हरिलाल जोशी
डोटी,६ भदौ – मानवीय सेवामा अनेकौं प्रयास (साईन नेपाल) नामक संस्थाले डोटीको पुर्वीचौकी गाउँपालिकामा बादर धपाउने यन्त्र वितरण गरेको छ ।
आईतबार पुर्वीचौकी गाउँपालिका-१,साजघाट स्थित एक औपचारिक कार्यक्रमको आयोजना गर्दै साईन नेपाल नामक संस्थाले २५ थान बादर धपाउने यन्त्र निशुल्क वितरण गरेको हो ।
संस्थाको केयर एण्ड रिलिफ परियोजनाको कृषि आय आर्जन कार्यक्रम अन्तर्गत पुर्वीचौकी गाउँपालिकाका १,३,४,५,६ र ७ नम्बर वडाका अध्यक्षहरुलाई २५ थान बादर धपाउने यन्त्र हस्तान्तरण गरेको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए ।
हस्तान्तरण पश्चात् सो यंत्र उपस्थित जनप्रतिनिधि,स्थानीय र प्रहरीका सामु परिक्षण समेत गरिएको थियो ।
बर्सेनि बादरले खेतबारीमा लगाएको अन्नबाली नष्ट गर्ने निकै ठूलो समस्या रहेको उक्त पालिकामा संस्थाले सो यन्त्र दिएपछी अबका दिनमा बादरको आतंकबाट मुक्ति पाउने भन्दै जनप्रतिनिधि र स्थानीयहरुले आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दै संस्थाका अध्यक्ष जोशीलाई धन्यवाद व्यक्त गरेका थिए ।
त्यस्तै सोमबार (भोली) पुर्वीचौकी गाउँपालिका-३ मा एक वर्ष मुनीका बालबालिका भएका महिलाहरुलाई पौष्टिक आहार वितरण कार्यक्रम पनि रहेको संस्थाका अध्यक्ष जोशीले जानकारी दिए ।