कञ्चनपुर । दोस्रो कञ्चनपुर सम्मेलन सम्पन्न भएको छ । सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्च दोस्रो कञ्चनपुर सम्मेलन बुधबार पुनर्वास नगरपालिकामा सम्पन्न भएको हो ।
एनएनएसडब्लुए र डीसीएको प्राविधिक साझेदारीमा पुनर्वास नगरपालिकाको आयोजनामा भएको सम्मेलनले जलवायु परिवर्तनको असरबाट जोगिन, विपद्को जोखिमलाई न्यूनीकरण र व्यवस्थापनका लागि १० बुँदे प्रतिबद्धता पत्र जारी गरेको छ । प्रतिबद्धता पत्रमा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी राष्ट्रिय, अन्तर्राष्ट्रिय नीति योजना तथा कार्यक्रमहरूलाई स्थानीय करण र कार्यान्वयन गर्ने, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि सबै पालिकाहरूले विपद् जोखिम कित्ता व्यवस्थापन तथा सञ्चालन कार्यविधि तर्जुमा गर्ने, जलवायुजन्य विपद्को जोखिममा रहेका समुदायको विस्तृत अध्ययन गरी जोखिम न्यूनीकरण गर्ने विपद् तथा जलवायु संवेदनशील भू-उपयोग योजना तर्जुमा तथा कार्यान्वयन गरी उत्थानशील र दिगो बसोबासलाई प्रवर्धन गर्ने उल्लेख गरेको छ ।
यस्तै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि पूर्व सूचना प्रणाली तथा प्रविधिमैत्री बहु प्रकोप सूचना प्रणालीको स्थापना सञ्चालन र सातमा समुदायको पहुँच अभिवृद्धि गर्ने, सामुदायिक विपद् व्यवस्थापन समितिहरूको क्षमता अभिवृद्धि गरी प्रभावकारी रूपमा परिचालन गर्नेछ ।
यस्तै जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी जिल्ला तथा स्थानीय स्तरको क्षमता अभिवृद्धि गर्ने र स्थानीय पाठ्यक्रममा उक्त विषय समावेश गर्ने,स्थानीय विकासका योजनाहरू निर्माण तथा कार्यान्वयनको क्रममा जैविक तथा सामाजिक समावेशीकरणलाई प्राथमिकता दिने विपद् जोखिम व्यवस्थापन तथा जलवायु अनुकूलनका लागि प्रकृतिमा आधारित समाधानका उपायहरूलाई प्रवर्धन गर्नेछ ।
कञ्चनपुर जिल्ला स्थित गाउँपालिका तथा नगरपालिकाहरुले यो उत्थानशील कार्यमञ्च मार्फत पारस्परिक समन्वय र सहकार्य गरी विपद् तथा जलवायु उत्थानशील समाजको निर्माण गर्ने र उत्याशिल मञ्च मार्फत गरिएका घोषणाको कार्य प्रगति नियमित अनुगमन तथा समीक्षाको लागि जिल्ला समन्वय समिति र जिल्ला विपद् व्यवस्थापन समितिसँग आवश्यक सहकार्य गर्ने जनाएको छ ।