September 29, 23
23.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलौरी बजारमा निर्माणाधीन ड्रेनमा चरम लापरबाही

मा प्रकाशित

हरिश्चन्द्र बाग ।
कञ्चनपुर, ०६ साउन । कञ्चनपुरको बेलौरी बजारमा निर्माणाधीन ड्रेनमा चरम लापरबाही र ढिलासुस्ती भएको भन्दै बेलौरी बजार बासीले चर्को विरोध जनाएका छन् । बेलौरी बजार स्थित भीमदत्त चोकदेखि संविधान चोकसम्म सडकको दुवैतिर गरी जम्मा १ हजार ३ सय मिटर लम्बाइको ड्रेन निर्माणाधीन अवस्थामा छ । निर्माण कम्पनीले समयमै काम नगर्दा बजार क्षेत्र कुरूप मात्रै भएको छैन, उक्त गल्लीको व्यापार व्यवसाय समेत ६ महिनायता प्रायः ठप्प छ । त्यसैमा वर्षातको पानीले सडक तथा खनिएको ड्रेन भरिएको छ भने प्लास्टर (पक्की संरचना निर्माण) नगरेको स्थान वरपर भवन तथा सडक समेत भत्किने अवस्थामा पुगेको छ ।
निर्माण कम्पनी र बेलौरी नगरपालिकाको चरम लापरबाही रहेको बेलौरी बजार बासीको आरोप छ । बेलौरी बजारमा मेडिकल प्रयोगशाला सञ्चालन गरिरहनु भएका कृष्ण नाथले ड्रेन निर्माण गर्दा अन्तिम बिन्दुदेखि सुरु गरेको भए त्यति समस्या नहुने सुझाव पटक पटक दिँदा पनि सम्बन्धित निकायले कुनै सुनुवाइ नगरेको गुनासो पोख्नु भयो । बाटोको लेभल भन्दा २ फिट तल नाला बनिरहेकोले प्राविधिक दृष्टिकोणले समेत उक्त ड्रेन उपयुक्त नभएको बताउँदै नाथले बाटोको लेभलसँग मिल्ने गरी ड्रेन पुनर्निर्माण गर्न माग समेत गर्नुभयो । त्यस्तै, बेलौरी बजारमा किराना डिलर सञ्चालन गरिरहनु भएका अमित प्रसाद भट्टराईले समेत उक्त ड्रेन निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोग भइरहेको आशङ्का गर्नुभयो । समयमै काम नगरी वर्षातको समयमा काम गर्न खोज्दा ३ घर उच्च जोखिममा परेको र थप क्षति हुन नदिन केही दिन काम रोक्न माग गरिएको उहाँको भनाइ छ । नगरपालिकाले बेलाबेलामा अनुगमन नगरेको उपभोक्ताहरूको गुनासो छ ।
बेलौरीमा होटेल व्यवसाय गर्दै आउनु भएका रमेश गौतम (ठुल्दाइ) ले त उक्त ड्रेनको निकास समेत नहुँदा ड्रेन निर्माणको औचित्य माथि नै प्रश्न उठाउनु भयो । बजार क्षेत्रमा ड्रेन निर्माण गर्नु राम्रो कार्य भए पनि त्यसको अन्तिम निकास निर्धारण नहुँदा बजार बासी अचम्मित भएका छन् । तोकिएको मापदण्ड, समय सीमा र गुणस्तरयुक्त कार्य गर्न बेलौरी बजार बासीले निर्माण कम्पनीलाई आग्रह समेत गरेका छन् । .ठेकेदारले निर्माण कार्यमा ढिलासुस्ती गरिदिँदा स्थानीय पीडित छन् । भीमदत्त चोकदेखि सुरु भएको ड्रेन निर्माणको काम निर्धारित समयभित्र नसकिएपछि पुनः ३ महिना म्याद थप गरिएको छ । गत वर्ष बेलौरी नगरपालिकाले १ हजार ३ सय मिटर ड्रेन निर्माणका लागि ललितपुरको प्यारागन कन्स्ट्रक्सन प्रा.लि. नामक निर्माण कम्पनीसँग रु. ९६ लाखमा ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीका प्रतिनिधि (म्यानेजर) सुजन राना मगरले भने ड्रेन निर्माणमा गुणस्तरीय सामग्रीको प्रयोग भइरहेको दाबी गर्नुभएको छ ।  समयमै काम गर्न आवश्यक जनशक्ति र निर्माण सामग्रीको जोहो गर्न नसक्दा ढिलाइ भएको उहाँको भनाइ छ ।
पछिल्लो केही दिनयता ड्रेन खन्ने कार्यले तीव्रता पाए पनि प्रतिकुल मौसममा कारण काम प्रभावित भएको छ । भर्खरै खनिएको ड्रेनमा पानी भरिएर आसपासका भवन तथा सडकमा बढी क्षति पुग्न सक्ने भन्दै कालिका मन्दिरमा भरान गरिएको माटो ल्याएर बेलौरी नगरपालिकाले जोखिमयुक्त नाली पुर्न लगाएको र केही दिनका लागि ड्रेन खन्ने कार्य समेत रोक्न निर्माण कम्पनीलाई भनिएको बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशीला लेखकले जानकारी दिनुभएको छ । मौसम अनुकूल भएपछि ड्रेन निर्माणको कार्यलाई तीव्रता दिन निर्माण कम्पनीलाई ताकेता गरिने उहाँको भनाइ छ । सडक किनारमा ड्रेन नहुँदा वर्षातको समयमा आएको पानीले बजार क्षेत्र डुबानमा पर्ने समस्या समाधानका लागि ड्रेन निर्माण गर्न लागिएको भए पनि उक्त ड्रेन निकासको अन्तिम बिन्दु भने बेलौरी नगरपालिकाले अझै पहिल्याउन सकेको छैन । बजार क्षेत्रको पानी बग्ने नालाहरू केही व्यक्तिहरूले अतिक्रमण समेत गरेको पाइएको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु