कञ्चनपुर । राना थारु समुदायको विशेष महत्त्वपूर्ण चाड खखडेहरा पर्वको उपलक्ष्यमा कञ्चनपुरको लालझाडीमा दुई दिने खखडेरा महोत्सव लाग्ने भएको छ । लालझाडी गाउँपालिकाको आर्थिक सहयोगमा राना कला संस्कृति संरक्षण तथा विकास मञ्चको आयोजनामा महोत्सव हुन लागेको हो ।
मगलवार पत्रकार सम्मेलन गर्दै मञ्चले सो कुराको जानकारी दिएको हो । मञ्चले लालझाडी गाउँपालिका ३ नन्द गाउँको खेल मैदानमा महोत्सव हुदैछ । राना थारु कला संस्कृतिको संरक्षण तथा प्रबर्द्धन गर्ने मुख्य उद्धेश्यले महोत्सवको आयोजना गर्न लागिएको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताए ।
कार्यक्रममा रानाथारु साँस्कृतिक झाँकि प्रदर्शन , स्थानिय कलाकारको नृत्य तथा गायन प्रस्तुति , जनचेतनामूलक नाटक , रानाथारु समुदायको खानाको परिकार आदिको प्रदर्शनी रहने राना कला संस्कृति संरक्षण तथा विकास मञ्चका अध्यक्ष अमर रानाले जनाए ।
होलि पर्वको अन्त्य सँगै मनाईने खखडेराको छुट्टै महत्व रहेको छ । गाउँ समाजमा रोग ब्याधी, महामारी लगायत भुत प्रेतलाई भगाउने र खुशीयाली साटासाट गरी खखडेरा पर्व मनाउने गरिन्छ । यस वर्ष रानाथारु समुदायले फागुन ३० र चैत १ गते खखडेहरा पर्व मनाउदैछन ।
महोत्सवमा डंका नाच, रानाथारु साँस्कृतिक नाच तथा आईटम डान्स समेत प्रस्तुत गरिने छ । महोत्सवमा रानाथारुका खाना परिकारका स्टल रहनेछन । महोत्सवमा पाँच हजार दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको मञ्चका अध्यक्ष अमर रानाले बताए ।