धनगढी,३ चैत । धनगढीमा भोलि चैत ४ गते शनिवारका दिन राष्ट्रका लागी सङ्गीत अभियात्रा सञ्चालन हुने भएको छ । सङ्गीत अभियात्राको आयोजनामा सङ्गीत अभियात्रा सञ्चालन हुन लागेको आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।
अहिलेको अवस्थाले देश नचल्ने भएकाले राष्ट्रका लागी सङ्गीत अभियान सञ्चालन गरेको जनवादी कलाकार तथा सर्जक मणी थापाले बताए । ‘आलोपालो र भागबण्डाले देश चल्दैन,त्यसैले नेताहरूलाई जिम्मेवार बनाउन राष्ट्रका लागी सङ्गीत अभियान सञ्चालन गरेका हौँ,’ थापाले भने, ‘हामी कलाकारहरू एक ठाउँमा छौँ,नेताहरू पनि एक ठाउँमा आउनु पर्छ।’
थापाले नेपालका हरेक आन्दोलनमा जनवादी कलाकार र गीत सङ्गीतले पार्टी भन्दा एक कदम अगाडी रहेर काम गरेको बताउँदै अहिले जनवादी कलाकार र गीत सङ्गीतलाई उपेक्षा गर्ने काम भएको बताए । राष्ट्रियताका सवालमा जनजीविकाका सवालमा कलाकारहरू सन्तुष्ट नभएको बताउँदै उनले फेरी जनतालाई सचेत गर्दै शक्तिशाली बनाउन अभियात्रा सुरु गरिएको बताए ।
सङ्गीत अभियानमा जनवादी गीत सङ्गीतका क्षेत्रमा श्रमिक वर्गको गीत गाएर योगदान पु¥याएका वरिष्ठ जनवादी गायक गीतकार उदय शर्मा, निलिमा पुन, गीतकार सङ्गीतकार कर्ण विद्रोही, नाटक गीतमा नियमित कलम चलाउने नारायण शर्मा,गायक मोहित श्रेष्ठ, युवा गायक उदय रिजाल, लक्ष्मण पाख्रिन,अनुशर्मा र चर्चित गायक जीवन शर्माको सहभागिता रहने छ । भोलि दिउसो ३ बजे देखि धनगढीको ओम प्यालेसमा सुरु हुने राष्ट्रका लागी सङ्गीत अभियान कार्यक्रममा नि:शुल्क प्रवेश रहेको आयोजकले जनाएको छ ।
यस्तै चैत्र ७ गते सुर्खेतको वीरेन्द्रनगर , चैत्र १० गते दाङको घोराही, चैत्र १३ रुपन्देहीको बुटवल, चैत्र १६ गते चितवनको भरतपुर , चैत्र १८ गते मकवानपुरको हेटौडा, चैत्र २० गते महोत्तरीको बर्दिवास, चैत्र २२ गते सुनसरीको धरान, चैत्र २५ गते झापाको बिर्तामोड, चैत्र २८ गते कास्कीको पोखरा र वैशाख ५ गते काठमाडौँमा आयोजना गरिने भएको छ ।