रामचन्द्र आचार्य
ह्वीलचियरबाट उठ्दै गर्दा मैले सोधेँ —‘सिस्टर्स भन्न अफ्ठ्यारो लाग्छ । के नामले बोलाउँ नानी तिमीलाई?’
उनले ‘बिनु भन्दा हुन्छ’ भनिन् । अनि आफ्नो काममा लागिन् । स्ट्याण्डमा ग्लुकोजको बोतल झुण्ड्याएर हातको क्यानुला हेर्दै अर्को टेप लगाईन् । बोतललाई निडलले कोपेर स्लाईन चालु गरिन् । त्यतिबेला संगै रहेकी सहयोगी महिलाले बेड मिलाउने काम गरिन् । स्टिलको सानो काउन्टर ¥याकमा औषधीहरु मिलाउँदै केही गोली खान पनि दिईन । सानो चिटमा मगाउनु पर्ने औषधिको लिष्ट थमाएर निस्कन लागिन् ।
‘बिनु…. औषधी ठिक समयमा खुवाउन आइरहनु है, मेरो खै ! उमेरले हो कि? केले हो भुल्ने बानी छ ।’ आइसियुपछि स्टाण्डर्ड वार्डकोे बेडमा सरेर सुस्ताएपछि गरेको आग्रहलाई ग्रहण गर्दै सहजतापूर्वक उनले भनिन् —
‘हाम्रो त ड्युटी नै हो नि बा ! मलाई बोलाउदै गर्नु ल..। केही अफ्ठ्यारो मान्नु पर्दैन ।’ भन्दै नर्सिङ्ग स्टेसनतर्फ लागिन् । यहाँ भएका नर्सिङ्ग स्टाफहरुमा यिनले देखाएको अपनत्वले मेरो मन छोएको थियो । दोस्रो पटकको अप्रेसनपछि पाँच दिन अस्पतालमा बसाई भयो । ती दिनको बसाईमा भएको सामिप्यताले मेरो जीवनको मोड नै परिवर्तन गरि दियो । सम्बन्ध जन्मले मात्र हुँदैन, प्रारब्धले पनि बनाउने रहेछ भन्ने ज्ञानको वोध भयो ।
यो अस्पताल र मेरो उपचारमा संलग्न डाक्टरहरु प्रति म सधैँ आभारी छु । पछि पनि रहिरहने छु । राम्रो मेडिकल सेवाले मैले मृत्युलाई पनि जितेर आएको थिएँ । अफिसको कामले फिल्डमा जाँदा ब्रेन ह्याम्रेज भएको रहेछ । देब्रे भाग पुरै निष्कृय थियो । स्थानीय अस्पतालमा राम्रो निदान नभएकोले मेरा आफन्तले एअर लिफ्ट गरेर यहाँ ल्याउनु भएको थियो । खासमा स्वास्थप्रति यो उमेरमा म आपैm पनि लापरवाह थिएँ । साथीहरुको आग्रह टाल्न नसक्ने र त्यही संगतले सोमरसको अत्यधिक सेवन हुँदा यो घटना घटेको थियो । घरपरिवारले तय गरेको लक्ष्मणरेखाभित्र म कहिल्यै बसिन । कोलस्ट्रोल, प्रेशर र सुगरको नियमित औषधि सेवन गर्नु पर्ने म आफै सजग हुनु पर्ने थियो । जसको परिणति आफै भोगिरहेको थिएँ ।
अस्पतालमा भर्ना भएपछि डाक्टरले आवश्यक चेकजाँच गरी इन्ट्राक्र्रानियल (आन्तरिक) रक्तश्रावको पहिचान गरे । मेरो बोली पनि लरबरिएको थियो । क्रैनिएक्टोमी सर्जरीको आबश्यकता देखियो । आफन्तले अस्पताललाई मन्दिर र डाक्टरलाई देउता सम्झी सर्जरीको सहमती दिनु भयो । मस्तिष्कलाई परेको प्रेशर हटाउन पर्ने भएको हँुदा देब्रे भागको हाड निकालियो । अप्रेशनपछि स्वास्थमा सुधार हुदै बोलीमा स्पष्ट परिवर्तन भयो । वार्डमा पाँच दिनको बसाईपछि डिस्जार्ज भएँ । डिस्चार्ज लेटर दिने बेलामा डाक्टरले फिजियोथेरापी दिनको दुई पटक दक्ष स्वास्थकर्मीसंग गर्ने सल्लाह दिँदै खाने औषधी पनि लेखिदिनु भयो । छुट्ने बेला काँधमा हात राख्दै ‘यू आर लक्की’ भन्नुभयो । मनभरी ठूलो आत्मबल लिएर हामी कोठामा फर्कियौँ ।
तीन महिनापछि देब्रे भागमा हड्डी राख्न हामी पुन अस्पताल गयौँ । यो बिचमा फिजियोको कारणले देब्रे भाग लगभग सक्रिय भैसकेको थियो । बिस्तारै मर्निङ्ग वाकमा जाने भैसकेको थिएँ । ब्रेन ह्यामरेजमा कुनै अङ्ग प्यारालाईसिस हुनु भनेको राम्रो हो भन्ने आममानिसको राय सही हो जस्तो लागेको थियो मलाई ।
दोस्रो पटकको अप्रेसन गरेपछि स्टाण्डर्ड बार्डमा सरेको पहिलो दिनमै भेटिएकी थिइन् यिनै बिनु । बिनु हिंडेपछि बिरामी रुङ्गन आएको भतिजो पनि खानेकुराको ब्यबस्था गर्न क्यान्टिनतर्फ लाग्यो । एकप्रहर पनि बित्न पाएको थिएन, ‘बा ! खाना खानु भयो ? खानापछि खाने औषधि खाने बेला भयो ।’ भन्दै उनले मेरो निद्रा बिथोलि दिइन् । बिरामी भेट्ने समय खुलीसकेको हुनु पर्छ । कोरीडोरमा मानिसको आवतजावत बाक्लै थियो । हल्लाखल्ला भैरहेको थियो । अझै फोहरका ठूलाठूला बास्केट घिसार्दा आएको आवाजले डिष्टर्व गरिरहेको थियो । डाक्टर, नर्स र सफाई कर्मचारीको ड्रेसकोडले नै क्याविनमा आउनेको पहिचान हुन्थ्यो ।
संगसंगै क्याबिनमा पसेका दुई जना नर्सहरु शायद जुनियर हुनुपर्छ । एकले प्रेशर, ज्वरो, पल्स र पिसावको माप लिईन । अर्कीले क्लिप चार्टमा खाएको तरलदेखि ठोस पदार्थ उल्लेख गरिन् र निस्किइन् ।
‘डाक्टर साहेबको राउण्ड भयो ?’ मेरो प्रश्नसुचक जिज्ञासामा उनले भनिन् —‘आज बेलुका डाक्टर ओटीमा ब्यस्त रे ! जुनियर डाक्टर तिवारी आएर गै सक्नु भयो । उहाँ पनि डाक्टर झाको टिमको हो । तपाइँ निदाउनु भएको थियो । सबैकुरा हामीलाई ब्रिफिङ्ग गर्नु भएकोे छ । खाना खानुहोला अनि बाफ र औषधि लिनु पर्छ ।’ भन्दै उनी लागिन् ।
राति फेरि उनी अर्की नर्सलाई लिएर चेकिङ्गमा आइन् । रातिको औषधी खुवाउदै भनिन् ‘आईमाई मान्छे कुरुवा भए पो सजिलो हुने थियो । यस्ता अल्लारे केटाहरुले कहाँ सेवा गर्न सक्छन् र ? आमालाई लिएर आउन पर्ने नि बा !’
‘ घरकी जहान भए त ल्याउने थिएँ नि ! अर्काकी ल्याएर भएन ।’
उनी एकछिन् चुप रहिन् । ‘नर्सलाई संकेत गर्दै — ‘तैँले बाफ लगाई दे है’ भन्दै बाहिर निस्किइन् ।
भोलिपल्ट साझँपख ‘बा’ भन्दै कोठामा पसेर निधार छामिन् । ‘हिजो राति बाको मैले चित्त दुखाएँ । त्यसरी फ्याट्टै सोध्नु हुदैनथ्यो मैले !’ ग्लानी भएको भाव व्यक्त गरिन् ।
‘आफ्नोआफ्नो भाग्य र कर्म खाने हो बिनु । चित्त दुखाएको छैन ।’ मैले भनें ।
त्यो दिन उनी अलि बढी समय मसंग रहिन् । मेरो घर परिवारको बारेमा सबैकुरा जान्न चाहिन् मैले पनि सबै बताएँ ।‘ आवश्यक परे जुनसुकै बेला पनि फोन गर्नुहोला है’ भन्दै फोन नम्बर दिइन् । क्यान्टिनबाट खानेकुराको रुम सर्भिसको चाँजोपाँजो पनि मिलाई दिइन् । बेडमै खानेकुरा आउन थालेपछि कुरुवा भतिजोलाई पनि सजिलो भयो । त्यो दिनदेखि हेरविचारमा सबैले चासो बढाएको पाएँ । मलाई थप राहतको महसुस भयो ।
चौथो दिनसम्म हामी धेरै घुलमिल भयौ । उनको घरपरिवारको बारेमा जान्न म पनि उत्सुक रहेँ । खुलेर बताइन् । आआफ्नो दुःख त सबैलाई हुँदोरहेछ । बाबाको औषधी मुलोमा कुनै कसर बाँकी नराख्दा पनि बचाउन नसकेकोमा दुःखी थिइन् । मृगौलाको रोगले बितेका रहेछन् । भाइबुहारीहरु बिदेश भएकोले आमा एक्लै हुँदा चिन्तित थिइन् ।
यिनी दोजिया थिइन् । पहिलो सन्तान छोरा रहेछ । मन्टेश्वरीमा पठाउन थालेकी रहेछिन् । श्रीमान् सरकारी बैँकका अधिकृत रहेछन् । राजधानीमा घर रहेछ ।
मैले ‘सबै कुराले पुगेको सुखी रहिछ्यौ बिनु । तिम्रो यो सुखी जीवनमा कसैको बक्रदृष्टि नपरोस् । मेरो आर्शिवाद छ तिमीलाई’ भनेँ ।
‘तपाइँले यस्तो भन्नु हुन्छ, आमाले मलाई सधैँ अभागी रहिछेस् छोरी मात्र भन्नुहुन्छ ।’ भनिन् उनले ।
भोलिपल्ट हामी अपरान्हतिर डिस्चार्ज भएर कोठामा फर्कियौ । उनी सँग भेट भएन । ड्यूटीको सिफ्ट थिएन होला । मैले फोन गर्दा घरमै रहिछिन् । सुस्वास्थ्यको कामना गरिन् । फोन गर्दै गर्नु होला भनिन् । मैले उनले देखाएको आफ्नोपनप्रति आभार ब्यक्त गरेँ ।
लगभग एक्काईसौ दिनमा टाँका खोल्न भनि अस्पतालको इमरजेन्सीमा गएँ । यो पटक म एक्लै गएको थिएँ । पट्टी खोलेर टाँका काटेपछि डाक्टरले बेटाडिन लगाएर मुस्कान सहित घर जानु भन्नु भयो । ‘हेप्पी लाईफ मदनजी, हातको फिजियो गर्दै गर्नु है । औषधी अव चाहिदैन ।’ डाक्टरका कुराले मनमा शीतल महसुस भयो । पकेटको ढाका टोपी शिरमा लगाएँ । बिदाईको नमस्कार टक््रयाउँदै वाहिर निस्किएँँ । अस्पतालप्रति आभार भाव जागिरह्यो । म लठ्ठिएजस्तो भएँ । हिंडिहाल्न मन लागेन । केहीबेर सुस्ताउन मन लागेर टोकन काउन्टर अगाडिको रेग्जीनबाला सोफामा बस्ने बिचारले त्यतै लागेँ ।
‘मदनदाइ नमस्ते । आरामै हुनुहुन्छ?’ मैले दृष्टि आवाज आएको तर्फ फर्काएँ । एकजना अधबैँसे महिलाले साइडबाट अगाडि आँउदै मेरो बाटो छेकिन् ।
नमस्ते फर्काउदै मैले सोँधे— ‘मलाई चिन्न गाह्रो भयो ! मलाई चिन्नु हुन्छ र ?’
‘तपाईले त भुल्नु भयो नि । मलाई त भुल्नु भयो, भयो । छोरीको खवरखाबर चासो नि राख्नु भएन । आफ्नै रगतको चासो नहुनेलाई म के भनूँ ..। म ललिता ! के…. ललिता …!! ’
यिनको प्रस्तुतिले एक निमेष म निद्राबाट छ्वाँङ्ग बिउँझिएजस्तो भएँ । मन चुडिँएर अत्यासै बनायो । के बोलुँ शब्दै पाइनँ । निःशब्द हेरिरहेँ । घाँटीमा मोतीको माला । सधवा सृङ्गारको शुन्यता …। छालाले मासु छोड्दै गएर रेखा पर्न थालेको अनुहार । देख्दा नमिठो लागेर आयो । भेटले हर्षको सट्टा बिस्मय बनाइरह्यो । यो सार्वजनिक स्थानमा बात्तिनु भन्दा उपयुक्त स्थान क्यान्टिनतर्फ लिएर गएँँ ।
छेउ कुनातर्फको टेबुलमा वारपार हुने गरी हामी बस्यौँ । दुई कप चिया गिलास टेवुलमा राखेर क्यान्टिनको बैनी फर्किन् । चियाको गिलास हातमा उठाउन खोज्दै सोधेँ — ‘ललिता ! कसरी भयो यस्तो ?’
‘मझधारमा छोडेर खवर जान्न चाहनुहुन्छ ? कुन नैतिक अधिकार छ र? मेरा हण्डर मैसंग छन् । दुःखको पोका खोल्न चाहेको हैन मैले तपाईजस्तो निर्दयी पुरुषलाई । डायरी त दिएको थिँए नि?पढ्नु भएन? किन खोजखवर गर्नु भएन? मेरो त सही छ….छोरीलाई पनि एक पटक भेट्ने चाह भएन है ! मेरो घर ठेगाना थाहा त थियो नि? तपाइँको त मलाई थाहा थिएन । ’रापिलो अनुहार आँखाका चेपमा डबडब पानी भर्दै यिनले भनिन् । आँतको दर्द सबै पोखिन पाएको थिएन अझैं । ओठ फर्फराइहेका थिए । बिरालोको झम्टाईजस्ता यिनको वाणीले कान छेडेर मुटु र घाईते मष्तिस्कलाई घोचिरहे । पानी जमेर बरफ भएजस्तो सन्न भएँ । चियाको गिलास ओठमा पुगेन टेबुलमै रह्यो । म अपराधीजस्तै ट्वाल्ल उनीतर्फ हेरिरहेँ ।
क्यान्टिनको बैनी टेबुल नजिकै आइन् शायद केही अर्डर छ भनेर होला । हातको इशाराले छैन भन्दिएँ । गिलासको चियामाथि पातलो परत बसीसकेको थियो । गिलास उठाएर पिउने साहस पनि हराएको थियो । आफ्नै खल्तीका खट्टेमीतलाई सोधेर खान पर्नेजस्तो अवस्था भएको थियो मेरो ।
वाताबरणलाई उनैले सहज बनाइदिइन् — ‘चिया पिउनु सेलाइसक्यो’ भनेर । हातको इशाराले उनलाई पनि पिउन आग्रह गरेँ । दिमागमा शब्द भण्डार नै रित्तिएजस्तो कसरी प्रष्टिकरण दिउँ केही सोच्न सकेको थिइनँ । दायाँवायाँ चारैतर्फ आँखा दौडाएँ । सबै आ–आफ्ना धुनमा थिए । अलिकती साहस बटुलेर चियाको अन्तिम सुर्को रित्याउँदै भने — ‘परीक्षाफल लिन क्याम्पस गएको बेला सोधखोज गरेको थिएँ । तिम्रो दिदी भेटिनु भएको थियो । तिम्रो बिहे भैसकेको रहेछ । मन कुडिँएर आयो । आफ्नो माया हराएको ठाउँमा भर्ना भएर त्यहीँ डिग्री पढ्न मन लागेन । काठमाण्डौमा आई भर्ना भएँ । मेरो त्यो पहिलो प्रेम भुल्न सकेको छैन । मनमा सजाएरै राखेको छु । प्रेम झुटो भएको भए, किन नियतीले भेट गराई रहन्छ हामीलाई ? छोरी भेट्ने रहर कति थियो कति ! छोरी भेट्ने रहरले कतै तिम्रो जीवनमा कुनै आँच आउँछ कि भनि मैले भेटन नसकेको हो । म पनि यो मुटु जलाइजलाइ बाँचेको छु ।’
‘तिमीलाई मैले फेसबुकमा धेरै पटक खोजेँ । यो अनुहार भेट्टाउन पनि सकिन ठम्याउन पनि सकिन । बरु तिमी भन न । अस्पताल किन आउनु भएको हो ? कोही बिरामी छन् र ?’
‘छोरी सुत्केरी भएकी छिन । दोस्रो तला बार्डको क्याविनमा छिन् । भेट्न आएको हो । कामगर्ने पनि यही अस्पतालमा हो । नर्सिङ्गकी चिफ हो । ’
मैले आतुरताका साथ सोधेँ — ‘नाम के हो नि?’
‘बिनु…..बिनु लोहनी !’
बिनुको नाम सुन्दै हजार वाटको करेन्टले छोएजस्तो भयो । पछिल्लो पटक अस्पताल बस्दाका दिनहरु सिनेमाका दृष्य झै घुमिरहे । मनमनै भगवानको नाम आइरह्यो । मनमनै आभार व्यक्त गरिरहेँ ।
उनले भन्दै गईन् ‘मदन, म एउटा ठूलो बोझले थिचिइरहेकी छु । मेरो आत्माले मलाई सधै घचघचाइरहन्छ । छोरीप्रति अन्याय गरेँ जस्तो लाग्छ । यो मन कत्ति पनि मान्दैन । धरहराको टुप्पोबाट हुन्छ कि खुला सडकमा गएर चिच्याएर भन्न मन लाग्छ — ‘छोरी तिम्रो कर्म बाउ नभए पनि जन्म बाउ छन् भनेर । तर भन्न सकेकी छैन । यही उकुसमुकुसको पहाड बोकेर हिँडिरहेको छु । यो घाईते मन कति बोकी हिँडु । म आमा हो आमा ! म उसको रगत चिनाउँछु । अव पनि साहस गरिन भने म सजिलै मर्न सक्दिन ।’
टेबुलमा केहीबेर सन्नाटा छाईरह्यो । मेरो शरीर संभावित भय र त्रासले लल्याकलुलुक हुन थाल्यो । क्यान्टिनकी बैनी एक दुई पटक हाम्रो टेबुल छेउ आईरहिन् । खाने र पिउने कुनै मुड थिएन । कुराका बिट पनि मरेका थिएनन् । मैले कफीको अडर थमाईदिएँ । उनी ओझेल परिन् ।
‘भन मदन, तिम्रो राय सुनाऊ । के बिचार छ ? म मात्र कति बोलुँ ।’ उनले मेरो अनुहारमा टक लगाउँदै उत्तरको प्रतिक्षा गरिरहिन् ।
के बोलौँ के नबोलौँ, एक छिन दोधारमा भैरहेँ । सन्तानको लागि आमा कतिसम्म अगाडि बढ्न सक्छिन् महसुस गरिरहेँ । मातृशक्ति नै.शक्ति रुपेण सँस्थिता रहेछ भन्ने बुभ्mन बाँकी रहेन । मनभित्र यिनले राखेको प्रस्तावप्रति सम्मान जागिरहेको थियो । गर्वको भाव अङ्कुरित भैरहेको थियो ।
मेरो शुन्यतालाई भङ्ग गर्दै उनले अगाडि भनिन् — ‘मैले तपाइँलाई भुलिसकेको थिएँ । नियतिले बिस बर्षपछि बसमा भेट गरायो । बुटवलमा छोरी सहित तपाईलाई देख्दा मेरो अन्तःस्करणले ठम्याइहाल्यो । त्यही दिनदेखि मेरो मनमा यो आँधी मडारिरहेको छ । यो आँधी अव साम्य हुनै पर्छ । मैले दिएको उपहारको सम्मान गर । पहिचान देउ । त्यही नै मेरोलागि लाख हुने छ ।’
बेलुनमा हावा भरिएझै शरिरभरी साहस भरिएर आयो । प्रफुल्ल भावमा उठेँ ।
‘केही दिनको समय देउ है । के गर्दा उचित हुन्छ । त्यो निर्णय लिने छु ।’ भन्दै म बाहिर निस्केर सडकमा आई पठाओ समाती कोठा तर्फ लागेँ ।
कलेज पढ्दाका दिनदेखिका दृष्यहरु मनोमय हँुदै मानसपटलमा घुमीरहे । दायाँबायाँ करबट बदलिरहेँ । निद्रा कति बेला आयो याद रहेन । बिहान उठ्दा बेडमै घाम ढकमक्क थिए । उठेदेखि नै मन अस्पताल बेगर कतै गएन । मन यसरी एकोहोरियो कि केही सोच्न पनि सकिएन ।
दिउँसो तयार भएर निस्किएँ । मझौला जेब्रा झोलामा खानेकुरा र कपडाहरु टम्म पारेर लागेँ । गेटभित्र पस्दा नै आनन्द लागेर आयो । अस्पतालको भवन नै स्वागतको लागि खडा छ जस्तो लाग्यो । लिफ्टको प्रयोग नगरी सिँढीहरु चढ्दै गएँ । क्याविनको ढोकामा एक दुई पटक नक गरेँ । भित्र ललिता संग दुई जना अरु महिला पनि रहेछन् । ‘हामी एकछिन बाहिर लवीमा बसौँ’ भनि ललिता संगसंगै उनीहरु पनि बाहिर निस्किए ।
‘बिनु…!’ भन्दै मैले उनको माथा चुमिरहेँ । हर्षाश्रुको धारा बलेनीझैं बगिरह्यो ।
‘बाबा….’ भन्दै उनले मेरो हात समातिन् । स्टुलमा बस्दै बाबुछोरीले एकटकले हेरिरह्यौ । बाउको गोत गएकी छोरीको अङ्गअङ्गमा मैले म आफैलाई भेट्टाइरहेँ । यो रोमहर्षक स्थितिले दुबैलाई पुलकित बनायो । दुबै हाँस्यौ ….उस्तै हाँसो । सानो नानीलाई मेरो काखमा दिदै बिनुले भनिन् —‘बाबा …। हिजो रातीआमाले सबैकुरा भन्नु भयो । म त एक पटक सन्न भएँ । आमा छोरी रातभर रोएरै बितायौँ । आमाले यति ठूलो पहाडै बोकेर हिड्नु भएको रहेछ । हजुर भेटिनु भयो । बिसौनी चौपारी मिल्यो । मैले तपाइँ नै हो भन्ने अन्दाज गरेर भर्खर ठूलो बिमारीबाट बाहिर आउनु भएको छ । टर्चर दिनुहुन्न भनेकी थिएँ । मेरो दृष्टिमा तपाइँहरु दुबैलाई दोषी देखिन । दोषी भए भगवानै हुन् । दोष मेट्न होला यसरी भेटघाटको संयोग जुराएका ।
मेरो घरवार अरुलाई ईष्र्या लाग्दोे छ । सबै चिजले पुगेको छ । तैपनि आमाले मलाई सधै ‘तँ अभागी’ भनिरहनु हुन्थ्यो । बाबुबिनाको टुहुरा भएँ भनेर भनेको होला भन्ने लाग्थ्यो । गुढ कुरा अर्के रहेछ । बाबाले कोरियाको रोजगारीबाट परिवारको राम्रो बन्दोबस्त गर्नु भएको थियो । कामैकामले स्वास्थ्यमा ध्यान नै भएन छ, दुबै मृगौला फेल भैसकेको रहेछ । डायलोसिसले कति थेग्नु । मेरो र आमाको किड्नी बाबाको संग म्याचै खाएन । भारत गएर किड्नी फेर्ने कुरा भरपर्दो लागेन । भाइहरुले पनि त्यति चासो देखाएनन् ।’ भन्दै दुःख पोखिन् । उनको गहमा परेको चोटले मलाई पनि दुःखी बनायो । ढाढस् दिदै बितेको कुरामा चिन्ता नलिन सम्झाएँ । पोखरा फर्कनु अगाडि फेरि भेट्न आउने बचन दिदै म उठ्न खोजेँ । सानु नातिनीको हातमा मुख हेराई दस्तुर राख्दै म उठें । मेरो मोवाईल नंम्बर मागेर सेभ गरिन् । उनको म स.गै सेभ थियो । ढोकामा पुगेर ‘वाई’ भन्दै गर्दा उनको उज्यालो अनुहारले प्रफुल्ल बनायो । बाहिर उनलाई भेट्न आउने मानिसहरु अरु पनि जम्मा भैसकेका रहेछन् । सबै हतारमा छन् जस्ता देखिन्थे । उनीहरु क्याबिनतर्फ लागे । तर ललिता म संगसंगै भ¥याङ्गबाट तल झरिन । ग्राउण्डमा आइपुग्दासम्म एक अर्काको घर परिवारको कुराकानी गर्दै आयौँ । छुट्टिने बेलाउनले ‘तपाइँप्रति आभारी छु’ भनिन् ।
‘आभारी हुनु पर्ने त म हो । तिम्रो आत्मबल र साहसको म सम्मान गर्दछु । अझै तिमीले दिएको उपहारलाई बाबुले दिनु पर्ने स्नेह र छहारीको कमी हुन दिने छैन । बरु मप्रति तिम्रो कुनै गुनासो छ भने भन । तिम्रो अन्तरमनले अझै दोषी देख्छ भने कृपा गरी मलाई क्षमा देउ । म पनि हलुङ्गो भएर बाच्न सकुँ ।’ यिनै कुरा भन्दै जादाँ उनको अनुहार सुखद अनुभुतिले डम्म फुलेको पाएँ ।
मेरा नशानशामा पुरानो माद बगेजस्तो लाग्यो । यो उमेरमा पनि उनलाई मैले प्रेमिल देखिरहेँ । दुवैजना मुस्कान सहित बाई…..गर्दै गन्तव्य तर्फ लाग्यौं ।