दीपेन्द्र बस्नेत
सुदूर पश्चिमका प्राकृतिक सम्पदा र वन्यजन्तु निकुञ्जहरुको अवलोकनको द्वार खोलेर आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सके पर्यटन बिकासका माध्यम बाट प्रदेशको बिकास गर्न सकिने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बताए ।
शुक्लाफाँटा वन्यजन्तु राष्ट्रिय निकुञ्जको दोस्रो प्रवेश द्वारको उद्घाटन गर्न बुधबार कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित बेलडाँडी पुगेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले भने – शुक्लाफाँटाका वन्यजन्तु र वन सम्पदाको अवलोकनका लागि पर्यटकका लागि सहज यो स्थानमा आन्तरिक र बाह्य पर्यटन भित्र्याउन सकिए समग्र प्रदेशमा पर्यटन बिकास हुने भएकाले प्रदेश सरकारबाट हुने बिकासका पहल गरिने बताए ।
बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र रानाको पहलमा पर्यटकका लागि खोलिएको शुक्लाफाँटा वन्यजन्तु राष्ट्रिय निकुञ्ज अवलोकन ट्र्याक मार्गको उद्घाटनका क्रममा मुख्यमन्त्री शाहले भने -शुक्लाफाँटा वन्यजन्तु राष्ट्रिय निकुञ्जका वन्यजन्तुको अवलोकन गर्न कैलाली देखि छोटो दुरीमा रहेको यो क्षेत्रमा खुलेको प्रवेश मार्गले यस क्षेत्रकै मात्र नभएर समग्र प्रदेशको बिकासमा सहायक हुने छ । ”
प्रदेशको राजधानी धनगढी देखि करिब ४५ किमिको दुरीमा अबस्थित बेलडाँडी मार्गबाट शुक्लाफाँटाको अवलोकनको अबसर जुटाउन पहल कदमी गर्ने गाउँ पालिकाका जनप्रतिनिधि धन्यवादका पात्र रहेको मुख्य मन्त्री शाहले बताए ।
यस अघि शुक्लाफाँटा वन्यजन्तु राष्ट्रिय निकुञ्ज अवलोकनको प्रवेश द्वार भिमदत्त नगरपालिका स्थित मझगाउँमा मात्र रहेको थियो । निकुञ्ज प्रवेशको लागि पुर्वी दक्षिणी क्षेत्रको बेलडाँडीबाट प्रवेश द्वार खोलिए पछि निकुञ्जमा पर्यटकहरुका लागि सहज बनेको छ ।
सुदूरपश्चिमको पर्यटकीय गन्तब्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकनका लागि धनगढी देखि छोटो दुरीमा रहेको बेलडाँडी प्रवेश द्वारको उद्घाटन बाट कञ्चनपुरका चारवटा पालिका लाभान्वित हुने भएका छन् ।