दीपेन्द्र बस्नेत
कञ्चनपुर
कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका ९ स्थित प्यारातालमा नयाँ वर्षको आगमन संगै गर्मी छल्न र तालको मनमोहक दृश्यावलनका लागि आन्तरिक पर्यटकको घुइँचो लाग्न सुरु भएको छ ।
नयाँ वर्षको दिन आज ४०० बेशी आन्तरिक पर्यटकले तालको अवलोकन गरेको स्थानीयहरु बताउछन् । सदावहार सङ्लो जलाशयका रुपमा रहेको प्यारातालको दृश्य सुन्दर देखिने भएकाले पनि समाजिक सञ्जाल टिकटकका प्रयोगकर्ताहरुको रोजाइमा परेको हो ।
तालको वरिपरिको हरियाली , निलो जल र शितल हावा पाई रहने भएका कारण स्थानीय तथा आसपासका बासिन्दाका माझ प्रिय बनेको प्याराताल पछिल्लो समय यता छिमेकी गाउँका पर्यटकको समेत रोजाइमा परेको छ ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत केही दिन अघि वडा कार्यालयले तालको सफाइ गरे पछि तालको रुप सुन्दर देखिन थालेको हो । उक्त तालमा आन्तरिक पर्यटकहरु आकर्षित गर्दै पर्यटन ब्यबसाय प्रबर्द्धनका लागि स्थानीय युवा ब्यबसायी कृष्ण बहादुर बस्नेतले आफ्नै लगानीमा ३ वटा वोटको ब्यबस्था गरे पछि तालको अवलोकन गर्ने आन्तरिक पर्यटकहरुको घुइँचो लाग्न सुरु भएको हो ।
प्यारातालमा आन्तरिक पर्यटन बिकास गर्न सहजता होस भनेर वडाले सरसफाइ र ताल सम्म पुग्न सहजताका लागि सडकमा ग्रावेल गरेन कार्य गरेको वडा अध्यक्ष नारायण प्रसाद जैसीले बताए । तालको अवलोकनमा आउने पर्यटकहरुलाई सहजताका वडा कार्यालयले सक्दो पहल गर्ने उनले बताए । तालमा आन्तरिक पर्यटकको सहजताका लागि आराम बेन्च समेत निर्माण गरिएको वडा अध्यक्ष जैसीले बताए ।
जैविक विभितताले भरिपुर्ण प्याराताल पुराना दस्तावेजका आधारमा नेपाली भुमिमै रहे पनि भारतले बेला बेलामा अबरोध गर्दै आएका कारण पनि तालको बिकास हुन सकेको छैन ।
