September 12, 24
23.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

जसले बसाए डोकेबजार उनै गुमनाम

मा प्रकाशित

 

दीपेन्द्र बस्नेत
डोकेबजार ! कैलाली कञ्चनपुरको सीमा नदी मोहनाको बगर र भारतीय दुधवा राष्ट्रिय निकुञ्ज संग जोडिएको बजार हो । डोकेबजार सुदूरमा प्रख्यात छ । यसको प्रख्यात बन्नुको आफ्नै कारण छन । कुनै बेला त्रिपाल र थाङनामा पसल थापेर बिकसित बजार अहिले सुदूरका धेरैको प्रिय बन्न पुगेको छ ।

सुदूर पश्चिमका मासु पारखीहरुको रोजाइमा परेको बजार डोकेबजार । सुदूरका जुनसुकै स्थानबाट धनगढी पुगेको जो कोहि पनि मासुको स्वादमा रमाउन डोकेबजार पुग्ने गर्दछन ।

डोकेबजार अहिले जति चर्चामा रहे पनि यो बजारको तीन दशक अगाडि स्थापना गर्ने आइती माया, कुमारी र बेलमाया भने गुमनाम नै छन् ।

२०४८/०४९ ताका कंचनपुरको दक्षिणी क्षेत्रका ८ भन्दा बेशी गाविसका स्थानीयहरु धनगढी र सिमावर्ती बजार गौरीफन्टा किनमेलका लागि आउने जाने गर्थे । उजाड अनि चर्को घामका बेला न त बस्ने कुनै ठाउँ न त कुनै बिसौनीनै थियो । साइकल र पैदल यात्री तिर्खा लागे मोहना पारी धनगढीको त्रिनगर र गौरीफन्टा पुगेर प्यास मेटाउने गर्थे ।

यही बिच मानिसहरुको बाक्लो आउजाउ भइ रहने यो ठाउँमा भिमबस्ती घर भएकी आइतीमाया नेपाली , कुमारी सुनार र बेलमाया बिकले सालघारीको छायाँ परिरहने यो ठाउँमा सुरु गरिन डोके व्यापार । तिनै आईतीमाया , कुमारी र बेलमायाको अथक प्रयत्नले धेरैको थकान र तिर्खा मेटाउने थलो बन्यो यो ठाउँ ।

कैलालीको धनगढी कैलालीपुल स्थित हाटबजारमा बेच्न राखिएका पहाडका सुन्तला , ज्यामिर , भटमास, गहत , अदुवा लगायतका कृषी उत्पादनका बस्तु , बिस्कुट , चुरोट , सुर्ती , बिडी , डोकोमा बोकेर ल्याउने र यहाँ त्रिपाल र थाङ्ना ओछ्याएर पसल थाप्न सुरु गरेका हुन आईतीमाया , कुमारी र बेलमायाले । डोकेबजारको संस्थापक यि तीन आईतीमाया , कुमारी र बेलमाया मध्य कुमारी मात्रै जिवित छिन् । सुरुमा यिनैले डोके बजारको थापना गरे पनि केही पछि भने धेरैले उनिहरु संगै सुरु गरे डोको व्यापार ।

धनगढी संग सीमा जोडिएको मोहनाको बगर नजिक भारतको गौरीफन्टा संगै जोडिएको कञ्चनपुरको भुभागमा अबस्थित डोकेबजारको ईतिहास डोको संग जोडिएको छ । बिहान घरबाट डोकोमा सामान बोकेर सालघारीको छायाँ पर्ने बाटोको छेउमा त्रिपाल र थाङ्नामा पसल थापेर बेलुका डोकोमै सामान बोकेर फर्कने गर्थे उहिले आइतीमाया, कुमारी र बेलमाया ।

दिनभर पसल चलाएर यात्रीहरुलाई सुस्ताउन र थकाइ मेटन बिसौनीका रुपमा स्थापित गर्ने आइतीमाया , कुमारी र बेलमायाकै अथक प्रयासले स्थापित यो ठाउँ कालान्तरमा डोकेबजारका नामले प्रसिद्धि पाएको हो । तीन दशक अघि त्रिपाल र थाङनामा व्यापार हुने ठाउँमा अहिले ठुला ठुला पक्की पसल बनेका छन् । दैनिक करोड बेशीको कारोबार यहाँ हुने गर्दछ ।

पुनर्वास नगरपालिका वडा नम्बर ११स्थित डोकेबजार कञ्चनपुरको पुर्वी दक्षिणमा रहेको नेपाल भारत अन्तराष्ट्रीय सीमा नाका पनि हो । भारतीय सीमा संगै जोडिएको ठाउँमा डोकेबजार जस्तो सामरिक महत्वको ब्यापारिक केन्द्र स्थापनामा आफ्नो पसिना सिंचित गर्ने आईतीमाया , कुमारी , बेलमाया जस्ता ऐतिहासिक ब्यक्तित्व भने गुमनाम छन । डोकेबजारमा पुग्ने न कसैले चिन्छ न राज्यलेनै चिन्छ न स्थानीय निकायले नै चिन्छ यिनिहरुलाई ।

अन्तराष्ट्रीय महत्वको हुँदाहुँदै पनि डोकेबजार अस्तब्यस्त छ , फोहर ब्यबस्थापन हुन सकेको छैन , ट्राफिक समस्या उत्तिकै छ । सार्वजनिक शौचालय छैन ।
डोकेबजारको ऐतिहासिक महत्व र पहिचान झल्किने गरि बिकासका कुनै मोडेल तयार पारिएको देखिँदैन । स्थानीय ठाउँको पहिचान उजागर हुने गरि बनाइएका बिकासका योजना दिर्घकाल सम्म जिवित रहन्छन यस तर्फ पुनर्वास नगरपालिकाले पहल गर्नु पर्दथ्यो ।

पर्यटन प्रबर्द्धन र ब्यापारिक महत्वको डोकेबजार पुनर्वासको आर्थिक लाभको सहयोगी बन्न सक्छ । यहाँको नेपाल भारत नाका ब्यबस्थित र सुन्दर बनाउदै डोकेबजार जाउँ जाउँ लाग्ने बनाउने अभिभारा पुनर्वासकै जनप्रतिनिधिहरुको हो भन्छन स्थानीय हरु ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु