नागरिक आवाज
कञ्चनपुर भदौ ७
कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदाली जहाँ अहिले दैनिक सयौंको संख्यामा मानिसहरु घुमफिर गर्दै रमाइलोका लागि पुग्न थालेका छन् ।
महाकाली नदीमा निर्माणाधीन अवस्थामा रहेको चार लेनको मोटरेबल पुललाई जोड्ने पहुँच मार्गका रुपमा रहेको ६ लेनको पक्की सडकले धेरैलाई आकर्षित गरेको छ ।
सेल्फीमा रमाउने र टिकटकमा झुमिनेका लागि यो सडक सबैभन्दा उपयुक्त स्थान बनेको छ । अहिले यो सडक ‘भाइरल रोड’ का नामले चिनिन थालेको छ । ‘भाइरल रोड’ मा पुगेर सेल्फी र टिकटक बनाउने क्रम बढेसँगै मानिसहरु खोजीखोजी टाढा–टाढाबाट यहाँ आउन थालेका छन् ।
‘भाइरल रोड’ बारे सामाजिक सञ्जालबाट थाहा पाएको बताउने बैतडीको पाटनका चक्र अवस्थी रमाइलो गर्नकै लागि यहाँ आइपुगेको बताउँछन् । ‘टिकटकबाट यो सडकको बारेमा थाहा पाएको थिए । धेरै राम्रो छ भन्ने सुनेकाले हामी धेरै साथीहरु बैतडीबाटै घुम्न आएका छौं,’ अवस्थीले भने, ‘मैले पनि टिकटक बनाए । छेउमै महाकाली नदी सलल बगिरहेको छ । रमाइलो रहेछ, पछाडि निर्माणाधीन अवस्थामा रहेको पुल पनि देखिरहेको छ । सबैले घुम्न पर्ने ठाउँमध्यकै एउटा रहेछ ।’ धनगढी उपमहानगरपालिका–७ को देवरियाबाट ‘भाइरल रोड’ पुगेका वीरेन्द्रप्रसाद भट्टराईले पनि घुमेर रमाइलो गर्न पाउँदा खुशी लागेको बताए ।
‘मैले ड्रोनबाट खिचिएको यो ‘भाइरल रोड’ को दृश्य देखेको थिएँ । एकपटक घुम्न जानुपर्छ भन्ने लागेको थियो,’ भट्टराईले अनलाइनखबरसँग भने, ‘आज साथीहरुसँगै आएर रमाइलो गरियो । वास्तविकतामा पनि साँच्चै टिकटकमा देखेको जस्तै ठाउँ रहेछ ।’ धनगढीमा पनि ६ लेन सडक निर्माण भए पनि महाकाली नदी छेउ र बस्तीको बीचमा भएकाले ‘भाइरल रोड’ नाम पाएको ओदालीको यो सडक आफ्नो रोजाइ बन्न पुगेको उनले बताए ।
६ लेन सडक कालोपत्रे भएपछि नै त्यहाँ चहलपहल बढेको स्थानीय बताउँछन् । भीमदत्त नगरपालिकाको बडैपुरका स्थानीय आइते लुहारले सडक कालोपत्रे भएपछि घुम्न आउने पर्यटक बढेको बताए । ‘सडक बनेपछि टाढा–टाढाबाट मानिसहरु यहाँ फोटो खिच्न र टिकटक बनाउनका लागि आउने गरेका छन्,’ लुहारले भने, ‘अरु दिनभन्दा शनिबार बढी मानिसको भीडभाड हुने गरेको छ ।’
महाकालीको ६ लेन सडकले आन्तरिक पर्यटक तानेपछि सो क्षेत्रमा व्यापार व्यवसाय पनि फस्टाउन थालेको छ । भीमदत्त नगरपालिका–१२ का वडाध्यक्ष कृष्णसिंह देउवाले पूर्ण रुपमा निर्माण सम्पन्न नभइसकेका बेला नै सडक आन्तरिक पर्यटकको रोजाइ बन्न पुगेको बताए । उनले निर्माण कार्य पूरा भएपछि पर्यटनका माध्यमबाट सडकलाई नगरको आर्थिक विकाससँग जोड्ने योजना रहे पनि अहिले त्यहाँ हुने भीडभाडको व्यवस्थापनको काम वडासँगै स्थानीय युवा क्लब र टोल विकास संस्थाले गरिरहेको जनाए ।महाकाली नदीमा निर्माणधिन चारलेन पक्की पुल जोड्ने सडक मार्ग पछिल्लो समय भाइरल रोडको नाममा चिनिन थालेसँगै कञ्चनपुरमा कोरोना संक्रमण जोखिम बढेको छ ।
सरकारले निशेषाज्ञा कडाइ गर्न गतसाता ७७ वटै जिल्ला प्रशासनलाई पत्राचार गरेपनि कञ्चनपुरमा भने त्यसको कार्यान्वय नहुँदा कोरोना संक्रमणको जोखिम बढेको हो ।
महाकाली नदीमा बन्दै गरेको पक्की पुल र त्यसलाई जोड्न बनाइएको पहुँच मार्ग हेर्न आउनेहरुको संख्या दिनानुदिन बढदै गएको छ । नदी किनारमा फराकिलो कालोपत्रे गरिएको पक्की सडक निकै रमणीय छ । टिकटक बनाउनेहरुको रोजाई बनेको यो सडकमा बिहान बेलुकाको समयमा दर्शकहरुको मेला नै लाग्ने गर्दछ ।
सामान्यतया बेलुकापख भिडभाड हुने उक्त सडक हेर्न बिदाका दिनमा कैलाली, बर्दिया तथा बाँके लगायत टाढा टाढाबाट मानिसहरुको घुइँचो लाग्ने गर्दछन् । उनीहरु म्युजिक भिडियो बनाउन, सेल्फी खिच्न तथा टिकटक बनाउन उक्त सडकमा आउने गर्दछन् ।
उसो त जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सभा, सम्मेलन तथा भिडभाड गर्न रोक लगाउदै बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म निशेषाज्ञा जारी गरेको छ । तर यो रोडमा भने बेलुका ४ बजेदेखि ७ बजेसम्म पुल हेर्न तथा टिकटक बनाउन दैनिक पाँच हजार बढी मानिसहरुको भिड लाग्ने गरेको छ । दैनिक हजारौंको संख्यामा पर्यटक बढ्न थालेपछि कोरोनाको संक्रमण बढ्न सक्ने भन्दै स्थानीयबासिन्दाले चिन्ता व्यक्त गर्न थालेका छन् ।