम्झौता गरेको भन्दै पार्टी नेतृत्व प्रति उनले असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले “यात्रा समाजवादको; लोभ सत्ताको । जय हो राष्ट्रवादी । समाजवादी मुर्दावाद ।” भन्दै उनले पार्टी नेतृत्व प्रति कटाक्ष गर्दै आफ्नो असन्तुष्टि ब्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले “पार्टी पंक्तिसँग छलफल नगरी निर्णय लिने कस्तो समाजवाद ?” र “आफ्नो स्वार्थका लागि जस्तो पनि निर्णय लिने कस्तो समाजवाद ? भन्दै प्रश्न समेत गरेका छन् । त्यस्तै उनले पार्टी पंक्तिसँग छलफल नगरी निर्णय लिए अब समाजवादको अन्त्य निश्चित रहेको समेत ठोकुवा गरेका छन् ।
सिद्धान्त र नीति एकातिर व्यवहार अर्को तिर देखिएकाले आफुले पार्टी र संगठन त्याग्ने निचोडमा पुगेरनै घोषणा गरेको उनले नागरिक आवाजलाई बताए । अब उपरान्त स्वतन्त्र नागरिकका रुपमा आफू रहने पौडेलले बताए ।
समाजवादी प्रेस सङ्गठन कञ्चनपुरका संयोजक पौडेलले बेलौरी नगरपालिका कार्यालय प्रति समेत आक्रोश व्यक्त गरेका छन् । नगरपालिकामा सूचनाको हक प्रयोग गरी आवश्यक जानकारी माग्न जाँदा सूचना अधिकारीले सूचना लुकाउने गरेको र त्यस विषयमा प्रत्यक्ष कुराकानी गर्दा अपहेलना गरेको उनले बताएका छन् ।
बेलौरी नगरपालिकाको बेरुजु सम्बन्धमा बारम्बार विवरण माग गर्दा समेत अटेरी गरेको र नगरपालिकाबाट बाहिरी मिडियाहरूमा मोटो रकम दिने गरेको विषयमा जनप्रतिनिधिहरूलाई जानकारी गराउँदा समेत बेवास्ता गरेको उनको गुनासो छ । यी सबै विषयमा नेकपा एकीकृत समाजवादीको तर्फबाट नगरपालिकामा रहेका जनप्रतिनिधिहरूलाई बारम्बार जानकारी गराउँदा समेत कुनै वास्ता नगरेकोले सङ्गठन त्यागेको उनको भनाइ छ । नगरपालिकामा हुने बेथिति र भ्रष्टाचारको भन्डाफोर गर्ने समेत उनले बताए ।