April 25, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कोरोनाको भन्दा भोकमरीको पीर: सुदूरपश्चिमको डोकेबजार गौरीफन्टा नाकाबाट मुग्लान पसे एकलाख नेपाली

मा प्रकाशित

नागरिक आवाज
कञ्चनपुर , साउन २१
यो वर्षको साढे ३ महिना भित्र सुदूरपश्चिम प्रदेश स्थित नेपाल-भारत सीमा नाका डोकेबजार गौरीफन्टा हुँदै रोजगारीका लागि मुग्लान पस्नेको संख्या एक लाख नाघेको छ ।

गरिबी , भोकमरी र बेरोजगारीका कारण जहान परिवारको पालन पोषण गर्न आबश्यक पैसा कमाउन रोजगारीका लागि भारत मुग्लान पस्ने सुदूरपश्चिम वासीको संख्या २०७८ को बैशाख यता ३ महिना २० दिन भित्र मात्रै १ लाख ६ हजार ८५ पुगेको छ ।

कञ्चनपुरको डोकेबजार – गौरीफन्टा नेपाल भारत नाकामा ब्यबस्थित आवागमन र सुरक्षाको ब्यबस्थापनका लागि खटिएको प्रहरी चौकी डोकेबजारले संकलन गरेको तथ्यांक अनुसार यो नाका हुँदै भारतका विभिन्न स्थानहरुमा जाने सुदूरपश्चिमवासीको संख्या सबै भन्दा बढी असार महिनामा ५२ हजार ८५१ जना र साउन महिनाको २० गते सम्म ३५ हजार ९१३ जना रहेको छ ।

त्यसै गरि बैशाख महिनामा ४ हजार १२१ र जेठ महिनामा १३ हजार २०० जना रोजगारीका लागि भारत पस्नेको तथ्यांक रहेको छ । रोजगारीका लागि भारतका दिल्ली , पंजाब , महाराष्ट्र , तमिलनाडु , गुजरात , केरल लगायतका विभिन्न स्थानहरुमा जाने नेपालीहरुको सरदर दैनिक संख्या १ हजार देखि २००० जना रहने नेपाल प्रहरीको डोकेबजार सीमा नाका सुरक्षाको जिम्मा पाएको परासन प्रहरी चौकी डोकेबजारका इन्चार्ज प्रहरी नायव निरीक्षक खडग जंग शाहीले बताए ।

स्वदेशमा रोजगारीको अबसर नपाए पछि रोग , भोक र शोकले मर्नु भन्दा मुग्लान पस्नु बेश भन्दै कोरोनाको कहर बीच भारत जानू सुदूरपश्चिमवासीको बाध्यता बन्दै आएको छ ।

मुलुकमा थुप्रै राजनैतिक परिवर्तन आए पनि रोग , भोक र सन्तानको शिक्षा दिक्षाका लागि आर्थिक जोहो गर्न भारतका गल्ली गल्लीहरुमा भौतारिनु पर्ने सुदूरपश्चिमवासीको ब्यथामा भने परिवर्तन आएको छैन ।

स्वदेशमा रोजगारी पाउने वातावरण तयार गर्न सरकारको पहल नदेखिए पछि मुग्लान पस्नु बाहेकको बिकल्प नरहेको डोकेबजार-गौरीफन्टा नाकामा लामबद्ध भारत पस्न हतारिएका सुदूरपश्चिमवासीहरु बताउछन् ।

जहान परिवार संग बस्न कसलाई मन नहोला र गाउँमा रोजगारी केही छैन मजदुरी नगरी परिवार धान्न नसके भए पछि भारतको गुजरात जान लागेको कैलालीको मसुरियाका भगत बिकले बताए । गाउँ र नेपाली बजारमा समेत प्रयाप्त रोजगारीको अबसर नपाइने पाइए पनि तलब अत्यन्तै थोरै हुने भएकोले भारतका सहरहरुमा आफ्नो श्रम बेच्न बाध्य हुन परेको मुग्लान पस्न हतारिएका नेपालीहरु बताउछन् ।

भारतको महाराष्ट्र रोजगारीका लागि जान नेपाल-भारत सीमानाका डोकेबजार पुगेका कञ्चनपुरको शुक्लाफाँटाका नरेश महरा भन्छन् – सरकार फेरिए , नेता फेरिए तर पनि हाम्रो बाध्यता उहीँ छ । छोराछोरीको शिक्षा दीक्षा र परिवारको लालनपालन गर्न भारत नगइ हुँदैन ।

दैनिक जीवन यापनका लागि सामान्य आर्थिक जोहो गर्न गाउँ घरमा बिकल्प नदेखिए पछि प्रवास जान पर्ने बाध्यताले छल्किएको ब्यथा डोकेबजार स्थित नेपाल-भारत सीमानाकामा पुगेका सुदूरपश्चिमवासीको अनुहारमा सजिलै देखिन्थ्यो ।

घाँस काट्दा लडेर श्रीमती घाइते भएको खबर पाए पछि जेठको अन्तिममा घर आएर अहिले श्रीमतीलाई उपचार गर्न सजिलो होला भनेर संगै भारत लैजान लागेको डोटी जोरायलका जंग शाहीले बताए । गाउँमा थोर बहुत पाखो बारी भए पनि बढ्दो महंगाइका बेला गाउँको आयस्थाले नथेग्ने भएकाले मुग्लान पस्न पर्ने बाध्यता भएको शाही बताउछन् ।

रोजगारीकै लागि बर्सेनि भारतका गल्लिहरुमा भौंतारिन पर्ने सुदूरपश्चिमवासीको पीडा कम गर्न सरकारले प्रवासी नागरिक लक्षित नीति तथा कार्यक्रम ल्याएर उनीहरुको सीप , क्षमता र श्रम स्वदेशमै लगानी हुने वातावरण बनाउनु पर्ने जानकारहरु बताउछन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु