September 11, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

इन्द्रगिरिका दूधेश्वर महादेव

मा प्रकाशित

खगेन्द्र गिरि ‘कोपिला’

बल्लबल्ल भयांै १३ जना । अघि बिहानसम्म जान्छु भनेर वाचा त धेरैले गरेका थिए तर जाने बेलामा कसैले बिरामी परेको स्वाङ् पारे कसैले अपर्झट काम आइलागेको निहुँ गरे । ‘जति जना पुगे पनि जानेजाने’ भनेर अठोट गरिसकेकोले मनलाई खिन्न नपारेर हिड्यौं हामी सातजना । ‘तीर्थयात्रामा जाँदा कसैलाई पनि धेरै कर गर्नु हुन्न दाजी’ चरित्रा शाह बहिनीले भनेको कुरालाई अन्तिम निर्णय ठानेर हिंडेका हौं हामी । २०७९ साल माघ १४ गते शनिवारको एकाबिहानै नेपालगंजको कारकादो चोकबाट ।

बाटोभरि माघे हुस्सुले भयभीत बनाइरह्यो । हिजोदेखि पानी पर्लापर्लाजस्तो गरेर मौसमले जिस्क्याइरहेकै छ । पानी पर्ने आशङ्काले हाम्रो यात्रा हुने, नहुनेमा पनि आशङ्का नै थियो । आशङ्काकै बीचमा हिडेका हौं हामी नेपालगंजबाट । ‘यो मौसमको भर नहुँदा हामीले राम्ररी खानेकुरा बनाउन पनि सकेनौं’ थकथकाउँदै हुनुहुन्छ म्यामहरु । तैपनि झोला भरिभरि खानेकुरा बोकेर भने आउनु भएकै छ ।

अगैया पुगेपछि भने ढुक्क भयौं । प्रकृतिले श्वेत घुम्टो उघारेपछि उदाउन तरखर गरिरहेका छन् पूर्वी क्षितिजबाट सूर्यनारायण पनि । हाम्रो सात सदस्यीय टोलीमा हुनुहुन्छ बैंसाजु खड्गबहादुर बोहरा, भाइ भीम प्रज्ज्वल, कल्पना पौडेल ‘जिज्ञासु’ मेडमका दम्पत्ती, गीता अर्यालमेडम र चरित्रा शाह बहिनी । हामीभन्दा पहिले नै अगैया आइसकेका रहेछन् तुल्सीपुरबाट मनोज बुढा ।

एकैछिनमा आइपुग्नु भो लमहीबाट नीमबहादुर थापा पनि । साथमा हुनुहुन्छ रेशमबहादुर वीसी र गुरुप्रसाद कुम्हाल ‘बुलुबल’ । खाना खाँदै थियौं कोहपुलरबाट आइपुग्नु भयो कवियत्री चन्द्रावती अधिकारीका दम्पत्ती ।

अगैयामा खाना खाएर हिड्यौं बैजापुरतिर । राप्ती नदीमाथि बनेको राजकुलोको बाँधको रमाइलो दृश्यले बिहानबिहान झन् उज्यालो बनायो मनलाई । यो बाँध र यतैबाट नेपालगंज जाने सडक बनेपछि अचेल सोनारी क्षेत्र पनि विकासको गतिमा पखेटा फिजाउन लागेको छ । यो बाटो गयो भने अगैयाबाट नेपालगंज पुग्न ४२ किलोमिटर पर्छ । कोहलपुरको फन्को मारेर जाँदा ५८ किलोमिटर पर्छ । यो सडक बनेपछि दुरी छोटो भएर मायाप्रिति झन् गाढा होला अगैया र नेपालगंजको पनि ।
देब्रेतिर गयो भुवर भवानी माताको मन्दिर जाने बाटो । हामी दाहिनेदाहिने दक्षिणदक्षिण लाग्यौं ।
नयाँबस्ती हुँदै बैजापुरको दक्षिणपट्टिको गाउँ लटनियाँको शिवमन्दिरसम्म पु¥याइदियो टेम्पोले । त्यहाँ भेटिनु भयो खुशलाल चौधरी र रामकुमार चौधरी । ‘जय सीताराम’ को अभिवादन ग¥यौं । दुबै जना भगवान श्रीरामका परम भक्त, स्थानीय निवासी । चुरे पहाडका हरेक कुनाकन्दराका पूर्ण जानकार । आजको हाम्रो यात्रा हुने छ उहाँहरुकै भरोसा र मार्गनिर्देशनमा ।

आरम्भ भो हाम्रो पैदलयात्रा । छुट्यो लटनियाँ गाउँ । एकछिन नहरको ढिकैढिक हिड्यौ । राजकुलो भन्छन् यसलाई । अगैयाबाट आएर कुम्मरगाउँको पल्लो छेउबाट मोडिएर पश्चिम लाग्छ यो नहर । चुरेको उत्तरी काखैकाख वनको छेवैछेउ पश्चिमपश्चिम हुँदै बाँकेको फतेहपुरतिर लाग्छ । कुम्मरगाउँको पश्चिमी टोलमा टेकेर हामीहरु दाहिने मोडियौं र चक्लीपाथर खोला तरेर पारिपट्टिको वनमा उक्लियौं । यो खोला वर्षातमा आफ्नो रौद्र रुप धारण गरेर उर्लिरहन्छ । अहिले त एकधर्सो पानी पनि अल्छी मानेझैं बगिरहेको रहेछ । उफ्रिएरै तरियो खोला । वारिपारिका बलौटे बगर भने फराकिला छन् । उसो त नदीको पानीभन्दा बगरको बालुवाको दृश्य पनि कम्ता सुन्दर देखिन्न । ‘ए मनोज ! यहाँको बालुवामा आफ्नी प्रेमिकाको नाम लेखी हाल, यहाँ आएर सम्झेको कुरा पूर्ण हुन्छ रे !’ जिस्क्याउन लाग्नु भो नीमबहादुर थापादाजु मनोज बुढालाई । हाम्रो १५ सदस्यीय टोलीका सबैभन्दा युवा र अविवाहित सदस्य उनीमात्रै हुन् ।

आरम्भ भो पलुवा वनवाँ । गाईबस्तु चराउन र घाँस दाउरा गर्न अति नै आवश्यक भएकोले गाउँहरुले पालेको वन हो यो । पालेको हुनाले थारुहरु यसलाई ‘पलुवा वनवाँ’ भन्छन् । पालेको भए पनि वन त नाङ्गो हुन लागिसकेको छ । पातलापातला बोटवृक्षहरुको माझमा नाङ्गानाङ्गा माटे थुम्काहरु देखिन लागे । वर्षातको पानीले ती थुम्काहरुलाई पनि पखाल्दै लग्यो भने भूक्षयीकरण पनि बढ्दै जाने होला । वन पनि अरु नाङ्गिदै जाने होला । आफूलाई चाहिंदा रुख काट्ने तर नरोप्ने चलन यतातिर पनि देखियो ।

हिडाई बढेसंगै वन्य क्षेत्र बाक्लिदै गयो । ससाना बुट्टयान र अग्लाअग्ला रुखहरु आफूआफूमैं अग्लिने प्रतिष्पर्धा गरिरहे जसरी उभिएका छन् । नीमबहादुर थापा र रेशमबहादुर वीसीहरु दोहोरी चले जसरी रुख विरुवा, बोट बुट्टयानका नाम भन्न लाग्नु भो । खुशलाल चौधरीबाट अनुवाद हुन थाले ती नामहरु थारु भाषामा । सिमल, महुवा, साल, साज, करौंती, बकाइनो, खस्रे, चिउरी, जामुन, कुसुम अनेक प्रकारका छन् रुखवृक्षहरु । कतैकतै खयर, आँप र अमलाका रुख पनि देखिए । बुट्टान र झाडीहरु पनि बाक्लै छन् । बनकसका झ्याङ् पनि बाक्लै देखिए पाखाभरी । बेतजस्तै देखिने थाकल र असारेका बोट नै छन् सबैभन्दा बढी त । थारु समाजमा बख्रेउटी र भारतमा कडीपत्ती भनिने असारेका पातलाई मधुमेहको अचुक औषधि मानिन्छ । दाल झान्दा प्रयोग हुने असारेका कलकलाउँदा पात देखेपछि मलाई त लोभ लागिहाल्छ । साँझ फर्किदा झोलाभरि लैजानु पर्ला भन्दै कतैकतै त पात टिपेर चपाइ पनि हालें ।

वनभित्र हिडीरहँदा देखिने क¥याङ्म¥याङ् बाङ्गाटिङ्गा गोरेटाहरुहरुले अनेक ठाउँमा झुक्याए हामीलाई । यी गोरेटा भन्दा पनि मान्छेका खुट्टाले बनाएका खुट्टेटा जस्ता छन् । वनमा चर्न आउने गाईबस्तु र घाँसदाउरा गर्न आउने गाउँलेहरुले कुल्चेर बनेका बाटो होलान् यी । हामीसंग दुई जना बाटो देखाउने स्थानीय मान्छे भएकोले हामी त बाटो अल्मलिन्नौं भन्नेमा ढुक्क छौं । तर वन न हो, उहाँहरु पनि झुक्किहाल्नु भो कतैकतै त । हिडिरहेको बाटो पनि बेलाबेला आफ्नो रुप फेर्छ । कतै चाक्लिन्छ, कतै साँगुरिन्छ । ठाउँठाउँमा डोजर लगाएर खनेको जस्तो फराकिलो पनि देखिन्छ । कतै पहिरोले बगाएको भेटिन्छ त कतै बाटो हो कि खोल्सो हो ठम्याउन गाहारो पर्छ । कतै तेरपायाँतेरपायाँ हिड्यौ । कतै ठाडो बाटो हिड्यौं । फोटो खिच्ने र भिडियो बनाउने क्रम पनि चलेकै छ ।
‘अब कति छ भगतज्यू?’ आफ्नो कुतुहल पनि पोखिरहेकै छौं ।
‘आधा बाटो त काटियो होला है भगतज्यू’ हाम्रो जिज्ञासा अडिदैअडिन्न मनभित्र । खुशलाल चौधरी फिस्स हाँस्नु हुन्छ र भन्नु हुन्छ— ‘यसरी हिडेपछि त अलि ढिलै होला’ । उहाँको भनाईले फेरि सुरिन्छौं । तर उकालोको बाटोमा हाम्रो सु¥याई केही बेरमैं सुस्त भैहाल्छ ।

पहाड देख्न भने अझैंसम्म पाएका छैनन् हाम्रा आँखाले । पहाडै नदेखिएपछि अग्लो पहाडमाथिको मन्दिर कहाँ देखिनु? कतिखेर पुग्नु? लामो सास तान्दै भन्नु हुन्छ बैसाजु खड्गबहादुर बोहरा ।
‘खै त पहाड?’ अघिदेखि सोधेको सोध्यै हुनुहुन्छ गीता अर्याल पनि ।

‘पहाडको उकालो त अघि नै आरम्भ भैसक्यो’ उत्तर आउँछ खुशलाल चौधरीबाट । हुन पनि हो अग्लोअग्लो उकालोउकालो त लागिसकेको छ बाटो । हाम्रो सास बढ्न लागिसकेको छ । खुट्टाले छिटोछिटो लम्किन सकिरहेका छैनन् । तैपनि आँखा अगाडि ठिङ्ग उभिएका छैनन् अझैं अग्लाअग्ला उत्तुङ्ग पहाड । ससाना थुम्काहरु पनि अग्लाअग्ला रुख पल्तिर कतै छेलिएका छन् ।

एक ठाउँमा यही खोल्साको छेउमा थारु समुदायका केही मानिसहरु पूजा गर्न लागिरहेका देखिए । रुखका हाँगामा धजा बाँधिएको देखियो । धजाँ बाँधेको बोटमा अबीर लगाइएको पनि देखियो । सोधपुछ गर्दा थाह लाग्यो यो टोक्टा पूजा रहेछ । सो पूजाको नालीबेली सोध्दै टिप्न लाग्नु भो नीमबहादुर थापा । टोक्टा भनेको भाकल गर्नु हो । कुनै मानिस बिरामी भयो भने वा घरपरिवारमा कुनै बिपत्ती आयो भने सञ्चो भएमा यो यो चढाउने छौं भनेर देवतालाई पुकारा गरी भाकल गर्ने चलन छ थारु समुदायमा । बिरामी सञ्चो भएमा वा कुनै विपत्तीबाट मुक्त भएमा भाकल पुरा गर्ने गरिन्छ । त्यो भाकल खाने देवतालाई घटौली भन्दछन् । यो पुजा गर्न गाउँदेखि टाढा कुनै खोलाखोल्साको छेउमा गएर बली दिने चलन छ ।

अघि हामीले तरेको चक्लापाथर खोलामैं मिसिने एउटा सानो खोल्सो यतैबाट उत्तराभिमुख भएर बगिरहेको छ । खोल्सो कतिखेर देखिन्छ । कतिखेर झाडी र पहाडका थुम्काको चेपमा लुक्न जान्छ । भक्तपुर जिल्लामा उत्तरारभिमुख भएर बग्ने कर्मनाशा नदीले निकै चर्चा पाएको छ तर चुरे पहाडबाट पनि उत्तराभिमुख भएर यस्ता थुप्रै अज्ञात खोलाखोल्साहरु बग्छन् । ‘यी नदीहरुको परिचय उजागर हुन नसकेर अन्याय भएकै छ’ दार्शनिक पारामा टिप्पणी आयो भीम प्रज्ज्वलबाट ।

रेशमबहदुर वीसी व्रत बस्नु भएको छ । सबैभन्दा विशुद्ध तीर्थयात्रा त उहाँकै हुने भो आज । व्रत बसेको भए पनि हिड्नमा सबैभन्दा अघिअघि हुनुहुन्छ उहाँ नै । अलि थाकेजस्तो गर्नुहुन्छ कल्पना पौडेल, गीता अर्याल र बैसाजुले । तर उत्साहमा भने आलश्यता देखिएको छैन । ‘उकालो चढ्ने भनेको खुट्टाले होइन उत्साहले हो, आकाशमा उड्ने भनेको पखेटाले होइन संकल्पले हो’ सम्झिएँ स्वामी डा. रामानन्द गिरिज्यूले भन्नु भएको काव्यात्मक अभिव्यक्ति ।

एक ठाउँमा गाईबस्तुका गोबर र इटा थुप्रिएको देखियो ।
‘गाउँलेले गोठ बनाएर बस्ने ठाउँ हो यो’ भन्नु भो रामकुमार चौधरीले । ‘अब यहाँ धर्मशाला बनाउने योजना छ’ । थुप्रिएका इटाले त्यही संकेत गरे । त्यो अनाम ठाउँबाट उकालो अलि ठाडैठाडै आरम्भ भो । अघिसम्मको हाँस,ख्याल, ठट्टा रोकिएर लामोलामो सास तान्न थाले सबैजना । त्यो उकालो एकाएक चुनौति बनेर उभिएपछि हातमा लट्ठी नसमाति भएन । गुरुप्रसाद कुम्हाल ‘बुलबुल’ले भाँचेको सबैभन्दा राम्रो लट्ठी आइपुग्यो मेरो हातमा । हाम्रो टोलीका सबैभन्दा उमेरले अग्रज नीमबहादुर थापा भने लट्ठीबिनै बोल्दैबोल्दै चढिरहनु भएको छ उकालो ।

माघे जाडोमा पनि पसिनाले निधु्रक्कै पारिसक्यो । अघिसम्म जाडो छल्ने भनेर लगाएका बाक्लाबाक्ला जाकेट र स्वीटर यो उकालोमा त आफैलाई घाँडो हुन थाले । नास्ता खाने भनेर ल्याउनु भएका खानेकुराले भरिएका झोला आफ्ना पिठ्युमा बोक्नु भएकै छ मेमहरुले । हामी बोकिदिन्छौं भन्दा पनि मान्नु हुन्न । मेरो झोला त मनोजले बोकीदिए । ज्याकेट गुरुप्रसाद ‘बुलबल’ को झोलामा बाँधेर झुण्ड्याइदिएँ । बुढो भएपछि सहुलियत पाइहालिदोरहेछ ।

‘ल्याऊ मकै र भटमास खाएर झोला हलुङ्गो पार्नु प¥यो’ आफ्नी धर्मपत्नीप्रतिको माया छचल्किहाल्यो ऋषिराम सापकोटासरको ।
‘हैनहैन अहिले त खाने निहुँ गरेर कतै बस्ने हैन, ढिलो हुन्छ, मकै र भटमास त खाँदैखाँदै हिड्दा पो रमाइलो हुन्छ त’ नीमबहादुरदाजुले निकाल्नु भो जुक्ति । मकै त यति धेरै भुटेर ल्याउनु भएको रहेछ कि खाएरै नसकिने भो । हामीले बोकेका मिनरल वाटरका बोतल पनि रित्तिसकेका छन् । मकै र भटमास खाँदै हिडेपछि त झन् पानी नै खोज्न थाल्यो ओंठले । खाजा खाएर मेमको झोला केही हलुङ्गो त भयो होला तर मकै आएर हाम्रा पेट गरुङ्गा भएर पो फसाद पर्न लाग्यो !

तीन ओटा ससाना उकालो चढेपछि एकछिन तेरपायाँतेरपायाँ हिड्यौं । मोटो शरीर भएर हिड्न अलि गाहारो भैरहेकाहरुलाई मैले ‘ऊ त्यही थुम्को हो धुलेश्वर धाम’ भन्दै शान्त्वना दिएँ । तर कहाँ हुनु त्यो दुधेश्वर धाम । पहिलोचोटी आएको मान्छेले भन्दा कसले पो पत्याओस् र !

पहाडको यात्रा यस्तै हुन्छ । एकपछि अर्को पहाडका थुम्काहरुले हिड्नेहरुलाई चुनौति दिइरहेकै हुन्छन् । एउटा थुम्कोमाथि टेकेपछि आफूलाई विजेताजस्तै ठान्छ मान्छेले । फेरि अगाडि अर्को थुम्कोले उसलाई चुनौति दिइरहेको हुन्छ । हामीलाई पनि यो बाटोमा अनेकौं उकाला, कुइनेटा र थुम्काहरुले एकपछि अर्को गरेर चुनौति दिइरहे ।

खस्रे, चिउरी र धाइरोका बोटहरुले घेरिएको बाटो हिड्यौं केही बेर । एउटा पहाडको वरिपरि लामै फन्को मारिएछ । कुइनेटोबाट पर घामको प्रकाश र सेतो हुस्सुले छेकिएको अग्लो अर्को थुम्को देखियो ।

‘त्यही हो दुधेश्वर’ बल्ल फुट्यो रामकुमार चौधरीको बोली । हामी उभिएको पहाडको कुइनेटोबाट अलि परै देखियो हाम्रो गन्तव्य त !
मन्दिर नजीकनजीक हुँदै गएपछि सबैमा उत्साह थपिएजस्तो भयो । साँगुरोसाँगुरो घुमाउरो उकालो उक्लिदै पुग्यौं दुधेश्वर महादेवको मन्दिरनिर ।
कुकुरका पाँच ओटा छाउरा स्वागत गर्न आएजसरी भुक्दै आए तलसम्मै । एकछिन भुकेजस्तो गरे र लाडिदै हाम्रा खुट्टावरिपरि घुम्न थाले । भगवानलाई ढोग्नुभन्दा पहिल्यै यी छाउराहरुको चित्त बुझाउनु प¥यो । तिनीहरुलाई बिस्कुटका टुक्रा दिएपछि बल्ल छोडे हामीलाई पछ्याउन ।

साँगुरो र चुच्चो थुम्कोमाथि शोभायमान छ पहेलो र रातो रङ् पोतिएको दुधेश्वर महादेवको मन्दिर । मन्दिर चारवटा स्तम्भमाथि अडिएको छ । भित्ताहरु छैनन् । भित्ताको सट्टा स्टीलका बार लगाइएका छन् । मन्दिरको भुइँ, पेटी र तलदेखि मिलाएर बनाइएका सिढीहरु पुरै संगमरमरले बनेका छन् । अग्रभागमा ठूलठूला अक्षरमा लेखिएको छ ‘श्री इन्द्र गिरि पर्वत, दूधेश्वर महादेव मन्दिर, बर्फानी बाबा धाम’ । भगवान शिवको मूर्ति र शिवलिङ्गमा गएर ढोग्यौं । आफूले लगेको फूल, प्रसादी र द्रव्य चढायौं । हुन त शिवजीलाई जलभन्दा अरु केही पनि चढाइन्न तर यो पहाडको टुप्पोमा सबैभन्दा बढी अभाव जलकै रहेछ । जलको अभाव भए पनि हामीमा श्रद्धाको अभाव भने छैन । मनको आद्र्रता छचल्किएको श्रद्धाको जल नै चढाइयो ।

मन्दिरको पेटीमा बस्यौं सबैजना । मन्दिरमा चढाएका केही बस्तु झोलामा राख्यौं, केही प्रसादी स्वरुप खायौं । परपर छरिए आँखा । निकै ऐकान्तिक र स्निग्ध छ परिवेश । सिरसिर बतास चलिरहेको छ । परपरका पहाडी थुम्काहरु सूर्य नमस्कार गर्दै उभिएको योगी झैं उभिएका छन् । आँखामा ठोक्किन आउने हरेक थुम्का र हरेक पाखाहरु हरिया रुखले भरिएका छन् । दिउँसोको घाम पनि यहाँको निकै प्रितिकर छ । परपरका थुम्का र चुचुरालाई भने सेतो हुस्सुले ढाकिरहेकै छन् । पहाडी चुचुराभित्रका खोंचहरुमा सेतो गलैंचा ओछ्याएजस्तै चित्रकला छरिएको छ आँखा अगाडि । हरिया पाखाहरुको हरितिमा सौन्दर्य र सेतो हुस्सुको श्वेत सौन्दर्यमध्ये कसलाई धेरै राम्रो भनुँ म अलमलमा परिरहें ।
मन्दिर उभिएको पहाडको थुम्को निकै साँगुरो भए पनि मन्दिर माथिको उज्यालो आकाशले भने मन्दिरको आँगनलाई भगवानको काखजस्तो फराकिलो बनाएको प्रतीत भैरह्यो ।

थाकेर यस टुप्पोमा पुगेका हामी पन्ध्र जना यी सबै दृश्यहरुको सम्मोहनले विमुग्ध हुन पुगेका छौं । तीन घण्टा हिडेर उकालो चढ्दै यहाँसम्म आइपुग्दाको थकाई मेटिएको छ पुरै । शरीरमा नयाँ उमङ्गले सिञ्चन गरेको आभास भएर आयो । मानौं हामीभित्र पसेर यिनै दृश्यहरुले दृश्योपचार गरि दिएका छन् ।
‘योग गरौं गरौं जस्तो पो त लाग्यो दाजु’ भीम प्रज्ज्वलभाइको रहर छचल्किहाल्यो ।

यस्तो साँगुरो पहाडी टुप्पोमा पनि धेरै कुराको व्यवस्था सकेसम्म गरिएकै रहेछ । मन्दिरभन्दा अलि मुन्तिर बर्फानी बाबाको कुटी, धुनी, भान्साघर र सानो भण्डारकक्ष छन् । अर्कोपट्टिको पाखोमा तीर्थालुहरु सुत्नको निम्ति काठका फल्याकहरु ओछ्याइका छन् । केही भारतीय तीर्थयात्रु त अहिले पनि सुतिरहेका छन् त्यहाँ । निकै तल खोंचहरुमा बग्ने सोताहरुको पानी जम्मा गरी मोटरले तानेर यहाँसम्म पानी पु¥याइएको रहेछ । वरिपरि बोटबिरुवाहरु पनि रोपिएको देखियो । मेवाका बोटमा लटरम्म फलेका छन् मेवा । केरा, मालुका र कागतीका बोट पनि छन् । मन्दिरनिरैको ठाडो उकालोलाई झ्याम्म परेका पारिजात र धाइरोका हरिया बुट्टानले पहरा दिइरहेका छन् । एउटा ठूलो बयरको बोट पनि देखियो आँगनमा । तलतल देखिने ठाडो पाखैभरि उभिएका काँडेदार झ्याङ् र ती झ्याङ्मा अड्किएका प्लास्टिकका फोहोर देखेर भने चसक्क भयो मन । हुन त यो ठाउँ चर्चामा आएको धेरै भएको छैन । मानिसहरुको आवतजावत हुन लागेको पनि केही वर्षमात्रै भयो तर प्लास्टिकको फोहोरले यो पहाडलाई निल्न थालिसकेछ ।

हामी बफानीबाबालाई भेट्न गयौं । उहाँ सुत्नु भएको रहेछ । भेटिए उहाँका चेला । चश्माबाबा रहेछ उहाँको नाम । हामीलाई यो मन्दिरको स्थापना गर्ने बर्फानी बाबाको बारेमा जान्ने उत्सुकता थियो । हुन त संन्यासीहरुले आफ्नो पूर्व जीवनबारे केही पनि भन्दैनन् । सोध्ने चलन पनि छैन । चश्माबाबाले यत्ति भन्नु भो — ‘उहाँ काठमाडौंतिर जन्मेर हिमालयमा तपस्या गरेर आउनु भएको साधक हुनुहुन्छ । हरिद्वारको निरञ्जनी अखाडामा संन्यास दीक्षा लिएपछि उहाँलाई केसर गिरि भन्न थालियो । उहाँलाई हामी श्री १००८ केसर गिरि महाराज भन्छौं । बाँकेको गगली गाउँमा आएर उहाँले साधना गर्न लाग्नु भएको पनि धेरै वर्ष भैसक्यो । गगलीमा गौशाला पनि स्थापना गर्नु भएको छ । हिमालयको हिउँमा तपस्या गरेर आउनु भएकोले उहाँ बर्फानीबाबाको उपनामले विख्यात हुनु भएको हो । बाबाले नै हो यस मन्दिरको स्थापना गर्नु भएको’ ।

चश्माबाबा भन्दै हुनुुहुन्छ —यी पहाडी थुम्का र चुचुराहरुको पङ्क्ति हुन त चुरे पहाडकै श्रृङ्खला हो तर यो मन्दिर बनेको चुलीलाई इन्द्रगिरि पर्वत भनिन्छ । बर्फानीबाबाले शिवलिङ्ग स्थापना गरि दुध चढाएर पूजा गर्नु भएकोले दुधेश्वर महादेव नामकरण भएको हो । इन्द्रगिरि पर्वतको दुधेश्वर महादेव मन्दिर अ‍ौपचारिक नाम भए पनि बाबाकै सम्मानमा यस धामलाई बर्फानीधाम भन्ने गरिन्छ । पहिले थुम्कोमा सानो थानमात्रै थियो । २०७८ सालमा राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुको सत्प्रयासले यस मन्दिरको वर्तमान स्वरुपको निर्माण भएको हो ।

मन्दिरको छेउमैं बडेमानका दुई ओटा शिलापत्रमा आँखा गए । मन्दिर निर्माणमा संलग्न धेरै मान्छेका नाम कुँदिएका छन् त्यहाँ । शिलालेखमा उल्लेख भए अनुसार यसको कुल लागत २० लाख रहेछ । शिलापत्रका धेरै लेखाईहरु अशुद्ध छन् । मन्दिरको आँगनमा राखिएको शिलापत्र पनि शुद्ध नलेखेको देखेर नमीठो लागेर आयो । यो मन्दिरको प्रारुप तयार गर्ने काम इञ्जिनियर यथेष्ट पुन मगरले गरेको कुरा पनि त्यही शिलालेखमा अङ्कित छ । ‘डम्मरसरको छोरा हुन्’ परिचय दिनु भो चरित्राबहिनीले । डम्मर सर भन्नाले महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक डम्मरबहादुर पुन भन्ने बुझ्यौं हामीले ।

मेरो मनमा जिज्ञासा उठ्यो — हिमालयमा तपस्या गरेको बाबालाई हिमानीबाबा वा हिमाद्रीबाबा नभनेर किन बर्फानीबाबा भनियो होला? हिमानी वा हिमाद्रीजस्तो संस्कृत शब्द हुँदाहुँदै बर्फानी भन्ने उर्दू शब्द कसरी बाबाको नामसित झुण्डियो होला? मैले यो जिज्ञासा चश्माबाबासामु राखें पनि । उहाँले कुनै न्यायसङ्गत र शास्त्रीय उत्तर दिन सक्नु भएन । ‘मानिसहरु यही भन्छन्’ उहाँको यस उत्तरले मेरो मन भने सन्तुष्ट हुन सकेन ।

एकैछिनमा बाबा बाहिर आउनु भो । अग्नि रङ्को पछ्यौरा ओढेर अग्नि रङ्कै धोती पहिरिनु भएको छ । कपाल र दाढी पुरै सेता छन् दाँत छैनन् । हामीले ‘ऊँ नमो नारायण’ पुकारेर प्रणाम ग¥यौं । उहाँले हात उठाएर आशिर्वाद दिनु भयो । हामी सबैजना बाबाको वरिपरि झ्याम्मिएर बस्यौं । उहाँले हाम्रो परिचय माग्नु भो हामी सबैले दियौं । उहाँलाई माझमा राखेर हामी आफ्ना जिज्ञासा राख्न थाल्यौं । दाँत नभएको चाउरी परेको र सेता दाढीले छोपिएको उहाँको गोरो मुहारबाट अचम्मको आभा प्रकट भैरहेको छ । उहाँको हाँसोमा बालसुलभ निश्छलता व्याप्त छ । संस्कृत ग्रन्थका गहकिला र क्लिष्ट शब्द नबोलेर हामीसंग साधारण शैलीमा कुरा गर्न लाग्नु भो । यहाँ मन्दिर बनाउन खोज्दा उहाँलाई केही मान्छेले असहयोग गरेको र भौतिक आक्रमण पनि भएको कुरा सुनिएको थियो एकुन्ताका । हामीले सो जिज्ञासा पनि राख्यौं यहाँसामु । आफूमाथि भएको भौतिक आक्रमण र यो मन्दिरको वर्तमान अवस्थासम्मका सबै कथा सुनाउनु भो उहाँले । ‘भगवानकै प्रतापले बाँचियो’ उहाँ जेमा पनि भगवानप्रति अनुगृहित हुनुहन्छ । उहाँमाथि भएको भौतिक आक्रमणपछि दुई जना प्रहरी राखिदिएको रहेछ प्रशासनले । तर उहाँ भन्नुहुन्छ— ‘महादेवको अनुग्रह रहँदासम्म कसैले केही बिगार्न सक्दैन’ ।

बाबा चुरोट पिउनु हुँदोरहेछ । धुम्रपानप्रतिको उहाँको यो आशक्ति देखेर मलाई अनौंठो लाग्यो । बाबाले यो आशक्तिलाई त्याग्न नसकेको कारणबारे खसखस लागेर सोधि हालें मैले । उहाँले ‘हिमालयमा तपस्या गर्दा चिसोमाथि विजय पाउने चेष्टाकै क्रममा पिउन थालेको हुँ’ भनेर टार्नु भो ।
‘चिसोमाथि विजय त योगबाट नै पाउनु पर्ने हैन र स्वामीज्यू’ भीमभाइबाट पनि प्रकट भैहाल्यो जिज्ञासा । यो सुनेर स्वामीज्यूको मुहारमा अचानक अप्रसन्नताको भाव छल्कियो ।
मैले फेरि सोधें — ‘अब छोड्न सकिन्न र महाराज?’ ।
‘किन छोड्ने?’ उहाँले झोक्किएजस्तो गर्नु भो । उहाँको अप्रसन्नतापछि मैले यो बारे थप कुरा गरिनंँ ।

उच्चकोटीका साधकहरु धुम्रपान र मद्यपानबाट टाढा हुन्छन् । आशक्तिबाट मुक्त हुन नसकेर पनि साधना गरिरहेकाहरु भने शिवजीको प्रसादी भनेर बिडी,चुरोट, गाँजा, भाङ्को सेवन गर्छन् । मलाई लाग्यो बर्फानी बाबा तपस्वी र साधक भए पनि ज्ञानको असंप्रज्ञ समाधि र कैवल्य अवस्थामा भने पुगिसक्नु भएको रहेन छ । यद्यपि आनन्दमय कोषको अवस्था पनि साधनाको माथिल्लो चरण नै हो । तर त्रिगुणको आशक्तिबाट निवृत्त हुन नसकेर कुनै साधकहरु त्यहीं अल्मलिन्छन् । कोही पतन नै हुन्छन् भने कोही नशालु पदार्थको सेवन गरेर असंप्रज्ञ समाधि र कैवल्यास्थाकै आनन्द पाएको आत्मरति गर्छन् । यद्यपि हामीले बर्फानी बाबाको साधनामाथि आशङ्का गरेका होइनौं । केवल आफ्ना जिज्ञासाको निरुपण गर्न मात्रै खोजेका हौं । मेरो सानो मस्तिष्कले निक्र्योल ग¥यो बाबाको साधना असंप्रज्ञ समाधिको अवस्थामा चढ्न नसकेर कतै संप्रज्ञ समाधिकै अवस्थामा अलमलिएको त हैन? यद्यपि यो वेदान्ती दर्शनले भनेको कुरा हो । बाबाको साधनाको अनुशासनमा हामीले अनौंठो ठानेको कुरो ठिकै पनि हुन सक्ला ।

बाबाले खाना खाए नखाएको, भोकप्यास लागेको नलागेको पनि सोध्नु भो हामीलाई । ‘ठूलो सहयोग कसैले नगरे पनि भक्तजनहरुको सदासयताले यहाँ भण्डारा र नित्य पूजा सञ्चालन गर्न सकिएको छ, तपाइँहरुलाई केही नखुवाएर कसरी पठाउनु त्यत्तिकै?’ आत्मिक संतोष फिंजियो बाबाको मुहारमा ।

चार जना भारतीय महिलाहरु काम गरिहेका थिए भान्सामा । बाबाले मेवा टिपेर काट्न लगाउनु भो । यस्तो अग्लो पहाडी पाखोमा मेवा फलेको देखेर हामी छक्क प¥यौं । अरु फलफूलका विरुवा पनि रोपिएका रहेछन् । पानीको स्रोत नभएको डाँडोमा हरिया बोटविरुवा मौलाएको देखेर आश्चर्य मान्दा बाबाले भन्नु भो— ‘सबै उनै महादेवको कृपा हो’ । ती महिलाहरुले आफ्नै घरमा आएका पाहुनालाई जस्तै आत्मियतापूर्वक हामीलाई मेवा खुवाए । सबैले रुद्राक्षका माला लगाएका थिए । हेर्दा गृहिणीजस्ता नभएर साधिकाजस्तै लागे उनीहरु । मैले उनीहरुसंग पनि कुरा गरेँ । भारतको भिङ्गा भन्ने ठाउँबाट आएका रहेछन् । यादव परिवारका रहेछन् र हरेक वर्ष सपरिवारनै यहाँ आएर केही दिन बसी मन्दिर र बाबाको कुटीमा सेवा गरेर फर्किदाहरेछन् । ‘यहाँ आएर सरसफाई र बढारकुडार गर्दा, भण्डारामा खाना पकाएर भक्तजनहरुलाई खुवाउँदा, बाबा र आगन्तुकहरुको सेवासुश्रुवा गर्दा परम आनन्दको अनुभूति हुन्छ’ एउटी महिलाले भनिन् । ‘सेवा नै परमोधर्म’ भन्ने उक्तिका सटिक उदारहण रहेछन् यी महिलाहरु ।

‘चिया पिएर जानु होला’ भन्दै हुनुहुन्छ बाबा । तर फर्किन ढिलो हुने भएकोले हामीले बिदा लिने तरखर ग¥यौं । ‘उकालो चढ्नभन्दा ओरालो झर्न झन् गाहारो हुन्छ’ भन्दै हुनुहुन्छ ऋृषिराम सापकोटासर । माघका छोटा दिन कहाँनिर रात पर्ने हो ठेगान छैन । ‘बाबु रोयो होला’ भनिरहनु भएको छ चरित्राबहिनी पनि । तीनघण्टा ओरालो झर्नु मात्रै होइन अगैया र नेपालगंज हुँदै खजुरासम्म पनि पुग्नु छ उहाँलाई त । कल्पना पौडेलमेमले बोक्नु भएका खानेकुरा खानै बाँकी छ । घिउमा पकाएका खुर्माको मगमग सुगन्ध झोलाबाट बाहिरैसम्म आइरहेको छ ।

हामी यहाँसम्म आउन पाउनु हाम्रैलागि सौभाग्यको कुरो हो तर बाबा पो भन्नु हुँदै छ— ‘यहाँसम्म आइदिनु भो तपाइँहरुलाई धन्यवाद छ’ । हामी लज्जित जस्तै भयौं । ‘अब त सधैं आइरहने हो बाबा’ भन्दै ढोग्यौं र बिदा लियौं ।

जुत्ता लगाएर ओरालो झर्ने बेलामा फेरि लाडिन आइपुगे कुकुरका उनै पाँच ओटा छाउरा । वरपरको उज्यालो दृश्यलाई हेदैं, इन्द्रगिरि पर्वतमाथि थपक्क बसेका उनै दूधेश्वर महादेवलाई ढोग्दै ओरालो लाग्यो हाम्रो टोली । मेरा आँखा अन्तिम पटक ठोक्किन पुगे पर भित्तामा लेखिएका यी पङ्क्तिमा ः—

‘इन्द्रगिरि दर्शन करैं सोतिया जाय नहाय ।
बर्फानी पद वन्दना परम मोक्ष मिल जाय ।।’

(आदर्शमार्ग, नेपालगंज)

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु