December 5, 24
9.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

थुम्कोमाथि शिवधाम

मा प्रकाशित

एक्कासी बनेको हो आकस्मिक योजना । चेतन र तारा आचार्य जोडीको तीर्थयात्रामा अर्फझट हामी पनि मिसिएका हौं भन्दा हुन्छ । कल्पनाले सबैलाई जाउँ भनेर उत्साहित पारेपछि तयार भएका हौं एकैछिनमा सबैजना ।
म त संतानेश्वर जाने ध्याउन्न मैं थिएँ । बुनुलाई भने कल्पना र लक्ष्मीबहिनीले निकै कर गरेपछि भने बल्लबल्ल मानेकी हुन् ।

एकछिनको अलमलपछि जान तम्तयार दश जना पुगिहाल्यौं हामीहरु । धम्बोझी रानाचोक शान्तिटोलका छिमेकीहरुको १० सदस्यीय टोली बनिहाल्यो । पाँचओटा मोटरसाइकल तयार भए हामीलाई लैजान ।
हाम्रो टोलीमा छौं चेतन आचार्य, रामु ओली, निर्मल ओली, राजीव शमशेर राणा र म । हाम्रा साथी बनेर तारा आचार्य, मीना ओली, कल्पना राणा, लक्ष्मी दाहाल र मेरी जीवन सहयात्री बुनु पनि थपिए ।
दश बजेतिर घाम चर्किनैं लाग्दा हिडि पनि हाल्यांैं ।

आज महाशिवरात्रीको शुभ दिन हो । २०७९ सालमा फाल्गुणको ६ गते परेको छ शिवरात्री । सबैजनाको मनभरि छ आस्थाको अठोट र भक्तिको भाव भरिएको । अनि उर्लिएका छन् उत्सुकता, रहर र अनि साथमा छन् केही आशङ्का पनि ।

नेपालगंजको पुष्पलाल चोकबाट आरम्भ भयो हुलाकी सडक । सिधै पूर्व लाग्यौं । सडक पक्की नै हो तर त्यति व्यवस्थित छैन । कतै ढल बन्दैछन् कतै पुल बन्दैछन् । सडकमैं छरपष्ट यत्रतत्र गिट्टी, बालुवा, इट्टा, थुपारिएका छन् । आफैले हिड्ने बाटोलाई सफा राखौं भन्ने भावना जनतामा नआएजस्तो । कतै सडक उप्केको छ । कतै सडकमैं गाइगोरु बाँधिएका छन् । कतै अन्नपात सडकमैं बिस्कनु ओछ्याइएका छन् । निर्बन्ध ओहोरदोहोर गरिरहने टिपरहरुको पनि उस्तै छ त्रास । मानौं यो सडक भनेको जसले जे गरेपनि हुने ठाउँ हो ।

डुडुवा खोलामा ठूलो पुल बन्न लागेको रहेछ । पुरानो साँगुरो पुलमैं एकतर्फी आवतवाजत भैरहेको छ अझैं । यो सानो पुल बन्नु भन्दाअघि मैले जङ्घार तरेर पनि यो खोलालाई निकै पटक छिचोलेको छु । सम्झिएँ एकदिन बुनु र दुईटा छोरालाई लिएर राप्ती नदीमा नुहाउन जाँदा हाम्रो मोटरसाइकिल यही खोलामा चिप्लिएको । २०५२ सालमा कुन्नी कुन चाही फिलिमको शुटिङ् हुँदै थियो यहाँ । करिश्मा मानन्धर यही खोलामा नुहाउँदै थिइन् । गुण्डाहरुले उनलाई सताएको दृश्यको सुटिङ् हुँदै थियो । सम्झिएँ त्यो पनि । चुरेपहाडबाट बग्दैबग्दै यो खोला कोहलपुरको आडैबाट बग्दै राझाँ पुगेर सिधनियाँको अलि तल पुगेर मिसिन्छ राप्तीमा ।

नौ किलोमिटर बाटो काटेपछि पुग्यौं राप्तीको छेउमा । निर्मल र मिनाको जोडीले आइपुग्न केही ढिलो गरेकोले पर्खियौं राप्तीको पुलनिर । राप्तीको जल भ¥यौं बोलतमा । भगवान शिवलाई सबैभन्दा बढी जल र बेलपत्र नै चढाइन्छ । बेलपत्र बोकेकै छौं, जल भरेपछि हामीले संतानेश्वरमा चढाउने कुरा पुगे ।

पंचायतकालमा बन्ने सुरसार गरेर २०५३ सालतिर काम आरम्भ गरिएको राप्तीको पुल बनेपछि यो क्षेत्रको मुहार फेरिन लागेको छ । राप्तीपारिका मानिसहरु यो पुल बन्नुको सबैभन्दा ठूलो जस फतेहसिंह थारु र प्रेमबहादुर भण्डारीलाई दिन्छन् ।

राप्ती पुलपारिको बगरमा एकछिन अलमलियौं । नदीले बगाएको बगरमा बाटो छिन्नभिन्न गड्याङ्गुडुङ् छ । धुलो पनि उस्तै । ट्रक र टिपरको आहोरदोहोरले धुलाम्य भएको वायुमण्डलमा हाम्रा मोटरसाइकिल पनि थपिएपछि कुइरिमण्डल भयो सिङ्गै आकाश ।

लक्ष्मीराजपुरबाट बैजापुर जाने सडक देब्रे छुट्टयो । हामी दाहिने लाग्यौं । यो लक्ष्मीराजपुरमा बसेर मैले कृषि विकास बैंकको कर्मचारीको रुपमा चारवर्ष सेवा गरेको छु । दुई वर्ष त बुनु र दुईटा छोरा पनि यहीं आएर बसेका थिए । त्यतिखेरको लक्ष्मीराजपुर निकै विकट मानिन्थ्यो । राप्ती तरेर चाक्लो बगरको हिलोमा हिड्दै यो बाटो ओहोरदोहोर गर्नु पथ्र्यो । यो २०५० सालदेखि २०५४ सालसम्मको कुरो हो ।

लक्ष्मीराजपुरबाट बम्लहवा, पनेरिया र हब्रहवा काटेर मोहनपुर पुग्यौं । त्यहाँभन्दा अगाडि जोरैया, पदनाहा, सोहनपुर, छपरतली, सर्रा, सर्री नामका गाउँ आए, गए । यी गाउँहरु पहिने दाहिनेपट्टि अलि पर राप्तीको छेउमा थिए । यो पक्की सडक बनेपछि बिस्तारै यस सडकको वरपर आएर बाक्लो हुँदै छ बस्ती । सैयापुर, लालपुर, नन्कौपुरपछि कोहला पुग्यौं । नेपालगंजबाट कोहला पुग्न एक घण्टा जति लागे पनि सडकको लम्बाई भने २० किलोमिटर मात्रै हो ।

कोहलामा पुगेपछि हुलाकी सडक छोड्नु प¥यो । हाम्रो यात्रा देब्रे मोडियो । सिक्टाको राजकुलो काटेपछि लाग्यो वन क्षेत्र । वनभित्रको बाङ्गोटिङ्गो घुमाउरो सडकमा धुलो उडाउँदै कुद्न लाग्यौं हामीहरु । यो बाटो मोटरसाइकलका लागि त्यति उपयुक्त नभए पनि मानिसहरु जबरजस्ती नै कुदारहेका छन् । यो एकप्रकारले दुश्साहस नै हो । खाल्टा, खुल्टी, खोल्सा, झरन, सोताहरु छन् बाटोभन्दा बढी बाटोमा । कतैकतै गोरुगाढा हिडेको जस्तो पनि लाग्छ । कतै ट्रेक्टर हिडेका डोब पनि देखिए । कतै त बाटो नै बलौटे बगरमा रुपान्तरण भएको छ । बाटोको आकृतिजस्तो भए पनि मान्छेका पाइलाले नकुल्चेको कतै छैन । जताजता मान्छेका पाइला देखिन्छन् उतैउतै कोरिएको छ बाटोको रेखो । काँडेदार झाडी, बेत र थाकलका बिरुवाले टमक्क भरिएको छ बाटो वरपरको भूगोल । मालुटाटाका लहराले झ्याम्म पारेका छ वनभरिका रुखलाई । बाटोको रक्षार्थ उभिएका थरिथरिका काँडेदार बोट घरिघरि हामीलाई नै अङ्गालो हाल्न आइपुग्छन् । अनुहार, हात र घाँटीभरि ठाउँठाउँमा चुमेर आफ्ना चिन्ह छाडिसकेका छन् काँडाहरुले । आक्रमण र प्रेम गरेको प्रमाण छोड्नमा कहिल्यै कञ्जुस्याइँ गर्दैनन् काँडाले । बालुवा र काँडाले भरिएको धुले बाटोमा मोटरसाइकल चलाउनु हम्मेहम्मे नै परेको छ । कतैकतै पछाडि बसेका साथीलाई ओराल्नु पनि प¥यो । उकालोमा मोटरसाइकल कतै ठेल्यौं । कतै चिप्लियौं । कतै लड्यौ । कतै पल्टियौं । कतै काँडाले कोतारे । तैपनि तीर्थालुलाई भूगोलको प्रतिकुलताले छेक्ने कुरै भएन । राजीवको जोडी स्कुटिमा आएको भए पनि उनले सजिलै काटे बाटो । रामु र निर्मलले यस्तो बाटो मोटरसाइकल नचलाएको हुनाले केही गाहारो भयो उनीहरुलाई । चेतनसरका बढाबुढी अघिअघि हुइँकेको हुइकेई हुनुहुन्छ । हाम्रो सुपरस्पलेण्डर मोटरसाइकलले बालुवा भएको बाटोमा राम्ररी तान्न सक्दैन । ठाउँठाउँमा चिप्लिहाल्यो । मेरो मोटरसाइकल कतै चिप्लिएपछि कतै पल्टिएपछि बुनु मसंग लामै समय गनगन गर्छिन् । मानौं हाम्रो मोटरसाइकल चिप्लिनु र पल्टिनुको दोष मेरो मात्रै हो । सडक कुनै दोषी छैन । यद्यपि जति लडे पनि चोटपटक भने केही लागेनन् ।

नरैनापुर गाउँपालिकाले सन्तानेश्वरसम्म जाने बाटो बनाइदिएको छ भनेर एकुन्ताका चर्चा पनि सुनिएको हो तर त्यस्तो केही सुबिधाजन्य भौतिक विकास भएको देखिएन । खोल्सा र खाल्टाखुल्टीहरुमा ह्युमपाइप राखेर वनभित्रको बाटोलाई अलिकती फराकिलो पारेर सम्याइदिएको भए त बनिहाल्थ्यो कामचलाऊ बाटो । यो बाटो त वनमा घासपात गर्न जाने मान्छे र गाइबस्तुले हिडेर आफै बनेको जस्तो लाग्छ ।

शिवरात्रीको पर्व परेकोले वनको बाङ्गोटिङ्गो बाटोमा पनि हुलका हुल मानिस आइरहेका छन् गैरहेका छन् । बढीजसो महिला र बालबालिका देखिए । थारु र अवधी समुदायको बाहुल्यता छ । थरिथरिका तिर्थालुहरुले उज्यालिएको छ वनको बाटो । भगवान शिवले सबैका आस्थामा वास गर्नु भएको छ । एकपटक यो बाटोमा बाघ लाग्छ भन्ने त्रास फैलिएको थियो । पछि बाघ मारियो भन्ने हल्ला पनि आयो । आज त बाघै आए पनि हामी नै उसैलाई लखेटौंला भन्ने आँट भरिएको छ हामीभित्र ।

एउटा अलि ठूलै खोल्सा आयो । खोल्साको पारिपट्टिको उकालोमा माटैमाटो छ । यो उकालो चढ्न भने हम्मेहम्मे नै प¥यो सबैलाई । जसोतसो त्यो उकालो काटेपछि बल्लबल्ल पुग्यौं पहाडको फेदमा । मोटरसाइकल जान सक्ने बाटो यहीसम्म मात्रै रहेछ । छेउमा एउटा पसल देखियो । पसलको वरिपरि मोटरसाइकल यत्रतत्र पार्किङ् गरिएका छन् । गाउँपालिकाले यहाँका ससाना थुम्काहरुलाई सम्याइदिएर फराकिलो पार्किङ् बनाइदिएको भए पनि हुने । रुखरुखका फेदमा मान्छे बसेर सुस्ताइरहेका छन् । एउटा राम्रो प्रतीक्षालय र पानीको धारा बनाइदिए पनि हुने हो । ट्र्ेक्टरमा मिनरलवाटरका बोलत ल्याएर यात्रुलाई बाँडेको भने रहेछ गाउँपालिकाले । यहाँ वरिपरि प्लास्टिक र पानी पियर फालेका बोतलले वातावरण निकै कुरुप भैसकेको देख्दा अघिसम्म उज्यालिएको मनको आकाश एकाएक अँध्यारो भएर आयो ।

मोटरसाइकल त्यही थन्क्याएर उकालो लाग्यो हाम्रो टोली पनि । सबैभन्दा पहिले उकालो त म र बुनु नै लागेका थियौं । तर थोरै उकालो चढ्ने बित्तिकै सास बढ्न थालेपछि हामी पो सबैभन्दा पछि प¥यौं । मुख बन्द गरेर नाकबाट मात्रै सास फेरेर चढ्ने अभ्यास गर्दा केही सजिलो भयो । ठूलाठूला ढङ्गाहरु छन् पाखैभरि । अनेकथरि बोटबिरुवाले शोभायमान छ पाखो । उकालो चढ्दै गएपछि दक्षिणतिरको वन फराकिलो देखिन थाल्यो । अघि हामीले काटेर आएको वनभित्रको असजिलो बाटो त्यही फराकिलो वनभित्र कतै हराइसकेको छ । परबाट देखिनुभन्दा नजिकै गएर हिडेपछि न बाटो बाटोजस्तो लाग्ने हो । वनभित्रका थुम्का, खोल्साहरु लुकेका छन् कतै अग्लाअग्ला रुखभित्र । माथिमाथि उक्लिदै गर्दा घामको प्रकाशमुन्तिर परपर फाँटमा छरिएका गाउँ पनि उज्याला देखिन थाले ।
हाम्रो टोलीका सबैजना व्रत बसेका छौं । चियाको एक सुर्को मात्रै पिएर आएका हौं घरबाट । केही पनि नखाएर संतानेश्वरको दर्शन गर्ने अठोट लिएका छौं । तर बारह बजेको टण्टलापुर घाममा उकालो चढ्न थालेपछि पसिना पनि खलखली बग्न थाल्यो । पानी नपिएर धरै भएन । पोहोर साल हाम्रै गाउँकी एकजना केटी मान्छे पानी नपाएर यहीं बितेकी थिइन् । मिना वली र तारा आचार्य पहाडमा हुर्केकोले खासै गाहारो भएन । बुनु र लक्ष्मी दाहाललाई भने पहाड चढ्न गाहारो भयो । रुखको छहारी भेट्यो कि उभिन मन लागिहाल्ने हुन थाल्यो । चार पाइला उकालो चढेर एकछिन सुस्ताउँदै हिड्न लाग्यौं, हिड्यौं, हिडिरह्यौं ।

एकठाउँमा उकालोभरि रहरिला ढुङ्गा देखिए । ती ढुङ्गामाथि बसेर एकछिन फोटो खिच्यौं । थकाई मेट्यौं । माथिपट्टिबाट दुई जना साइकलयात्रु साइकल चढेर हुरुरुरुरुरु ओरालो झरिरहेका छन् । कुनै सर्कसमा चटक देखाउने मान्छेको कलाभन्दा पनि कलामय लाग्यो यो दृश्य । ती अपरिचित साइकलयात्रुको यो जाँगरलाई मनमनै सलाम गरेँ । उनीहरु तलैसम्म पुगुञ्जेल साइकल चलाएको कलालाई आँखा च्यातेर हेरिरहेँ । मानौं म साइकल हैन सरकस हेरिरहेको छु ।

साथीहरु कोही अगाडि परे कोही पछाडि । सकीनसकी सुस्तसुस्त हिडी नै रहिन् बुनु । एउटा ठाडै उकालोमा उनलाई निकै गाहारो भयो । वाकवाकी लागेको र छातीमा डल्लो परेको सुनाएपछि म चिन्तित भएँ । हुन त यो खासै उच्च भाग हैन । अक्सिजन नपुग्ने समस्या हैन यहाँको । बिहानदेखि व्रत वसेको खाली पेटकै कारणले हो यो । वाइकमा हल्लिदै यात्रा गर्दा बुनुलाई पेट दुख्ने समस्या पुरानै हो । हल्लिएर हावा भरिएको पेटमा उकालो चढ्दै गर्दा चिसो पानी पिएकोले पेट झन् चियो भयो । तातो पानी पिउनु भन्दा मान्दिनन् । स्याउ र अङ्गुर पनि बोकेको छु तर खाऊ भन्दा मान्दिनन् । एक ठाउँमा त ‘सकिन्न कि क्या हो?’ भनेर थचक्क भुइँमा बसिहालिन् । हाम्रो टोली अगाडि गै सकेको छ । मोबाइलमा कल गरेर अघि गएका साथीहरुले सोधीरहेकै छन् ।
‘अन्टी हजुरलाई म बोक्छु है’ भन्दैै फर्केर पो आइन् मिना । उनले कर गरेपछि बुनुले दुई घुट्को तातो पानी पिइन् । त्यो पानीले केही राहत ग¥यो । वाकवाकी आउन छोडेपछि बिस्तारै हिड्यौं फेरि । बस्दै हिड्दै बस्दै हिड्दै उकालो चढ्ने क्रम चलिरह्यो ।

उकालो काटेपछि तेरपायाँ बाटो आयो । यो ठाउँ निकै रमाइलो छ । हरियो पाखाको नागबेली बाटोमा उकालो चढ्दै आएका यात्रुहरुको ताँती परबाट हेर्दा सर्प हिडेको हो कि जस्तो भान पर्दोरहेछ । अघिसम्म उकालो चढेर मन्दिरसम्म पुग्न सक्दिन कि क्या हो भनेर निराश भएकी बुनु मिनाले भिडियो खिच्न थालेपछि भने रमाउन थालिन् । कुइनेटोनिर उभिएर बुनु र मिनाले फोटो खिचे । भिडियो पनि बनाए । अघिसम्म बोल्न नसकेकी बुनुमा फुर्ति आएको देखेर दङ्ग परेको छु म पनि । कल्पना राणाले भने सबैलाई चकित पारेकी छन् । दिनहुँजसो व्रत लिइरहने कल्पनालाई अरुले लुरी ठानेका थिए तर उनी त सबैलाई पछि पारेर अघिअघि ठम्ठम् पर्दै हिडिरहेकी छन् । बेलाबेला चेतन आचार्य सर हँसाउनु हुन्छ । राजीव, रामु र निर्मल पनि उहाँको हाँसोमा साथ दिन्छन् । सबैको धरालो भएजसरी पछिपछि हिडिरहेको छु लुरुलुरु म ।

तेरपायाँ बाटो छिचोलेर कुइनेटो काटेपछि एउटा टारजस्तो ठाउँमा पुग्यौं । यहाँ दुईटा ससाना झुप्रा देखिए । एउटा बाबाको आश्रम र अर्को यात्रुहरुलाई खाना खुवाउने भण्डारा रहेछ । त्यहाँ हाम्रो टोलीका सबैजना पर्खेका थिए । त्यही ठाउँनिर एकछिन सुस्तायौं ।
फेरि उकालो लाग्यौं ।
आश्रमभन्दा माथिपट्टिको थुम्को छिचोलेपछि परैबाट माथिल्लो थुम्कोमा सानो मन्दिर देखियो । हिड्दै जाँदा पहाडलाई अंगालो हालेर घुमिरहेको अर्को तेरपायाँतेरपायाँ बाटो आयो । बाटोभरि मानिसहरु ठेलमठेल गरेर ओहोरदोहोर गरिरहेका छन् । मन्दिर भने अझ पर ठाडै उकालोको माथिपट्टि उभिएको देखियो । मन्दिरै निर पुग्ने बेलाको सय मिटर जति उकालो बाटोले पसिनापसिना पारिदियो । बुनु पनि चार ठाउँमा बस्दैबस्दै थुम्कोमा पुगेरै छाडिन् ।
अन्ततः दुई घण्टाजतिमा पुगिहाल्यौं संतानेश्वरको थुम्कोमा । मलाई म भन्दा पनि बुनु यो थुम्कोमा पुगेको देखेर हामीले सगरमाथानै चढेजस्तो आभास भएकोे छ । हुन त जीवनका अनेकौं अफ्ठ्याराभन्दा अफ्ठ्यारा उकालाहरु पनि हाँसेरै चढिएको छ । यो उकालोदेखि डराउने कुरा पनि थिएन ।

आँखा अगाडि उज्यालिएको छ साँगुरो थुम्कोमाथि सानै मन्दिर । ढोग्यौं र चढायौं आस्थाको मौनश्रद्धा । मन्दिरमा थामीनसक्नुको भीड छ । कोही मानिसहरु पङ्क्तिबद्ध छन् । कोही आफूखुसी पारामा ढोगिरहेका छन् भगवानलाई । मन्दिरमा पुगेर पनि धैर्य गर्न नसक्नेहरु यहाँ पनि देखिए । हामी आँखा बन्द गरेर ध्यान मुद्रामा पङ्क्तिबद्ध हुँदा पनि केही मानिस भने होहल्ला गर्दै छन् । मन्दिरमा पुगेर पनि एकछिन शान्त हुन नसक्नेहरु यहाँ पनि भेटिए ।
हामीले भने पङ्क्तिबद्ध भएरै पूजा ग¥यौं । राप्तीबाट बोकेर ल्याएको जल शिवजीलाई चढायौं । बेलका पात चढायौं । नरिवल र महाप्रसादी छ्वायौं र आफैसंग लिएर आयौं ।

मन्दिरको प्राङ्गणमा दुई जना ब्राह्मणलाई वेदी बनाएर पूजाको तयारीमा देखें । अर्कोपट्टि एकजना बृद्ध साधु तीर्थालुहरुलाई टीका लगाइदिदै हुनुहुन्थ्यो । पूजा गरिसकेपछि मन्दिरको साँगुरो चुचुरोबाट छिटै तल ओर्लिनु पर्ने हो तर ती दुई जना ब्राह्मणहरुसंग कुरा नगरि ओर्लिन मनले मान्दै मानेन । मलाई संतानेश्वर महादेवको उत्पत्ति र स्थापनाको कथा सुन्ने रहर छ । हरेक आस्था स्थलसित कुनै न कुनै कथा र मिथक जोडिएकै हुन्छ । के होला? कस्तो होला? संतानेश्वर महादेवको कथा?
म ब्राह्मणहरुको छेउमा गएँ र सोध्न लागें मन्दिरको बारेमा । एकजना ब्राह्मण लालपुर गाउँका भवानीप्रसाद रेग्मी हुनुहुँदोरहेछ । अर्का सोनवर्षाका सच्चिदानन्द मिश्र । भवानीप्रसाद कौशिक गोत्रीय र मिश्र भरद्वाज गोत्रीय ब्राह्मण भएको जानकारी मिल्यो । भवानीप्रसाद नेपाली भाषी र मिश्र अवधी भाषी भए पनि दुबै जनाले एउटै शैली र उस्तै भावभङ्गीमाले गरेको संस्कृतका श्लोक उच्चारणले मृदु झङ्कार छाडिरह्यो । दुबै जनालाई संस्कृत भाषाको ध्वनिले एकै बनाएको थियो त्यहाँ ।
सच्चिदानन्द मिश्र सुनाउन लाग्नु भो — यो ठाउँ संतराम यादव र भगतराम यादव नाम गरेका दुई जना गोठालाहरुले सबैभन्दा पहिले देखेका हुन् । यो थुम्कोमा उनीहरुले एउटा लिङ्गो गाडेर त्यसमा धजा बाँधेको देखेछन् । यस्तो अनकण्टार पहाडी थुम्कोमा त्यस्तो देखेपछि उनीहरुलाई आश्चर्य लागेर गाउँमा सुनाएछन् । गाउँलेहरुले कसैले यहाँ आएर पूजा गरेको ठाउँ सोचेर बेदिहवा नाम राखिदिए । धजा बाँधेको हुनाले थारुहरु झण्डहवा भन्न लागे । यहाँको चर्चा एक कान दुई कान मैदान हुँदै पण्डीत भवानीप्रसादको कानमा पनि प¥यो । उहाँले पनि यहाँ आएर हेर्नु भो । यहाँको प्रकृति र पूजाको वेदीलाई हेर्दा कुनै संन्यासीले आएर भगवान शिवको आराधना गरेको अनुमान गर्नु भो र नामकरण गरिदिनु भो संतानेश्वर महादेव । त्यसपछि यो थुम्कोको चर्चा चुलिदै गयो । पछि मन्दिर पनि बनाइदियो । गोरेटो बाटोको रेखा पनि बन्यो । मान्छेको आवतजावत पनि बढ्दै गयो । भूगोलले हेर्दा यो थुम्को नरैनापुर गाउँपालिकाको वार्ड नं.५ मा पर्दोरहेछ ।

ब्राह्मणहरुसित धेरै कुरा गर्न पाइनँ । उहाँहरु पूजाको तयारीमा हुनुहुन्थ्यो । पूजाको वेदी तयार भैसकेको थियो ।
म मन्दिरको अर्कोपट्टि भक्तजनहरुलाई टीका लगाइरहनमा मग्न महात्मासित कुरा गर्न उहाँको निकट गएँ । टीका लगाउने मेरो पालो आएपछि ‘ऊँ नमो नारायण’ उच्चारण गरेर अभिवादन गर्दै सोधेँ— ‘बाबा ! कुन नामा संन्यासी होइबक्सिन्छ नि हजुर?’
‘म गिरिनामा संन्यासी हुँु’ आश्चर्यजनक दृष्टि मपट्टि फ्याँकेर बोल्नु भो बाबा । कदाचित उहाँलाई यस्तो प्रश्न कसैले सोधेको थिएन कि?
यसरी परिचय गर्ने चलन दशनामी संन्यासी परम्पराको आन्तरिक शिष्टाचार हो । अरुको लागि त गेरु र पहेंलो रङ्को कपडा लगाएका सबै साधु उस्तैउस्तै लाग्छन् । कुनै पनि साधु कुन परम्पराको हो भनेर चिन्नको लागि यस्ता केही औपचारिक परिचय हुन्छन् ।
‘शुभ नाम के प¥यो बाबा?’ फेरि सोधें मैले । ‘योगानन्द गिरि !’ बोल्नु भो बाबा ।
‘बाबा कुन मढीको गिरि होइबक्सिन्छ नि?’ मेरा प्रश्न सकिएका छैनन् अझैं ।
‘चौध मढी हो’ बाबाको यस उत्तरले भने म अलमलमा परें । गिरिहरुका सत्ताइस वटा मढी हुन्छन् । तर यो चौध मढी भन्ने सुनेको थिएन । यी सत्ताइस वटा मढीहरुलाई क्रमै अनुसार लेख्दा पाटम्बरनाथी भन्ने मढी क्रम सङ्ख्या चौधमा पर्छ । बाबाले त्यही भन्नु भएको त हैन भन्ने ठानेर मैले फेरि सोधेंं — ‘पाटम्बरनाथी त हैन बाबा?’ । उहाँले फेरि पनि भन्नु भो— ‘हैन चौध मढी नै हो’ । मेरो जिज्ञासाको निरुपण हुन सकेन । बाबाको हातबाट टीका लगाउन लालायित धेरै भक्तजनहरु उहाँको अगाडि लामबद्ध थिए । मैले उहाँलाई प्रश्नमाथि प्रश्न सोधेर धेरै अलमल्याउन चाहिनँ । साधुहरुलाई धेरै सोधेर झ्याउ पनि लगाउनु उचीत हुन्न । ठानें उहाँको वृद्ध व्यक्तित्वमा झल्किएको साधुत्वको दिव्यताले नै मेरा अनेकौं जिज्ञासाको निरुपण गरिरहेकै छ । साधुको आन्तरिक साधनाको उत्खनन किन गरिहनु प¥यो र?
संतानेश्वर महादेवको दर्शन र पूजा सकिएपछि हामी ओर्लिन थाल्यौं । थुम्कोमाथि थुप्रिएको भीडको ठेलाठेलले कुन बेला तल खसिने हो जस्तो पनि भैरहेको छ । मन्दिरको वरिपरि बार लगाएको भए केही सुरक्षित हुने थियो ।
ओर्लिदै गर्दा चारैतिर आँखा लगाएँ एकछिन । चुरे श्रृङ्खलाका अनेकौं थुम्काहरु आँखा अगाडि उभिएका छन् । हामी उभिएको यही थुम्को नै सबैभन्दा अग्लो लाग्यो । उत्तरतिर सोनारी उपत्यका र राप्ती नदीको आकृति पनि देखियो । ‘यहाँबाट उत्तरतिर बिनौना या धामपुरतिर जाने बाटो बनाएको भए यो झन् छोटो हुन्थ्यो होला’ दुई जना यात्रु कुरा गर्दै छन् । तर त्यतापट्टि जाने बाटो रहेनछ । दक्षिण र पश्चिमतिर देखिएको नदीको धर्को पनि राप्ती नै हो । परपर दक्षिणतिर गंगापुर, मटेहिया र सोनवर्षा गाउँका फराकिला फाँट पनि देखिए ।
‘पानी परेर थामिएपछि खुला आकाश भएको दिनमा त भारतको फाँट पनि देखिन्छ’ एकजना चौधरी थरका प्रहरीले सुनाए ।

मन हलुङ्गो पार्दै मन्दिरबाट ओर्लियौं । ‘अन्टि हिड्नु ऊ त्यो हेलिप्याडको थुम्कोमा गएर भिडियो बनाएर आउँ’ मिना फकाउँदैछिन् बुनुलाई । बुनुले भने जाँगर गरिनन् । अघि कै ओरालो झरेर हामी बाबा योगानन्द गिरिको कुटीमा बस्यौं एकछिन । यो कुटी भन्दा पनि प्रतीक्षालय हो भन्दा हुन्छ । दिव्यदर्शी आश्रम नामकरण गर्नु भएको रहेछ योगानन्द गिरिले यस ठाउँको । आश्रमले निशुल्क भण्डारा लगाएको रहेछ ।
‘कुन श्रोतले सञ्चालन गरिरहनु भएको छ यो भण्डारा?’ सोधें मैले । ‘सबै उनै श्रीमहादेवको कृपा र दाताहरुको सहयोगकै भरोसा हो हजुर’ आश्रमका व्यवस्थापक गोमती तेली बोले । उनले ‘खाना खाएर’ जानु होस् भनेर अनुरोध गरे । हामी व्रत वसेको भनेपछि चिया पिएर जान कर गरे । खाना खानेहरुको ठूलो भीड हुनाले चिया बनाउने मेसो मिलेन ।

आश्रमको वरिपरि पनि प्लास्टिक र बोतल फालेर फोहोर भैसकेको छ । खाना खानेहरुलाई प्लास्टिकका प्लेट र प्लास्टिककै गिलासमा खुवाउने चलन रहेछ । मान्छेहरु प्रयोग गरिसकेपछि तिनलाई जहाँ पायो त्यही फालिदिन्छन् । यहाँ वरपर फालिएका प्लास्टिक टिपेर जलाउने वा लैजाने कसैले गर्ने झन् कुरै भएन । कहिल्यै नसड्ने यी प्लास्टिकहरु कतिकति युगसम्म यो ठाउँलाई कुरुप बनाइरहने हुन्?
‘यात्रुहरुलाई पातमा ख्वाउनुहोस् । प्लास्टिकको प्रयोगलाई रोकिएन भने केही वर्षमा यो ठाउँ प्लास्टिकको जङ्गल बन्ने छ’ मेरो कुराले गोमती तेली गम्भीर बने । ‘मान्छेहरुलाई जति भने पनि हुँदैन हजुर’ बाध्यता पोखे उनले ।

प्रतिक्षालयमा बसेर हामीले लगेका फलफूल बाँडेर खायौं । ‘अङ्गुर खाएर घाँटीभित्र शीतलो भयो अब भिडियो खिच्छु’ मीना निकै उत्साहित भइन् । उनको उत्साहमा मिसिएर हामीले पनि साथ दियौं । अघिको गाहारोगाहारो गरेर उक्लिएको उकालो अब त ओरालो भएको छ । अघि उक्लिदाको असजिलो बिर्सेर अहिले ओर्लिदा भने बुनुमा पनि अर्कै स्फूर्ती आएको छ । भोक लागेर निर्मल भने अलि झोक्राएका छन् । चेतनसर रामु र राजीवसित कुरा गर्दै अघिअघि लम्किरहनु भो । कल्पना र मिना कहिले उभिदै, कहिले दौडिदै भिडियो बनाउनमा मग्न भए । बुनु तारा र लक्ष्मी बहिनीसित गफिदै छिन् । म सबैको पछिपछि छु ।

‘भ्यू थुम्को’ भन्ने ठाउँनिर पुगेपछि मैले पनि एउटा ढुङ्गोमाथि बसेर गीत लेखिहालें—

उकालो बाटो फागुने घाम म हिड्न सक्दिनँ
ढुङ्गाको मनले लेखेको अक्षर म पढ्न सक्दिनँ
बिसौनीमाथि भरोसा केवल छहारी हाँगैको
पोखियो हिड्दै गोरेटोभरि तिर्सना आँखैको

 

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु