पुनर्वास । कञ्चनपुरको पुनर्वास ८ मा ६ महिने निःशुल्क मोटरसाइकल मर्मत तालिम सुरु भएको छ ।
पुनर्वास नगरपालिका वडा नम्बर ८ को आयोजनामा आजदेखि ६ महिने निःशुल्क मोटरसाइकल मर्मत तालिम सुरु भएको वडा अध्यक्ष श्रवण रानाले बताउनुभयो ।
व्यावसायिक तथा सीप विकास तालिम केन्द्रको सहकार्यमा सुरु भएको सो तालिममा वडाका साथै छिमेकी वडाका नागरिकहरूले पनि सहभागिता जनाउन सक्ने वडाध्यक्ष रानाले बताउनुभयो ।
पछिल्लो समय बेरोजगारीकै कारण युुवाहरु भारत लगायत विभिन्न मुलुकमा रोजगारीको लागि गइरहेकोले यस्ता तालिमहरूले युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्नमा मद्दत पुग्ने विश्वास लिइएको छ ।
तालिममा सहभागीहरूलाई खाजा स्वरूप दिनको ५० रुपैयाँ र तालिमपछि उनीहरूलाई प्रमाणपत्र प्रदान गरिने जनाएको छ । यस अघि वडा कार्यालयले बेरोजगार महिलाहरूलाई झोला बनाउने तालिम समेत सञ्चालन गरिरहेको छ ।