कञ्चनपुर,६ चैत । राष्ट्रिय सूचना आयोगले कञ्चनपुरको पुनर्वास नगरपालिकासँग ७ दिने लिखित जवाफ माग गरेको छ । पुनर्वास नगरपालिकासँग ९ का स्थानीय दीपेन्द्र बस्नेतले सूचनाको हक सम्बन्धी ऐनअनुसार सूचना माग गर्दै नगरपालिकाका सूचना अधिकारीलाई निवेदन दिएका थिए ।
तर तोकिएको १५ दिनभित्र सूचना नपाएपछि निवेदक बस्नेतले कार्यालयका प्रमुखलाई उजुरी दिएका थिए । सूचना मागको निवेदन र उजुरीमाथि कुनै सुनुवाइ नभएपछि बस्नेतले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेका थिए ।
पुनरावेदनमाथि सोमवार सुनुवाइ गर्दै आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्त कमला ओली थापा र आयुक्त रत्नप्रसाद मैनालीको इजलासले ७ दिनभित्र लिखित जवाफ पेश गर्न नगरपालिकाका नाममा आदेश दिएको हो । आदेशमा उल्लेख छ, ‘दफा १०(२) बमोजिम ७ दिनभित्र लिखित जवाफ पेश गर्नू ।’
- विज्ञापन -