जमुना न्युरे
धनगढी,१३ माघ ।
कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित माघी होमस्टे थारु गाउँमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ ।चराको क्षेत्रमा काम गर्दै आएका संस्था फ्रेन्ड्स अफ नेचर ९फोन० र चरा संरक्षण सञ्जाल कैलालीको संयुक्त आयोजनामा यही माघ २० र २१ गते लाटोकोसेरो तथा हुचिल उत्सव हुन लागेको आज पत्रकार सम्मेलनको आयोजना गरि सो जानकारी दिएको हो ।
सो उत्सव आयोजना गर्न घोडाघोडी नगरपालिकाको कार्यालय, डिभिजन वन कार्यालय पहलमानपुर र नेपाल पक्षी संरक्षण सङ्घ (बीसीएन) ले सहकार्य गर्नेछन् ।किसानका साथीको रूपमा चिनिने उल्लू अर्थात् लाटोकोसेरो तथा हुचिलको संरक्षणमा टेवा पुर्याउने उद्देश्यले नेपालमा आयोजना गरिदैं आएको यो उत्सव दुई वर्षसम्म कोरोना महामारीका कारण हुन सकेन ।
उत्सवले यहाँ संरक्षणबारे थप सचेतना फैलाउनुका साथै पर्यापर्यटन विकासमा पनि टेवा पुर्याउने फ्रेन्ड्स अफ नेचरका निर्देशक एवम् उल्लू संरक्षणकर्मी राजु आचार्यले बताए ।
विश्व रामसारमा सूचीकृत घोडाघोडी ताल एवम् घोडाघोडी चरा अभयारण्य घोषणा पछि चराका संरक्षण माघी होमस्टेमा यस वर्ष लाटोकोसेरो तथा हुचिल उत्सव आयोजना हुने भएपछि स्थानीयसमेत खुशी भएका छन् ।
फ्रेन्ड्स अफ नेचरका अनुसार लाटोकोसेरो तथा हुचिल उत्सवमा लाटोकोसेरो तथा हुचिलको बारेमा विभिन्न जानकारीमूलक म्युजियम प्रदर्शनी गर्ने गरिएको छ । यसै गरी, स्थानीय समुदायको नाचगानसहित संरक्षणबारे सन्देश पनि दिने गरिन्छ ।
यसअघि, धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ र स्याङ्जामा यो उत्सव आयोजना भइसकेको छ । सुदूरपश्चिम प्रदेशमा भने पहिलो पटक लाटोकोसेरो तथा हुचिल उत्सव हुन गइरहेको हो । यो उत्सव नेपालसहित अमेरिका, इटली र भारतमा पनि मनाइने गरेको फ्रेन्ड्स अफ नेचरले जानकारी दिएको छ ।
विश्वमा २ सय २५ प्रजातिका लाटोकोसेरो मध्ये २३ प्रजातिको लाटोकोसेरो नेपालमा पाइन्छन् । नेपाल सरकारको तथ्याङ्क अनुसार ८ प्रजातिका लाटोकोसेरोहरु चोरी शिकारी र अवैध कारोबारका कारण राष्ट्रिय स्तरमै दुर्लभ भएता पनि विभिन्न सङ्घ संस्थाले पछिल्लो समयमा गरेको अध्ययन–अनुसन्धानहरूमा सबै प्रजातिहरू प्रभावित देखिन्छन् । नेपालबाट लाटोकोसेरोको एउटा प्रजाति लोप भैसकेको आचार्यले बताए ।
अन्नबाली खाएर सखाप पार्ने मुसा लाटोकोसेरोको प्रमुख आहारा हो । ४ वटा सङ्ख्यामा रहेको लाटोकोसेरोको एउटा परिवारले ४ महिनाको अवधिमा ३ हजार मुसा सिकार गर्ने भएकाले यो किसानको साथी भएको आचार्य बताउँछन् ।
उत्सवमा नेपाल भरिका प्रकृति, पर्यावरण, संरक्षण क्षेत्रमा काम गर्ने २५ भन्दा बढी सङ्घ संस्था लगायत सरोकारवाला निकायहरू, संरक्षणकर्मीहरू र स्थानीय विद्यालय, कलेजका विद्यार्थीहरूको समेत सहभागिता रहने जनाइएको छ ।
- विज्ञापन -