कञ्चनपुर । पत्रकारलाई प्रभावमा पार्न जनप्रतिनिधिहरुले बिगत देखिनै प्रयोग गर्दै आएको ब्रम्हाअश्त्रका रुपमा सम्मानलाई लिएको भन्दै कञ्चनपुरका पत्रकार दीपेन्द्र बस्नेतले सम्मानलाई अस्विकार गरेका छन् । कञ्चनपुरको पुनर्वासबाट प्रकाशित नागरिक आवाज साप्ताहिक पत्रीकाका सम्पादक बस्नेतले शनिवार सामाजिक संजाल फेसबुकमा लेख्दै पुनर्वास नगरपालिकाले पत्रकार र संचार माध्यमलाई आफ्नो प्रभावमा पार्न गरेको सम्मान बहिस्कार गरेको घोषणा गरेका हुन । सम्मानका नाउँमा पत्रकार र संचार गृहलाई आफ्नो प्रभावमा पार्ने पुनर्वास नगरपालिकाको हर्कत प्रति आपत्ति जनाउदै पत्रकार बस्नेत लेख्छन – सम्मान , कुनै विद्या वा क्षेत्रमा विशिष्ट योगदान पुगाएको ब्यक्तिलाई गरिनु पर्ने हो तर यसको सामान्य अर्थनै नबुझी पुनर्वास नगरपालिकाले सम्मानको नै अपमान गरेको छ । पत्रकार बस्नेत लेख्छन “पत्रकारहरुको एउटा हुललाई सम्मान गर्ने पुनर्वास नगरपालिकाको सुचीमा मेरो नाम समेत समावेश गरिएको जानकारी पाए । जब कि मैले संचार क्षेत्रमा कुनै विशिष्ट योगदान नै नगरेको बुझ्दा बुझ्दै उक्त सम्मान स्विकार नगर्ने निधो गरेको छु ।
उनले सामाजिक सञ्चालमा लेखेका छन “पत्रकारलाई प्रभावमा पार्न जनप्रतिनिधिहरुले बिगत देखिनै प्रयोग गर्दै आएको ब्रम्हाअश्त्र ” सम्मान ” को निरन्तरता पुनर्वास नगरपालिकाको नयाँ नेतृत्वले समेत गर्नु खेद जनक हो । ” निर्वाचन पछि अहिलेसम्मको कार्यकालमा नगरपालिकाले गरेका निर्णय , कार्यक्रम सम्म सार्वजनिक गर्न नसक्ने जनप्रतिनिधिहरुले पत्रकारलाई सम्मान गरेर नगरपालिका मिडिया मैत्री बन्यो भन्नू दुर्भाग्यपूर्ण हो । पत्रकारलाई प्रभावमा राख्न बेला बखतमा गरिने सम्मान ग्रहण गर्नु पत्रकार आचारसंहितामा बिपरित भएकाले पनि पुनर्वास नगरपालिका मलाई गरेको सम्मान बहिस्कार गरेको घोषणा गर्दछु !नगरपालिकाले आज १२ औ नगर सभाबाट बस्नेत सहित ६ जनालाई सम्मान गरेको थियो ।