April 25, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

मतदाताको भरोसा दिर्घकाल सम्म गुमाउने दुर्भाग्य बन्ने छ गठबन्धन काँग्रेसलाई

मा प्रकाशित

ऐंजेरु झार जसको आफ्नो न जरा हुन्छ न डाँठ । जमिनको गर्भ सम्म जरा गाडेर हुर्किएको हृष्टपुष्ठ रुखको टुप्पोमा झाँगिन्छ । अनन्त त्यही रुखलाई निर्जीव तुल्याउने एक प्रजातिको झार ऐंजेरु हो ।

अहिले नेपालको राजनीतिक क्षितिजमा ऐंजेरु बन्दैछ गठबन्धन । लोकतन्त्रमा मतदाताले आफुले रोजेको उम्मेदवार र चुनाव चिन्हमा मतदान गर्न पाउनु मताधिकार भए पनि बन्देज लगाउन गठबन्धन अघि सारिएको छ । “गठबन्धन “को अर्थ तल जरा सम्म छैन माथी टुप्पोमै झाँगिएको छ ऐंजेरु जस्तै ।

पौराणिक एउटा किंवदन्ती सम्झना आयो महादेवको कठोर तपस्या पछि जसको शिरमा हात राख्यो त्यो भस्म हुने बरदान पाएको भष्मासुर नामक दैत्यले वरदान सहि छ कि गलत आफ्नै टाउकोमा राखेर भस्म भएको थियो । अहिले दलहरुका शिर्ष नेतृत्वले “गठबन्धन” लाई अश्त्रका रुपमा गरिएको प्रयोग अवश्य आत्मघाती बन्ने छ । यसको उपादेयिता बारे न आफ्ना संगठनका तल्ला समितिसंग राय मागेका छन । न मतदाताहरुकै राय बुझेका छन । नितान्त शिर्ष नेतृत्वहरु सधैं सत्ता र पदमा बसिरहन आफू अनुकुल गठबन्धन अश्त्रले मताधिकार निस्तेज पार्दैछन । जुन स्वयं दलका तल्ला संगठन र मतदाता ध्वस्त हुनेछन । बलियो देखिएका क्षेत्रमा पार्टीका कार्यकर्ता र मतदाता पलायन बन्नेछन । जसबाट नेतृत्वलाई नै आउदो समयमा क्षती पुग्नेछ ।

काँग्रेसलाई सदैव आफ्नो वर्गीय शत्रुका रुपमा अर्थ्याउदै राजनीतिक फाइदा लिँदै आएको माओवादी पार्टी संगको यो गठबन्धन काँग्रेसका निम्ति “ऐंजेरु” बन्ने छ । काँग्रेसको पिपलको रुख “ऐंजेरु” ले ढपक्क ढाक्ने छ । अनन्त काँग्रेसको रुख सय साल सम्मका लागि सुकेर नराम्ररी निर्जीव बन्ने छ । परस्पर बिपरित सैद्धान्तिक धरातलका पार्टीहरु बिच हुने गठबन्धन अनन्त ऐंजेरु नै सावित हुनेछन ।

पार्टी शिर्ष तहमा देखिएको अकर्मण्यता र आफू जसरी पनि जित्ने मनोदशाले पार्टी संगठन थला पर्ने छ । शुभचिन्तक र आफ्ना मतदाता निश्चय पनि गुमाउने छ । २०४६ यता सम्पन्न आठ वटा निर्वाचनमा काँग्रेसको रुख चिन्हमा मतदान गर्दै आएका आफ्ना खास मतदाता काँग्रेसले गुमाउने छ । अहिलेसम्म रुख चिन्हमा बाहेक अरु चिन्हमा स्वस्तिक छाप नलगाएका वफादार मतदाताको भरोसा काँग्रेसले गुमाउनेनै छ ।

नेतृत्वले जतिनै कडाइ गरे पनि हिजो काँग्रेस भएकै कारण घाँटी रेटिएको काँग्रेस कार्यकर्ता र मतदाताको सन्तान , उसको परिवार र उसका छिमेकीले माओवादीको चुनाव चिन्ह हँसियाहथौडामा भोट हाल्ने छैनन् । संकटकालमा माओवादीलाई बास नदिएको र खाना नख्वाएको झोंकमा गाउँ निकाला गरिएका ति काँग्रेसजनले पनि माओवादीलाई भोट हाल्ने छैनन् ।

गठबन्धनबाट बन्ने माओवादी उम्मेदवार सत्ता र शक्तिको आडमा जित्ला तर बहुसंख्यक काँग्रेस कार्यकर्ता र मतदाताले गठबन्धनको बिकल्प रोज्ने छन । काँग्रेस मतदाता माओवादी मतदाता झै क्याडर वेश हैनन । कमान्डरको आदेश झैं काँग्रेस मतदाता मान्न तयार छैनन । माओवादी भन्दा तुलनात्मक रुपमा लोकतान्त्रिक संस्कारबाट दिक्षित काँग्रेस मतदाताले माओवादी पक्कै रोज्ने छैन । हिजो हिंसात्मक द्वन्दका बेला काँग्रेसको चारतारे झण्डा सिरानी मुनि राखेर निदाउने हजुरबा हरुका हातले हँसियाहथौडामा स्वस्तिक छाप लगाउने छैनन । यो नेतृत्वले स्मरण गरि राख्दा हुन्छ । बिगतका गठबन्धन्बाट समेत पुष्टि भइ सकेको हो । काँग्रेस गढका रुपमा स्थापित चितवनमा २०७४ मा माओवादी संग गरिएको गठबन्धनले नेतृत्वलाई सन्देश दिएकै हो । कुनैबेलाको गढ अहिले सदासदाको लागि गुमाउने अबस्थामा काँग्रेस पुगेको छ ।

जहाँ जहाँ काँग्रेस बलियो छ । ०७४ मा कमजोर देखिएको क्षेत्रमा ०७९ आइपुग्दा अनपेक्षित बलियो देखिएको काँग्रेसले आफ्ना बिश्वासिला मतदाताहरुको भरोसा दिर्घकाल सम्मका लागि गुमाउने एउटा दुर्भाग्य हुने छ यो गठबन्धन ।

कुनै बेला नेपाली राजनीतिमा मियो रहेको काँग्रेस अब त्यो रहेन । माओवादी , समाजवादी लगायतका दलहरुको बैशाखी काँग्रेस बन्न नपरोस् भन्ने मतदाताको आशा र भरोसा मापन गर्ने काँग्रेसमा त्यो सुझबुझ र दुरदर्शिता रहेन । ढाडमा टेकेर टाउकोमा बजार्ने रणनीतिमा माओवादी फलत: सफल बन्दैछ । बलिया प्रतिस्पर्धी दलहरुलाई निर्वाचनमा परास्त गर्न सकिदैन । तर त्यही प्रतिस्पधीलाई छिन्नभिन्न बनाउदै गए आफू शक्तिशाली बन्न बेर लाग्दैन । यहि रणनीतिका साथ नेकपा माओवादी केन्द्र अहिले पनि एउटा युद्ध गर्दैछ । नेपालका लोकतान्त्रिक दलहरुलाई तहसनहस पार्न ।

०६४ को आफ्नो साख ०७० सम्म कायम नरहे पछि ०७४ मा नेकपा एमाले संग गठबन्धन गरि स्वाद चाखेको माओवादीले अनन्त: एमालेलाई नै कमजोर बनाइ दियो । त्यस यता नेपाली राजनीतिक क्षितिजमा बलियो बन्दै आएको काँग्रेसको शक्तिलाई छिन्नभिन्न पार्दै आफू शक्तिशाली बन्न माओवादी रणनैतिक अभियानमै छ । यो भेद काँग्रेसले बुझ्न सकेको देखिदैन । बुझ्ने बेला काँग्रेस छिन्नभिन्न र निरीह भइ सकेको हुनेछ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु