कञ्चनपुर,१३ चैत । निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ ।आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरू ६ सय ७६ जना निर्वाचन अधिकृत तोकेको हो ।
जस अनुसार आयोगले कञ्चनपुरका नौ वटै पालिकामा पनि निर्वाचन अधिकृत तोकेको छ जस अनुसार भीमदत्त नगरपालिकामा जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश मदन बहादुर धामीलाई निर्वाचन अधिकृत तोकिएको छ ।
यस्तै कृष्णपुर नगरपालिकामा नरेन्द्र बहादुर बुढा, पुनर्वास नगरपालिकामा किरण जोशी, बेलडाँडी गाउँपालिकामा सुरेन्द्र केसी, बेलौरी नगरपालिकामा तारा सिंह धामीलाई तोकिएको छ ।
यस्तै माहाकालि नगरपालिकामा डम्बर बहादुर सुनार, लालझाडी गाँउपालिकामा कुल प्रसाद खनाल, बेदकोट नगरपालिकामा जयन्ती अवस्थी भट्ट र शुक्लाफाँटा नगरपालिकामा तारा प्रसाद जोशीलाई निर्वाचन अधिकृत तोकेको छ ।
२०७९ वैशाख ३० गते शुक्रवार हुने स्थानीय तह निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई मिति २०७८ चैत २९ देखि लागु हुने गरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ।
नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले गोरखापत्रमा आज (आइतबार) प्रकाशित सूचनालाई आधार मानी तोकिएको स्थानमा हुने निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा अनिवार्य सहभागी हुन आयोगले निर्देशन समेत दिएको छ।