February 21, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

चढे गाउँशहर झरे बेंसीशहर

मा प्रकाशित

‘चाँदीको टप रैछ औंठी बेरुवाको
के भर पर्नु र बोली फेरुवाको?’

चर्को स्वरमा बजिरहेको थियो गीत बसभित्र । इन्जिन घ्यारघ्यारघ्यारघ्यार पार्दै उभिइरहेको थियो बस । ढोकामा झुण्डिएर खलासी ढक्ढक्ढक्ढक् गर्दै चिच्याइरहेको थियो— ‘बेसीशहर बेंसीशहर ……छुट्नै लाग्यो ..छुट्नै लाग्यो’ ।

गुरुप्रसाद कुम्हाल ‘बुलबल’ र मलाई देखेपछि ‘आउनुहोस् दाइ छुट्नै लाग्यो’ भन्दै हाम्रा झोला तानेरै लगिहाल्यो उसले ।

हामी पनि हतारिदै चढ्यौं बसमा । ‘सिट रोजीरोजी बस्नुहोस् दाइ बस छुट्नै लाग्यो’ बोल्यो ड्राइभर पनि ।
सिट सबै खाली नै थिए । हामी ड्राइभरको पछिल्तिरको सिटमा गएर बस्यौं । यात्रुहरु चढ्दै गए । बिस्तारै बस भरिदै गयो तर हिड्ने सुरसार भने गर्दै गरेन बसले । इन्जिन चालु अवस्थामा राख्नुको कारण त छुट्नै थालेको बस सोचेर यात्रुहरु चढ्न आउन् भनेर पो रहेछ ।
‘कतिखेर हिड्छ? धेरै पटक सोधें । जसले जतिपल्ट सोधे पनि कहिले खलासी त कहिले ड्राइभरबाट एउटै उत्तर आउँछ ‘अब छुट्नै लाग्यो दाइ’ । तर बसले भने हिडन अल्छि मानिरह्यो । बसभित्र एकोहोरो बजिरहेको गीतले स्वयम् यही बसका ड्राइभर र खलासीलाई व्यङ्ग गरेझै लागिरह्यो । बसभित्रको उकुसमुकुस वातावरणलाई झेलेर हामीले सवा घण्टा जति पर्र्खिएछौं झ्याउ मान्दै ।
घ्यारघ्यारघुरघुर गर्दै सवा घण्टासम्म पर्खाएपछि बल्ल हिड्ने सुर ग¥यो बसले । दश बजेको थियो अल्छी मानीमानी हिड्दै गर्दा बस । डुम्रेको आडैमा रहेको गरमखोलाको छेउनिर छौं हामी । यसको अवस्था खोला हैन ढलको जस्तो भैसकेको छ । त्यही खोलाको साँगुरो पुल तरेपछि मात्रै ढुक्क भइयो बस हिडेछ भनेर ।
साजबोटेबाट बिस्तारै उकालोउकालो लाग्यो नागवेली सडक । साँगुरो धुलाम्य सडकमा ढलीमली गर्दै बस दुगुर्न लागेपछि हलुङ्गो भएर आयो मन । सडक फराकिलो पार्ने काम हुँदै रहेछ । बसभित्रको कोलाहलभन्दा सडकको धुलोले झन् बढी गरिरहेको छ झ्याउ । नयाँ ठाउँका नयाँ दृश्यहरुले आँखालाई तानीरहे पनि धुलाम्य सडकले हामीलाई नाकमुख छोप्न बाध्य पारिरहेको छ । नाकमुख छोप्दै थिम्रावास र पिपलटार पार गरेर भन्सार पुग्यौं । आँखा भने छोप्न सकिएन । मैले यो ठाउँमा भन्सार कार्यालय होला भन्ने सोचेको थिएँ । तर यो त कामको भन्सार नभएर नामको भन्सार मात्रै रहेछ । कुनै समय लमजुङे वा गोरखाली राजाहरुको भन्सार थियो होला यो ठाउँमा कदाचित् । कुनै पनि ठाउँका नाम प्रचलित हुनुमा यस्तैयस्तै कारण हुन्छन् ।
अगाडि बढ्दै जाँदा खहरे भन्ने ठाउँ आयो । फराकिलो टारमाथि अटेसमटेस गरेर बसेको रहेछ खहरे भन्ने ठाउँ । यति राम्रो सपक्क मिलेको फाँटलाई खहरे नाम राखेको कताकता नमिलेजस्तो लाग्यो । घरैघर भरिएको फाँटको वरपर खहरे खोल्सा पनि कतै देखिएनन् । कदाचित् अग्लाअग्ला घर मुन्तिर पुरिइ पो सके कि उहिलेउहिलेका खहरेहरु । खहरेलाई ‘घरैघरको लहर’ भनिदिन मन लाग्यो ।
एकैछिनमा चाम्बास र ढुकुर्दी भन्ने ठाउँ काटेर तुरतुरे पुग्यौं । नामले यो तुरतुरे भन्ने ठाउँमा तुरतुर गर्ने धारो होला भन्ने ठानेको थिएँ तर यो त फराकिलो फाँटमा टमक्क परेर बसेको ठूलै बजार पो रहेछ । पारिपट्टि पालुङ्टारको रहरिलो फाँट पनि देखियो । वारिभन्दा पारिका थुम्का, चुली, पाखा र पखेराहरुले तानीरहेका छन् आँखा । पहाड भनेको नजिकबाट भोग्नभन्दा टाढैबाट हेर्नमा रमाइलो हुन्छ । पारिपट्टिको फाँटमा लमतन्न सुतेको विमानस्थलको आकृति पनि देख्यौ । खै अचेल हवाई जहाज पनि उड्दैनन् कि क्या हो ? तुरतुरेबाट दाहिनेतिर लिगलिगकोट जाने बाटो पनि छुट्टियो । हाम्रो यात्रा भने चलिरह्यो उत्तरतिरै मस्र्याङ्दीको किनारैकिनार ।
बाटोमा पाँचसय फाँट, पाण्डबफाँट, बगालेपाँट, बालीफाँट, तालफाँट जस्ता अनेक फाँट आइररहे, गैरहे । यो बाटोको छेउछाउमा फाँट त कति हुन् कति । हरेक फाँट घना बस्तीले भरिएका छन् । लमजुङ्को यो भेग निकै फराकिलो र रसिलो लाग्यो । मस्र्याङ्दी नदिले मनग्गे खेतहरु बनाइदिएको रहेछ यतातिर । यी फराकिला फाँटहरुमा लहलह बाली फलिरहेको देखिनु पर्ने हो तर यहाँ त जताततै सिमेन्टका अग्लाअग्ला भवन उभिएका छन् । मानिसले अन्न बाली भने बाहिरबाटै मगाएर खाने निर्णय गरेर फराकिला फाँटभरि घर र भवन मात्रै बनाउने निर्णय गरेका हुन् कि क्या हो ! भौतिक निर्माणको नाममा घरको अग्रता देखियो । घरको दाँजोमा सडक र ढलको निर्माणको गति भने निकै सुस्त लाग्यो । उहिले सरकारी कामलाई ‘राजाको काम कहिले जाला घाम’ भनेर हेलचेक््रयाइँ गर्थे । अब गणतन्त्र आएपछि त मान्छेले आफ्नै काम मानेर तदारुकताका साथ गर्नु पर्ने हो नि ! यस्तैयस्तै सोचेर परपर आँखा ओछ्याइरहें । साथी बुलबुल भने मोबाइलले फोटो खिच्नमैं व्यस्त छन् ।
बाटोमा आइपुग्यो बाइसजाँगर भन्ने ठाउँ । कतै बाइसजंगार त कतै बाइसजङ्घार पनि लेखेको देखियो । बास्तविकता के रहेछ भनेर सोद्धा कसैले बाइसजाँगर त कसैले बाइसजंगार नै भने । एकजना पसलले भने— ‘छेवैको मस्र्याङ्दी नदीलाई उहिले बाइस ठाउँमा जङ्घार तर्नु पथ्र्यो रे !’ उनको यो भनाई सार्थक लागेर मैले पनि यो ठाउँको नाम बाइसजङ्घार नै हुनु पर्ने अनुमान गरेँ । बाइसजाँगर र बाइसजंगार त मान्छेको जिब्रोको लचकता अनुसार बनेका शब्द होलान् !
अगाडि बेनीबगर, बडहरे, रानीपानी, चितीखोला, कालीमाटीजस्ता ठाउँहरु पनि आए । सबै ठाउँ आफूलाई छिटोभन्दा छिटो शहरीकरण गर्नमा उद्दत भएजस्ता लागे । उब्जनी हुने ठाउँमा घर बनाउने प्रतिष्पर्धा राम्रैगरि चलिरहेको रहेछ । ‘यस्ता फराकिला फाँटको कतै छेउतिर आफूले पनि एउटा सानो घर बनाएर बस्न पाएको भए कस्तो रमाइलो हुँदो हो है बुलबुल !’ मनको रहर सुनाइहालें उनलाई । ‘यता त छोइसक्नु छैन अङ्कल, आनाको पचासलाख सम्म पर्छ रे’ जमिनको भाउ सुनाएर बुलबुलले मेरा रहरलाई रहरमैं खुम्चिन बाध्य पारे । ‘हो हो अङ्कल’ भनिदिएको भए पनि एकछिन त यिनै परपरका पहाडी थुम्काहरुसित साउती मार्दै गजल लेखेर बसेको कल्पना गरिन्थ्यो नि !
बुलबुल टेलिफोनको तार ओछ्याउने काम गर्दा यो भेगतिर डुलिसकेका रहेछन् । मेरो गाइडको भूमिका उनैले निभाइरहेका छन् अहिले । उनैले देखाएका, उनैले सुनाएका र उनैले भनेका कुरामा म आत्मविभोर हुँदै आँखा ओछ्याइरहेको छु झ्याल बाहिर ।
कालीमाटीबाट राइनास र तार्कुघाट लाग्ने बाटो दायाँतिर फाटियो । हामी कुदिरहेको सडक उत्तराभिमुख गरेर आफ्नै लयमा बगिरहेकै छ । पश्चिमको पाखोबाट दौडिदै आएको पाउँदी खोला मस्र्याङ्दीमा मिसियो । ‘अङ्कल अब लमजुङ् जिल्ला लाग्यो’ बोले बुलुबल ।
पाउँदी खोलाको पुल तरेपछि आयो पाउँदी बजार । पाउँदीको पारिपट्टि एउटा विशाल मूर्ति देख्यौं । कसको हो ठ्याक्कै आंकलन गर्न सकिएन । बुलबुलले पनि भन्न सकेनन् । ‘पुग्न त यो खोला तरेर पारि पनि पुगेको छु’ उनको अधुरो कुराले झन् बढ्यो मनको जिज्ञासा । आकृति हेर्दा कुनै ऋषिको जस्तो लाग्यो ।
बाटोमा चिप्लेटी दलाल भनेर लेखिएको एउटा ठाउँ पनि देखियो । कसरी रह्यो होला? यस्तो नाम? जिज्ञासा उठे मनमा । नाम त जस्तो जिब्रोमा बस्यो उस्तै रहने रहेछ । यो उदिपुर भनेको पनि कदाचित् उदयपुरको अपभ्रङ्स नै पो हो कि? चिप्लेटी दलाल नाम रहनुको कारण पनि यस्तैयस्तै केही त होला पक्कै पनि !
पाउँदीबजारबाट साइनबोर्डमा सुन्दरबजार नगरपालिका लेखिएको देखिल लाग्यो । कमलबोटे, फूलवारी, सिउँडीबार, भोटेओडार, धारापानी, बालुने, बगैंचा नाम गरेका सडक छेउछाउका यी सबै बजारबस्तीहरु सुन्दरबजार नगरपालिकाकै भाग रहेछन् । तर सुन्दरबजार भने बाटोमा कतै पनि देखिएन । सुन्दरबजार भोटेओडारबाट देब्रेतिर पहाडको पल्तिर छ रे ! मनमनै भनिरहें सुन्दर बजारले पनि यही सडकसंगै जोडिन आउनु नि ! किन त्यति पर लुकेर बस्नु परेको होला ! सुन्दरता त छर्लङ्गै देखिए पो सुन्दर हुने हो !
नौबिसे लागेपछि उदिपुर भन्ने ठाउँ आयो । यहाँबाट बेसीशहर नगरपालिकाको क्षेत्र आरम्भ भयो । उदिपुरबाट अघि बढ्दै गर्दा दाहिनेतिर विशाल जलाशय देखियो । हरियोहरियो देखिने यो पानीको जलाशय मध्यमस्र्याङ्दी जलविद्युत्त परियोजनाले बिजुली निकाल्न मस्र्याङ्दी नदीको बहावलाई थुनेर बनाएको कृत्रिम दह रहेछ । प्राकृति दहहरु प्रायः नीलो देखिन्छन् । कृत्रिम दहहरु भने हरियो देखिने प्रकृतिको आफ्नै लीला छ ।
सडकको समानान्तर बगिरहेको मस्र्याङ्दी नदी यतातिर धेरै ज्ञानी रहेछ । नदीले कतै पनि कुनै प्रकारको क्षति गरेको देखिएन । मस्र्याङ्दीमा मिसिन देब्रेपट्टिको पहाडी पाखाबाट फालहाल्दै आउने खहरे, खोल्सा, खोला, नालाहरुले भने ठाउँठाउँमा प्रशस्त उपद्रो गरेको देखियो । मस्र्याङ्दी पारिपट्टिका फाँट र पाखाहरु भने निकै रसिला लागे । ठाउँठाउँमा घुचुमुच्च घना बस्तीहरु पनि छन् । माथिमाथिका थुम, थुम्का, कोट, चुली, चुचुरा र ढिस्कामा लपक्कै उभिएका रुखवृक्षहरुले वातावरणलाई हरियो बनाएका छन् । सबैभन्दा कुतुहल पस्किरहे सालका वृक्षहरुले । चैत्र महिनामा साल फुलेपछि फूलको रङ् हरियोबाट फेरिएर फिक्का हरियो जस्तो बन्ने रहेछ । सेतो मिसिएको यो फिक्का हरियो रङ्लाई के नाम दिउँ मैले निक्र्यौल गर्न सकिन । पारिपट्टिका पहाडी थुम्काको सालवनलाई हरियोबाट सेता पारेको दृश्यले चालिसौ किलोमिटर पार गरुञ्जेलसम्म पनि आँखाभरि छुट्टै आकर्षण दिइरह्यो । फुल्दै गरेका सालका रुखहरुको सौन्दर्य शोभा पनि यति रहरिलो हुँदोरहेछ आज थाह भो !
सडकको छेउछाउमा गैरी, भकुण्डे, रानीकुवा, बोहराबेंसी, गैराजस्ता उस्तैउस्तै लाग्ने अनेकौं सानातिना ठाउँ पार गरुञ्जेल पारिपट्टिका सालवृक्षहरु आँखाबाट हराएनन् । प्रायः पानीको स्रोत नहुने सुख्खा थुम्काहरुमा उभिएका यी सालवृक्षलाई पौष्टिक तत्व केही खानु नपर्ने रहेछ कि क्या हो? वर्षाको पानी पनि नअडिने त्यस्ता सुख्खा पाखामा पनि के खाएर बाँचेका होलान् यी सालवृक्षहरु ! यस्तैयस्तै कल्पना गर्दागर्दै मझुवा खोलाको पुलमा आइपूग्यौ । यो पुललाई बेंसीशहरको द्वार मानिदोहरेछ ।
बेंसीशहरका साँगुरा सडकहरुले कुनै नोलो अनुभूति त दिएनन् । बसबाट ओर्लिएपछि सबैभन्दा ध्यान तान्ने कुरो भने यहाँको सरसफाई रहेछ । सडक परपरको सरसफाई कस्तो छ? त्यो त देखेपछि थाह होला तर मूल सडक भने सफा लाग्यो बेंसी शहरमा ।
‘बेंसीशहरमा गएपछि मनाङ्गे चौतारामा गएर बस्नुहोला दाजी’ लालजङ्ग भण्डारीभाइले भनेको सम्झिएँ । सोझै गयौं मनाङ्गेचौतारा । राम्राराम्रा होटलहरु पङ्क्तिबद्ध छन् सडकवरपर । महङ्गा होलान् भनेर हामी अलि सानो होटल खोज्दै माउण्ट कैलाश होटलमा पुग्यौं । एटेच बाथरुम भएको डबल बेडवाला कोठालाई एक हजार र एटेच बाथरुम नभएको कोठालाई छ सय भन्यो । मेरो मुखबाट आश्चर्यमिश्रित स्वर निस्कियो— ‘छ सय?’
‘एक रातको लागि किन महङ्गोमा बस्नुहुन्छ? छ सयवालामा बसे भैगो नि अङ्कल’ होटलवाला केटो बोल्यो । हामीलाई महङ्गोमा बस्न प्रेरित गर्नु पर्नेमा झन् ऊ त झन् सस्तोमा बस्न पो प्रेरित गरिरहेको छ । हामी छ सयको कोठामैं बस्ने भयौं । कोठा देखाउँदै फेरि उही बोल्यो— ‘हेर्नु त एटेच बाथरुम भएको कोठाभन्दा के कम छ र यो?’ पछि पो थाह भो एटेच बाथरुम हामीलाई नदिनुको कारण कुनै कुइरे पर्यटक आयो भने डबल रेटमा दिनलाई पो रहेछ ।
हामी थाकेका पनि छौं र भोकाएका पनि छौं । कोठाको चाँजोपाँजो मिलेपछि पेटपूजामा लाग्यौं । पेटपूजा नभै घुम्ने जाँगर कहाँबाट आओस् । बेंसीशहरको पिरोपिरो आलु, चना र चिउरा पेटमा पसेपछि हामीभित्र सुस्ताएको स्फुर्ति फेरि जागृत भएर आयो ।
सानै ठाउँ हो बेंसीशहर । लमजुङ् जिल्लाको सदरमुकाम भए पनि यहाँ हेर्ने कुरा धेरै केही छैनन् । ‘हेर्नेहरु कि मनाङ् दौडिन्छन् कि घलेगाउँतिर दुगुर्छन् । तपाइँहरु खै के हेर्नुहुन्छ र?’ साहुनीले पनि निराश नै पारिन् । एकजना टेम्पो चलाउने युवक भेटिए । उनलाई घुम्ने ठाउँको बारेमा सोद्धा भने — ‘दाइ गाउँशहर जानु न पन्ध्रसयमा घुमाएर ल्याइदिन्छु’ । ‘बेसीशहर त घुमिएको छैन, गाउँशहर के जानु?’ मेरा साथी बुलबुलले अनिच्छा दर्शाएजस्तो गरे । ‘पुरानो लमजुङ्े राजाको दरवार भएको ठाउँ हो’ टेम्पोवालाले भनेपछि मेरा कान ठाडा भैहाले । अन्ततः बारह सयमा भाडाको कुरा मिलाएर हामी जाने भयौं त्यही टेम्पोमा लमजुङ दरवार हेर्न ।
शिवश्रेष्ठ रहेछ यी टेम्पोवाला युवकको नाम । नेपाली फिल्मका हीरो शिव श्रेष्ठसंग दाँजेर कुरा गर्न थालेपछि यिनी पनि फुर्किहाले । उही अघि आउँदा पार गरिएको मझुवापुलपारि गैराबाट दाहिनेतिर मोडियो सडक । अलिअलि घुमाउरो फन्को मारेर उँभोउँभो लाग्दै गयो । तलतल धानका मिलेका खेत देखिन थाले । परपर बेसीशहरका अग्लाअग्ला घरहरुको दृश्य छरियो आँखा अघिल्तिर । हेर्दै माथिमाथि उक्लिदै गयौं । गाउँ बस्ती पातलिदै गए । सल्ला, साल र लालीगुरासका रुखले ढाकिएका पाखाहरुले नौलो सुन्दरता पस्किन थाले । झन् माथीमाथि उक्लिदै जाँदा लालीगुरासको वन पनि बाक्लिदै गयो । तर रुखमा लालीगुरासका फूल भने कतै पनि छैनन् । छन् केवल लेउ लागेका हाँगा र डाँठहरु । तैपनि अघि परपर देखिएका खोलापारिका सालका दृश्यभन्दा लालीगुरासका यी रुखले आँखा वरिपरि हरियो शीतलता पोखे । फूल हेर्न नपाएपनि पात र रुख हेरेरै हामी मोहित हुन लाग्यौं ।
आधाबाटो पिच भैसकेको रहेछ । आधा बाटो कच्ची नै भएपनि बाटो त्यति असजिलो भने छैन । अघि दिउँसो डुम्रेबाट माथि लाग्दाको जस्तो धुलो त रहेनछ यो धुले बाटोमा । पहिलेपहिले राजा र साधुहरु यस्तै एकान्त र मान्छे सजिलै पुग्न नसक्ने ठाउँमा आएर दरवार र कुटी बनाएर बस्थे । राजा र साधुको बीचमा अरु कुराको समानता नभए पनि ऐकान्तिक वसोवास र प्रकृतिप्रेम त मिल्छ । शत्रुहरुको आँखा सजिलै नपर्ने यो उकालो पनि आफैमा किल्लाजस्तै लाग्यो ।
लालीगुरासको घना वन काटेपछि गाउँशहर भन्ने गाउँ आयो । गाउँशहर कुनै शहर नभएर गाउँ नै रहेछ । उत्तरतिर फर्केको पारिलो थुम्कोवरिपरि फैलिएको यस गाउँमा कुनै चहलपहल छैन, कुनै कोलाहल छैन । अल्छी मान्दै घाम तापिरहेको कुनै बुढो मान्छेजस्तो कान्तिहीन लाग्यो गाउँशहरको प्रथम झल्को । गाउँको माझमा एउटा द्वार देखियो । गणतन्त्र आएपछि नेपालमा यस्ता सिमेन्टका द्वार र टावर बनाउने खुबै लहर चलेको छ । यो ठाउँ पनि त्यो काममा पछि परेको रहेनछ । टेम्पोबाट ओर्लिएर हामी त्यही द्वार पार गरेर सिंढी चढ्दै माथि उक्लियौं । यो सिढी र द्वारको संरचना त्यति पुरानो लागेन । तर सिढीको फोहोरले भने यो बनेदेखि नै नबढारिएको संकेत दिइरह्यो । सय मिटरजति सिढी चढेपछि हामी फराकिलो थुम्कोमा पुग्यौ । यही रहेछ लमजुङ दरवारको परिसर । वरपर ससाना मन्दिरहरु देखिए । पर्खाल, हिड्ने बाटो र ढुङ्गे पटाङ्गीनीले यो ठाउँको भिन्न परिचय पस्कियो । फलामे रेलिङ्ले बारेर दरवारसम्म जाने बाटो बनाइएको रहेछ । केही फूल रोपेका पनि देखिए । फूलवारीजस्तो बन्न नसकेको फूलवारी हुँदै हामी हिड्न लाग्यौ । एउटा फराकिलो चौरको माझैमा दरवार भनिहाल्न नमिल्ने पुरानो ढाँचाको भवन देखियो । भवन अघिल्तिर एउटा चित्ताकर्षक प्रतिमा उभिएको छ । अलि पल्तिर एउटा भवनको निर्माणमा जुटेका छन् कामदारहरु ।
हामी प्रतिमा छेउ गयौं । यो लमजुङ राज्यका संस्थापक राजा यशोब्रहम शाहको प्रतिमा रहेछ । प्रतिमामा उल्लेखित विवरण अनुसार यसको निर्माण कार्य पूर्णचन्द्र थापा नेपाली सेनाको प्रधान सेनापति हुँदा उनकै पहलमा अघिल्लो वर्षमात्रै निर्माण गरिएको रहेछ । हामी भवन निर्माण भैरहेको ठाउँमा पुग्यौं । एकजना सोमराज बराल नाम गरेका सज्जन भेटिनु भो त्यहाँ । उहाँ यही लमजुङ् दरवारका पुरोहित खलकको हुनुहुँदो रहेछ । उहाँ भेटिनु भएपछि हामीलाई निकै सजिलो भयो । आफ्नो काम छाडेर उहाँ लाग्नु भो हामीलाई वर्तमानदेखि विगतको सम्पूर्ण नालीबेलीको बेलीबिस्तार लगाउन ।
पहिले यो क्षेत्रमा घले वंशका राजाले राज्य गर्थे । त्यतिखेर कास्कीका ठकुरी राजा कुलमण्डन शाह आफ्नो सुव्यवस्था र न्यायप्रियताका लागि निकै लोकप्रिय थिए । ठकुरीलाई राजा बनायो भने न्याय पाइन्छ भन्ने मान्यता चलेको थियो त्यतिखेर समाजमा । यस क्षेत्रमा वसोवास गर्ने दुरा, धिंगल, क्याप्छा र घिमिरे थरका मानिसहरुले आफ्नो राज्यमा पनि ठकुरीलाई राजा बनाउने निधो गरे । उनीहरुले कास्कीका राजा कुलमण्डन शाहसित उनका सात जना छोरामध्ये एउटा छोरालाई आफ्नो राज्यमा राजा बनाउन माग्न गए । कुलमण्डनले माइला छोरा कालु शाहलाई दिएर पठाए । तर घलेहरुले षडयन्त्र गरेर कालु शाहलाई केही वर्षमैं मारिदिए । लमजुङका चारथरीहरु फेरि राजा बनाउन अर्को छोरा माग्न उनै कुलमण्डन शाहकहाँ पुगे । यो पटक कुलमण्डनले छोरा दिन आनाकानी गरे । तर लमजुङ्ेहरुले धेरै अनुनयविनय गरेकोले कुलमण्डनले भनेछन्— तिमीहरुलाई दिउँसो छोरा दिएर पठाउँदा रानी रुन्छिन् । त्यसैले एउटा छोरालाई राती सुतेको बेला सुटुक्क लिएर जानू । लमजुङेहरुले राती राजाका छ ओटै छोराहरु सुतेको ठाउँमा गएर हेर्दा राइला छोरा जसभु शाह अलिकति माथि सरेर सुतेका रहेछन् । यी राजकुमार भाग्यमानी छन् भन्ने सोचेर उनैलाई बोकेर लमजुङ् ल्याएछन् । आफ्नो माइलो छोरालाई घलेहरुले मारेको घटनाले डराएका राजाले १४ वर्षीय छोरा जसभु शाहको सुरक्षार्थ कास्कीकोटबाट आले, अधिकारी, खत्री, तिवारी, रावत, भण्डारी र थापा थरका दशघर भारादारहरु पनि संगै लमजुङ् पठाएका थिए । विक्रम संवत् १५५० सालको असार १५ गते लमजुङ्को रातामातेको ठूलो ढुङ्गामा राखेर उनको अभिषेक गरियो । त्यस दिनदेखि उनको नाम यशोब्रह्म शाह र त्यस ढुङ्गाको नाम सिंदुरेढुङ्गा रहन गयो । ती राजालाई पहिले तुर्लुङकोटस्थित दरवारमा भित्राइयो । पछि राजा यशोब्रह्म शाहले १९९५ सालमा यो ठाउँमा अर्को दरवार बनाएर रहन लागेका थिए । राजा कहिलेकाहीं माथिको पुरानो दरवार र कहिले तल बेसीशहरको सेरा दरवारमा गएर बस्ने गरे पनि धेरैजसो समय यही ठाउँमा बस्थे । त्यो बेलादेखि ‘चढे राजा गाउँशहर झरे राजा बेसीशहर’ भन्ने आहान प्रचलित भएको हो ।
उनै यशोब्रह्म शाहको निधनपछि उनका जेठा छोरा नरहरि शाहले विक्रम संवत् १५९८ सालमा यही दरवारमा लमजुङ्को राजाको रुपमा राज्यारोहण गरेका थिए भने कान्छा छोरा द्रव्य शाह पहिले १६१५ सालमा लिगलिगकोट राज्यको र पछि १६१६ मा गोरखा राज्यको राजा हुन पुगेका थिए । द्रव्य शाहका संतानले कालान्तरमा विशाल नेपालको निर्माण गरेका थिए । यशोब्रह्म शाहकोे नौ पुस्ता पछिका राजा वीरमर्दन शाहको पालामा मात्रै १८३९ सालमा लमजुङ् राज्य नेपालमा गाभिएको थियो ।
यस कोटमा यशोब्रह्म शाहले बनाएको उक्त दरवार निकै जिर्ण भएकोले त्यसलाई भत्काएर हाल पुरातत्व विभागले उस्तै आकृतिमा अर्को दरवार बनाउन लागेको रहेछ । सोमराज बरालज्यूले हामीलाई केही पुराना काठका ढोका, झ्याल, कलाकृति पनि देखाउनु भो र भन्नु भो — ‘नयाँ दरवारमा पनि यिनै प्रयोग हुने छन्’ । दरवारको अघिल्तिरको ढुङ्गे पटाङ्गीनी, कोत र चौताराले पुरानो समयको सम्झनालाई जीवित राखेकै छन् । ‘विशाल गोरखा साम्राज्यका संस्थापक द्रव्य शाहले आफ्नो वाल्यकालमा खेलेको, उफ्रेको आँगन यही हो’ सुनाइरहनु भएको छ सोमराज पण्डितज्यू । जिज्ञासु भएर सुन्दै छौ हामी । यिनै ढुङ्गा ओछ्याइएका बाटोमा हिडे होलान् द्रव्य शाह पनि । यिनै पटाङ्गीनी, यही आँगन र यही फूलबारीमा डुले होलान् । यिनै रुखमुन्तिर बसाएर गुरुले पढाए होलान् । यही थुम्कोमा बसेर त्यो परको अग्लो हिमाललाई हेर्दै उनले पनि कल्पना गरे होलान् म आफ्नै पौरखमा छुट्टै राज्य स्थापना गर्छु भनेर !
नेपालका शाह वंशीय राजाहरुको थर ‘खाण’ हो । खाणको अर्थ संस्कृतमा विजेता र पराक्रमी हुन्छ । कास्कीका राजा कुलमण्डन खाणले दिल्लीका मुगल बादशादबाट राजाको मान्यता पाएपछि उनले शाह लेख्न थालेका थिए । शाहको अर्थ फारसी भाषामा राजा हुन्छ । खाण राजाहरु कालिका भगवतीका उपासक हुन् । उनीहरु दरवारमैं देवीको छुट्टै पूजाकक्ष बनाएर नित्य पूजा गर्थे । यहाँ पनि दरवारको छेउमा नवदुर्गा मध्येकी एक स्कन्दमाताको पुरानो मूर्ति र पूजावेदी देखियो । हामीले पनि त्यहाँ गएर ढोग्यौं, भेटी चढायौं र टीका लगायौं ।
यहाँ रहेको भवन भने पुरानो दरवार नभएर पुरातत्व विभागले बनाएको भवन रहेछ । जसमा हाल वडा कार्यालय र प्रहरी कार्यालय बसेका छन् । सोमराज पण्डितज्यूले हामीलाई त्यही भवनको भित्रपट्टि लानु भो । एउटा कुनामा पूजा गर्ने थान देखियो । हामीले त्यहाँसम्म मात्रै जान पायौं । ताला लगाइएको एउटा कोठा देखाउँदै उहाँले भन्नु भो— ‘यो गुप्त कालीका भगवतीको पूजा कोठा हो । भत्काएको दरवारबाट भगवती माताका पूजा सामाग्री ल्याएर अचेल यहाँ राखेर पूजा गर्दैछौं । यो पूजा कोठाभित्र पुरोहित र दुरा तथा दनाई जातीका पुजारीभन्दा अरुले पस्न पाउन्नन् । सबैले दर्शन गर्न नपाउने भएकोले भगवतीको यस रुपलाई गुप्तकालिका भनिएको हो’ ।
उहाँ जेजे सुनाउँदै हुनुहुन्छ त्यहाँमा केही न केही नयाँ कुरा सुन्न पाउका छौं । उहाँ जे सुनाउनु हुन्छ त्यसमा केही न केही छुट्टै रोचकता भेटिरहेका छौं । इतिहासका जति पत्र कोट्यायो उति नै नयाँनयाँ कुरा प्रकट भैरहेका छन् । उहाँले आफ्नो काम छाडेर हामीलाई निकै समय दिनु भो । परपरका उत्तुङ्ग हिमचुचुराहरुले आफ्ना आँखाभरि सजाएर राखेजस्तै सोमराज बरालज्यूले पनि लमजुङको पुरानो इतिहासलाई आफ्नो मनभरि सजाएर राख्नु भएको रहेछ । उहाँले लमजुङ राज्य र यस दरवारका अनेक सुनाइरहनु भो । मलाई भने द्रव्य शाहका पौरखिला दृष्टान्तहरुले उत्सुक बनाइरहे ।
तल मस्र्याङ्दी नदी र मझुवा खोलाको माझमा लमतन्न सुतेको बेंसीशहरले समयका अनेक कालखण्डमा आफ्नो रुप फेर्दैफेर्दै अचेल बाक्लो शहरको आकार ग्रहण गरिसके पनि यो गाउँशहरको थुम्कोले भने आफ्नो पुरानो ग्राम्य शोभालाई जोगाएर राखेकै रहेछ । हामीले पनि निकै बेरसम्म यस थुम्कोमा उभिएर इतिहासका मौन प्रतिध्वनिहरुलाई सुम्सुम्याइरह्यौं । टेम्पोवाला युवक शिव श्रेष्ठले आएर ‘जाने हैन दाइ?’ भनेपछि पो म झसङ्ग भएँ । बुलबुलले पनि मनग्गे फोटो खिचिसकेका रहेछन् । तिनै फोटाहरुमा इतिहासको रङ् समेटेर हामी फेरि ओर्लियौं उही अघि चढेर आएको सिढिं ।
मनभित्र सलबलाउँदै आएका केही जिज्ञासाहरु यहाँ पुगेपछि मेटिएजस्तो लाग्यो । केही जिज्ञासाहरु उस्तैउस्तै रहेर फेरि हामीसंगै फर्किएजस्तो लाग्यो । केही प्रश्न यहाँ आएर निरुपण भए । केही प्रश्न भने अधुरै फेरि फर्केर आए हामीसंगै ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु