September 11, 24
26.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

साङ्रिलाको आँगन

मा प्रकाशित

निकै उज्यालो र चहकिलो भएर उदायो चामेको पहिलो बिहान । पूर्वतिर उभिएको मनासुलु हिमाल माथिबाट आएका रश्मीहरुले टलक्क टल्किएको छ चामे । हिजो साँझको चिसो स्याँठ र रातीको हुरीबतासको कुनै प्रभाव छैन । एकै रातमा मौसमको यस्तो परिवर्तित चर्तिकला देखेर विस्मित भएको छु म ।

जीपमा जाउँ कि? पैदल जाउँ? एकछिन निर्णय गर्न अलमल भयो । ‘ढिकुरपोखरी नपुगुञ्जेल हेर्दै जाने कुरा खासै केही छैनन । जीपमा गए पनि हुन्छ’ भन्दैछन् कोही ।‘हिमालको आँगनमा आएपछि त हाम्रालागि जे पनि कुतुकमय छन् । जे देखिन्छ त्यही हेरेर रमाउने हो’ भन्दै छ मेरो मनले ।
‘यता हिडेर शरीरको उर्जालाई किन खेर फाल्नु हुन्छ? बरु ढिकुरपोखरी वा पिसाङ्सम्म जीपमा गएर उतातिर हिड्दा हुन्छ नि?’ श्वेत स्तूप होटेलका भाइको सल्लाह पनि नराम्रो त होइन ।
‘यहाँभन्दा माथि जीप पाउनु र जीप पाए पनि सिट पाउनु भाग्यकै कुरा हो’ भने श्वेत स्तूप होटेलका अर्का भाइ रमेश चौधरीले ।
उनको कुरा सुनेपछि भने मलाई चामेभन्दा माथि जीपबाट जाने जाँगर हरायो ।
सम्झिएँ लालजङ्ग भण्डारीभाइले भनेको कुरो पनि — ‘दादा चामेभन्दा माथि त हिडेरै गयो भने मात्रै मनाङ्को वास्तविक सौन्दर्य के हो थाह पाइन्छ’ ।

हामी डुल्न र डुलेको ठाउँको सौन्दर्यमा डुब्न आएका मान्छेलाई जीपको दुगुरादुगर यात्रा किन गरिरहनु प¥यो र? अन्ततः हिडेरै जाने निर्णय गरियो । नास्ता खाएर हिड्यौं साङ्रिलाको भूमि अर्थात् माथिल्लो मनाङ्तिर । घडीको सुइले जनाउ दिइरहेको छ साढे सात बजेको ।

बाटो उही मस्र्याङ्दी नदीको दाहिने छेवैछेउ एकोहोरो उँभोउँभो कुद्यो । उस्तै ढुङ्गेबगर, उस्तै कच्ची सडक, उस्तै साँगुरो बाटो र उस्तै निर्जन वातावरण । अनि आँखाभरि उस्तै कुतुहलता र मनभरि उस्तै जिज्ञासा । मनाङ्को यो भागमा मानवबस्तीको उपस्थिति त्यति देखिएन । कोणधारी बोटवृक्ष र असरल्ल छरिएका ढुङ्गा मात्रै देखिन्छन् आँखाको दृष्टि पुगुञ्जेल परपर र माथिमाथिसम्म । माथिमाथिका चुचुराहरुमा भने श्वेत हिउँ टलक्क टल्किरहेको छ । कतै पहाडको भिरालो खोस्रेर बनेको बाटो, कतै नदीकै बगरमा कुदिरहेको बाटो । कतै फन्को मारेर तलमाथि गरिरहन्छ बाटोले । कतै सललल बगिरहन्छ नदीकै छेउछेउमा नदीसितै लय मिलाएर । । देब्रेपट्टि बगिरहेको मस्र्याङ्दी र माथितिर मुस्कुराइरहेको लमजुङ् हिमाललाई धीत मारेर हेर्दै हिडिरह्यौं हामी पनि । आँखाको व्यस्तताले बाटो काटेको थाहै भएन ।

दुई घण्टा जतिमा भ्राताङ् पुग्यौं । ‘ओओओ यु आर भेरी लेट’ हाम्रो ढिलो हिडाई देखेर लेघ्रो तान्दै बोले एक जना पर्यटक । चामेभन्दा अलि वरै भेटिएका थिए थाइल्याण्डबाट आएका ती पर्यटक । एक्लै हिडिरहेका थिए । उनी भ्राताङमा पुुगेर चिया पिउँदै रहेछन् । उनलाई गुरुप्रसाद बुलबुलको मोबाइलमा फोटो खिच्न लगायौं । ‘नेपाल इज भेरी ब्युटिफुल कन्ट्री’ भन्दै अनेक पोजका खिचिदिए फोटो ।

एउटा नाङ्गो ढुङ्गे पहाडको काखमा थपक्क बसेको भ्राताङ् सानै गाउँ रहेछ । एक दर्जनभन्दा बढी घर देखेनौं भ्राताङ्मा । कतै यो एउटै स्याउ फाराम नै पो हो कि भ्राताङ भन्नु? जस्तो पनि लागिरह्यो । भ्राताङ्लाई मेरो मनले भरतअङ्गको अपभ्रङ्स मानिरह्यो । तारजालीले बेरिएको बारीभित्र पात झरेका स्याउका बोटहरु सकिनसकी उभिएका छन् वसन्त ऋतुको आगमन पर्खेर । स्याउ फारामको रित्तो, उदास र निर्जन वातावरणले मनभित्र उत्सुकताभन्दा बढी उदासी नै ल्याइदियो । बाटो वरपर र स्याउ फारामलाई घेरेको बारभरि धजा फरफरफरफर गर्दै हल्लीरहेका छन् । यहाँको निरवतामा जीवन्तता दिने जिम्मेवारी यी धजाले नै बोेकेजस्तो लाग्यो ।

भ्राताङबाट हिडेपछि केही बेरमा भेटियो अजङ्गको ढुङ्गे पहाडलाई खोपेर बनाइएको साँगुरो बाटो । यस बाटोले हिजो बेंसीशहरबाट पार गरेर आएको जस्तै डरलाग्दो बाटोको सम्झना गरायो । साँगुरो बाटोबाट चेपिएर खुट्टा सारिरहँदा तल मस्र्याङ्दीको सेतो र नीलो पानी छ्याङ्गै देखिएर होला हिजोको जस्तो भयभीत भएनौं । हिजो त नदी केही पनि नदेखिएर माथि पनि भीर, तल पनि भीर देखिएर पो हो कहाली लागेको । आज त माथिपट्टि अजङ्गको चट्टान भए पनि तलतिर छङ्छङ् गर्दै नजिकैबाट बगिरहेको मस्र्याङ्दीले हाम्रो भय हरण गरिदिएको छ ।
‘चिप्लेर खसी हाले पनि त्यही मस्र्याङ्दीमैं पुगिने त होला?’ यस्तैयस्तै सोचेर ढाडस दियो मनले मनलाई ।

असजिलो बाटो र साँगुरोसाँगुरो हुँदै आएको मस्र्याङ्दी भेटिए एउटा गल्छीजस्तो ठाउँनिर । फलामे पुल रहेछ । पुल तरेर पारिपट्टि गयौं । सल्लाले ढाकिएको वनभित्रको फराकिलो बाटो माथिमाथि उक्लिन थाल्यो । तर जति माथि गए पनि मस्र्याङ्दीले आफ्नो स्वर सुनाउन अल्छी मानेन । सल्लाको वन बाक्लो भएर बिहानबिहान अँध्यारो भए पनि आफ्नो छङ्छङ् स्वर सुनाएर परैसम्म साथ दिइरह्यो मस्र्याङ्दीले ।

मस्र्याङ्दीको पुल तरेपछि भूबनोट पनि केही फेरिएको जस्तो आभास भयो । बाटो वरपरको अफ्ठ्यारो भूबनोट पनि हरायो ।

‘यस्तो सुनसान वनमा हिउँ चितुवाले आक्रमण गर्छ रे अङ्कल’ सुनाए बुलबुलले । ‘यस्तो वनमा एक्लोदुक्लो मान्छे भेटेपछि त ब्वाँसोले पनि झम्टिन्छ रे’ मैले पनि सुनाए आफूले सुनेको कुरो । एकअर्काका कुराले हामी दुइटैका अनुहारमा अव्यक्त त्रासका धर्सा कोरिए । फेरि एकअर्काका भरोसाले आश्वस्त पनि भै हाल्यौं । हामी दुईजना नै भएका छौं एक अर्काका भरोसा र आड ।

धेरै उँचाईमा आइपुगेका त रहेन छौं हामी । सल्लाको वनभित्र तेरपायाँतेरपायाँ बाटो हिडिरहेका छौं । एक्कासी आकाश छ्याङ्ग खुलेजस्तो भयो । पर गहिरोमा ढिकुरपोखरीका रुपौला दृश्य छरिए आँखाअगाडि । आँखामा ढिकुरपोखरी उज्यालिए संगै उज्यालियो मन पनि । माथिमाथिका हिमाली चुचुराले पनि कदाचित देखे होलान् हाम्रो उज्यालिएको मनोदशालाई । हरितिमा शोभा बटुलेर बसेको छ एउटा उज्यालो फाँट । यस्तो लाग्यो साँच्चै साङ्रिला भनिने कुनै कुतुकमय ठाउँमैं आइपुगियो आज ।

ढिकुरपोखरी पुग्न थोरै ओरालो झर्नु प¥यो । तलतल झर्दै गर्दाको ओरालोमा हिजो राती परेको हिउँ पग्लिएर बग्दै गरेको दृश्यले आँखा ताने । हिउसंग ससाना ढुङ्गा पनि बगिरहेका छन् । भित्ताभित्तामा नपग्लिएका हिउँका थुप्राहरु पनि देख्यौं । हिउँ टिप्ने र त्यही हिउँ समातेर फोटो खिच्न खोज्दाखोज्दै हिउँ पग्लिएको दृश्यले रमाइरह्यौं । हिउँ बोकेको हात एकैछिनमा चिसोले कठ्याङग्रीएपछि हेरेरै रहर मेटियो । कालो पहाडको फेदमा थुप्रिएको हिउँ बग्दै गरेको दृश्य हेर्दाहेर्दै झ्याप्पै पुगियो ढिकुरपोखरी ।

सल्लाका हरिया रुखले घेरिएको ढिकुरपोखरीले हामीलाई हाँसेरै स्वागत ग¥यो । ढिकुरपोखरी त तराईजस्तै लाग्ने समतल भुभागमा रहेछ । छेउमैं कलकल गर्दै बगिरहेको छ मस्र्याङ्दी । पारिपट्टि उभिएका सल्लाका रुखले हरियो कला पस्किरहेका छन् । माथिपट्टि आँखा लगाउँदा देखिए काला नाङ्गा चट्टान र त्यसभन्दा माथि हिउँ थुप्रिएका हिमाद्रीहरु । सबै आआफ्नो ठाउँमा थपक्क बसेजस्ता मौन मुद्रामा छन् । हाम्रो मन भने ढिकुरपोखरीको चिसो बतासमा उडुँउडुँ हुन थाल्यो । राता, पहेंला र नीलो रङ्गका घरहरुले शोभामान छ यो सानो बस्ती । एक दर्जनभन्दा केही बढी होलान् यी घरहरु । स्वर्गद्वारी र अन्नपूर्ण हिमालका श्वेत चुचुराहरुले पहरा दिइरहेका छन् दुईतिरबाट यो सानो उपत्यकालाई ।
‘ढिकुरपोखरी नभनेर यसलाई ढिकुरउपत्यका भन्नु पर्ने हैन अङ्कल?’ जिज्ञासा पोखे गुरुप्रसाद बुलबुलले ।

ढिकुरपोखरीको दक्षिणतिरको पाखो अन्नपूर्ण श्रृङ्खलाकै भाग हो । हिजैदेखि मस्र्याङ्दीको पल्लोपट्टि देखिने हिमश्रृङ्खलालाई अन्नपूर्ण नै हो भनेर चिनाउँदै छन् सबै । अन्नपूर्णका चुचुराहरुलाई वान टु थी्र नाम दिइएको रहेछ । यहाँबाट भने अन्नपूर्ण निकै नजिक देखियो । यो यति नजिक देखिन्छ कि चङ्गा उडाएको भए अन्नपूर्णकै टुप्पोमा पुग्दो हो जस्तो लगिरह्यो । गुलेलीमा मट्याङ्ग्रा राखेर हिर्काउने हो भने पनि चुचुरामा लाग्लाजस्तो ! एकछिन लम्किएर उकालो चढ्ने हो भने थुम्को मैं पुगिएलाजस्तो !

अन्नपूर्णभन्दा पनि पूर्वपट्टि ठिङ्ग उभिएको हिमालले विछट्टै लोभ्याइरहेको छ । अरु हिमाली थुम्काभन्दा यस हिमालको थुम्कोमा छरिएको हिउँमा छुट्टै आकर्षण छ । थपक्क मिलाएर, जतनले सम्याएर राखिएकोजस्तो लाग्छ हिमालको शिरमा हिउँ । हिमाली पाखाका दुई खण्डको माझमा मान्छे हिड्ने बाटोजस्तो कालो रेखो देखियो । नियालेर हेर्दा त्यो रेखो चट्टान चर्किएर दुईटा भाग बनेजस्तो पनि देखिन्छ । हिमाली पाखोलाई दुई भागमा अंशबण्डा गर्ने सीमानाजस्तै लाग्छ यहाँबाट हेर्दा ।
‘त्यसलाई स्वर्ग जाने बाटो भनिन्छ’ हामी खाना खाँदै गर्दा सुनाए साहुजीले ।
‘त्यसै बाटोको नामबाट स्वर्गद्वारी हिमाल रहेको हो यसको नाम’ थपे उनैले ।
त्यस बाटोजस्तो आकृतिमा कहिल्यै पनि हिउँ अडिन्न रे ! त्यसैले थपेको छ यस हिमालको सुन्दरतामा छुट्टै कला । अरु दिशातिर मुन्टो फर्काउनै मन लागेन । स्वर्गद्वारी हिमालको पृथक आकर्षणले तानिरह्यो आँखा । तलतिरको समतल भागमा ढकमक्क हरियो वन, माथिपट्टिको पाखोमा श्वेत हिमानीको रास र माथि आकाशमा अडिएका सेतै वादलका बुट्टाहरुलाई संगसंगै हेर्न पाउने अवसर यस ढिकुरपोखरीभन्दा अन्त कहाँ भेटिएला र? निकै बेर आँखा नझिम्काएर हेरिरह्यौं हिमाद्रीको त्यस अप्रितम सौन्दर्यलाई ।

‘अब हिडौं अङ्कल’ गुरुप्रसाद बुलबुलको स्वरले झस्किएँ म । हिड्नै आएका हौं । बसिरहने कुरा त भएन एकै ठाउँमा । हिड्नु छ, हिडि पनि हाल्यौं । ढिकुरपोखरीबाट मस्र्याङ्दी तरेर पारिपट्टि गयौं । मस्र्याङ्दीको दाहिने किनारमा सल्लाको वनको छेवैछेउ हिड्यो बाटो आफ्नै लयमा । हामीले पनि आफूलाई मिसायौं त्यही लयमा । स्वर्गद्वारी हिमालपट्टि हाम्रो पिठ्यु परे पनि उभिएर फर्किफर्कि हेर्दै छौं त्यसलाई । देब्रतिर छ्याङ्गै देखियो अन्नपूर्ण पनि । ठुस्किने हुन् कि भनेर बेलाबेला आफ्ना दृष्टि त्यतापट्टि पनि फ्याक्दै छौं । दुईटा आँखा कहाँकहाँ पु¥याउनु? के के हेरौं जस्तो भैरहेको छ ।

बाटो वरपर कुनै चहलपहल छैन । सल्लाको वनभित्र सल्लो बाहेक अरु केही देखिन्न । उभिएका रुख पनि सल्लैका छन् । ढलेर सुकेका रुख पनि सल्लैका छन् । भुइँ पनि सल्लाका सुकेर खसेका पातले पहेंलपुर भएको छ । यस्तो लाग्यो सल्लाले आफ्नो भूमिमा अरु कुनै बोटबिरुवालाई उम्रिन नदिने सल्लाह गरेका छन् । वन र नदीको माझमा फुटबल खेल्न मिल्ने ठुलाठूला चौर पनि देखिए । सबैमा व्याप्त छ उस्तै शूण्यता, उस्तै निरवता र उस्तै ऐकान्तिक चकमन्नता । केही चराचुरुङ्गीले बेलाबेला आफ्नो साङ्गीतिक स्वर गुन्जाएर यहाँको चकमन्नतालाई भङ्ग गर्न खोज्छन् । नत्र सबैकुरा यहाँ ध्यानस्थ मुद्रामैं छन् । हाम्रो मुटुको चालले पनि हाम्रै ध्यानभंग गर्न खोजेजस्तो गरिरह्यो ।

सुस्तसुस्त बाटो उकालोउकालो लाग्न थाल्यो । मुटुको बढ्दो चालले उँचाई बढ्दै गएको जनाऊ दिइसक्यो । हातको लट्ठिको सहाराले हामी पनि उकालोमा अघिकै चालमा हिड्ने यत्न गर्न थाल्यौं । तर समतलमा हिडेजस्तो सजिलो उकालोमा कहाँ हुनु ! ओंठ बन्द गरेर नाकबाट मात्रै लामोलामो सास तान्दै हिड्यो भने सहज हुने रहेछ । तर हामी नेपालीहरु नबोलेर कहाँ मौन रहन सक्छौं र? स्वामी अवधेशानन्द महाराजका वाणि सम्झिएँ— ‘हिड्नु पनि ध्यान गरेजस्तै भयो भने यात्रा पनि उपासना बनिहाल्छ’ । आजको हिडाईलाई स्वामीज्यूले भन्नु भएजसरी उपासना बनाउन नसकेपनि सन्झना बनाउने त अठोट गरेकै छौं हामीले पनि !

मध्य दिउँसो हुँदै गर्दा पिसाङ्का दृश्यहरु ठोक्किन लागे आँखामा । ढुङ्गा ओछ्याएको चोबाटोनिर कुन् पिसाङ जाने भनेर एकछिन अलमलियौं । तल्लो पिसाङ् जान ओरालो झरेर मस्र्याङ्दीको बगरमैं पुग्नु पर्ने रहेछ । माथिल्लो पिसाङ् जान उकालैउकालो उँभोउँभो जानु पर्ने रहेछ । हामीले उकालो समात्यौं ।

दक्षिणतिर फर्केको पारिलो पाखामा फिंजिएको छ माथिल्लो पिसाङको उज्यालो बस्ती । मध्यान्हपछि हिमाली भेगमा बेतोडले हावा चल्छ भन्थे हो रहेछ । ‘जोमसोमे बजारमा बारह बजे हावा सरसर’ भन्ने एउटा गीत नै छ । पिसाङ त झन् जोमसोमभन्दा पाँचसय मिटर उँचाईमा छ । यहाँ पनि हावाको बेग निकै चर्को भैसकेको छ । हिमाली क्षेत्रको हावामा बालुवामात्र हैन ढुङ्गा पनि उडेर आउँछन् । ‘तराइतिर जाँदा पेट जोगाउनू, पहाडतिर जाँदा नाक जोगाउनू । हिमालतिर जाँदा कान र ओठ जोगाउनू’ साथि विजयराज श्रेष्ठले भनेको सम्झें । मास्कले ओठ र टोपीले कान जोगाउन लाग्यौं हामी पनि ।

फराकिलो पाखाभरि अटेसटमेटस गरेर उभिएका छन् घरहरु । घरभन्दा पनि होटलको सङ्ख्या बढि रहेछ । कोठा हेर्दै, सोद्धै, बुझ्दै जाँदा पुग्यौं होटल माउण्टको आँगनमा । भेटिए कान्छा गुरुङ् । पहिले त कान्छा गुरुङ्ले मेरा साथि गुरुप्रसाद बुलबुललाई एक्लै देखेर होला एउटा कोठाको दुई सय भनेका थिए । मलाई देखेपछि त अढाई सय भन्न लागे । हिमाली क्षेत्रको पर्यटकको चाप हुने ठाउँमा एउटा सिङ्गै कोठाको भाडा एक रातको अढाई सय रुपियाँ भनेपछि त हामी एकछिन दङ्ग नै प¥यौं । अब त्यसमा पनि बार्गेनिङ् गर्ने कुरा आएन । कोठामा एटेच बाथरुम र दुईटा ओछ्यान पनि रहेछन् । सफा र सूरुचिपूर्ण नै रहेछ कोठा । बाईफाईले भने राम्ररी काम गरेन । हामीले कोठा यति सस्तो हुनुको कारण बाईफाईको समस्या नै हो भन्ने निष्कर्ष निकाल्यौं ।

माया गुरुङ् रहेछ साहुनीको नाम । हामीलाई तातो पानी र चिया पिलाएपछि मनाङ्े भाकामा भनिन्— ‘डाई अब कोठामा गएर आराम गर्नुहोस् । साँझसाँझटिर हावा अलि होलाहोलोे हुन्छ अनि घुम्न निस्किनु होला’ । बिहानैदेखि पाँच घण्टाभन्दा धेरै हिडिसकेका छौं हामी । शरीरले पनि आराम त खोजिरहेकै छ ।

अपरान्हतिर केही घट्यो हावाको बेग । दक्षिण—पश्चिम दिशातिर अन्नपूर्ण हिमालको काखमा लुक्ने तरखर गर्न लागेका सूर्यनारायणको तेज पनि सुस्ताइरहेको छ । लामो पदयात्रामा हिडेका पर्यटकहरु पिसाङ्को माथिल्लो टुप्पोसम्म हाइकिङ् गर्न जाँदा रहेछन् । यस्तो गर्दै अघि बढ्यो भने हाइअल्टिच्युडको समस्याले नसमात्ने रहेछ । हामी भने पिसाङ्को सिरानमा रहेको गुम्बासम्म मात्रै पुग्यौं । हामी बसेको होटेल माउण्ट ३३६० मिटरको उँचाईमा छ । गुम्बासम्म पुग्नलाई फेरि उकालो चढ्नु प¥यो ।

विशाल द्वारमा नेपाली, अङ्ग्रेजी र तिब्बती लिपिमा लेखिएको छ उर्गेन थेगक्षेग क्षोलिङ गुम्बा । तिब्बती बास्तुकलाले सिंगारिएका छन् गुम्बाका भित्ता, ढोका र झ्यालहरु । निकै सूक्ष्म र मसिनो ढङ्गले खोपिएका छन् काठमा र ढुङ्गामा बुट्टा र चित्रहरु । मूल मन्दिरको गर्भगृहमा पसेर ढोग्यौं बुद्ध भगवानलाई एकछिन आँखा चिम्लिएर र प्रार्थना ग¥यौं— हे भगवान हाम्रो यात्रा सफल होस्, उँचाईको कारणले स्वास्थ्यमा कुनै समस्या नआओस् ।

गाउँको माझमा यति ठूलो गुम्बा उभिएको छ । हिमाली क्षेत्रमा धेरै बुद्धिष्टहरु ईसाई धर्ममा रुपान्तरण भएको सुनिन्छ । यहाँको अवस्था के होला? जान्न उत्सुक भएको छ मन हिजैदेखि । तर कसैलाई सोध्न सकिरहेको छैन ।
एक जना पेम्बा गुरुङ् नाम गरेका युवा भेटिए गुम्बामा ।
‘सुरक्षाको व्यवस्था त केही पनि रहेनछ नि भाइ गुम्बामा? लामा र आनी पनि कोही देखिनु भएन?’ म उनैसित गफिन लागें ।
‘यहाँ त गुम्बाको सुरक्षामा अहिलेसम्म त त्यस्तो खासै समस्या आएको छैन तर अन्तअन्त त बौद्ध गुम्बालाई नै चर्च बनाएको पनि सुनिन्छ’ भने उनले । ‘यतातिर चर्च बनेका छैनन् र भाइ?’ फेरि सोधें । ‘एक दुई जना त जहाँका पनि फाल्टु भै हाल्छन् तर मनाङ्मा आफ्नो धर्म र संस्कृति त्यागेर अर्कोतिर लहसिनेहरु छैनन् दाइ’ निकै उत्साहित भएर बोले उनी । नेपालमा धर्मान्तरणको समस्या सबैभन्दा धेरै बौद्ध धर्मबाटनै भएको देखिन्छ । लेखक मोहन लामा रुम्बाले यो बारेमा निकै कुरा उठाइरहनु हुन्छ सामाजिक सञ्जालमा । यी भाइ पनि मलाई उहाँजस्तै अटल र स्पष्ट लागे ।

निकै बेर गुम्बाको आँगनबाट अन्नपूर्ण हिमालका मनोहारी दृश्य नियालीरह्यौं । घाम अन्नपूर्णको पल्तिर ढल्किएपछि पिसाङ्को पाखोमा गोधुली साँझका धर्साहरु फिंजिन लागे । हामी पनि सुस्तसुस्त ओलियौं होटलतिरै ।

जतिजति अँध्यारो बढ्दै गयो चिसोको प्रकोप त्यही अनुपातमा चुलिदै गयो । खाना पनि सबैलाई एकै पटक पस्केर खुवाउनु पर्ने रहेछ । नत्र चिसो भएर खान नसकिने । फलामे चिम्नीको वरिपरि झुम्मिएर खाना खायौं सबैले । विदेशी पर्यटकहरु प्रायः आफैले बोकेर ल्याएको पृय पदार्थ मात्रै खाँदा रहेछन् । टन्न पेटभरि रोटी, भात र दालतरकारी चाहिने त हामी नेपालीलाई मात्रै रहेछ । कान्छा गुरुङका बुढाबुढीले हाँसीहाँसी खुवाए ।

‘साहुजी होटेल त टन्नै भरिएको छ । तपाइँहरुको पनि हात खाली छैन, कमाई त राम्रै हुँदो होला है?’ साहुजीलाई सोधेको थिएँ तर उत्तर दिइन् साहुनीले — ‘सबै नाटेडारहरु कोही युएस, कोही जापान पुगिसके हामी डुईजाना माट्रै यटै बसेर जसोटसो होटेल चलाइरहेका छौं, यिनै चारपाँच महिनाको कमाईले वर्षभरि खानुपर्छ । बैंकको ऋण पनि टिर्नुपर्छ डाई, केही पोनी बोच्डैन’ मनाङ्े भाकामा आफ्नो पेशाप्रतिको अरुचि पोखिहालिन् उनले । मलाई उनका कुराभन्दा पनि उनको बोल्ने भाकाले सुनुँसुनुँ लागिरह्यो । काम त आफूले गरेको काम कसलाई पो राम्रो लाग्छ र यो जगतमा !

खोटाङका तेजबहादुर पुरी भेटिए होटलमैं । वल्लोपल्लो कोठामा छिमेकी भएर बस्न पुगेछौं आज । एउटा फ्रेन्च घुमन्ते टोलीका गाइड बनेर आएका रहेछन् । कतिखेर अंग्रेजी बोल्छन् कतिखेर फ्रेन्च बोल्छन् त कतिखेर जर्मन बोल्छ । ‘जस्तोजस्तो पुरेत बाजे उस्तैउस्तै स्वाहा जस्तै बन्नुपर्छ सर’ हाँस्दै भने उनले । रातीसम्म ट्रेकिङ् जाँदाका अनेक समस्या र अनुभव सुनाइरहे ।

‘यात्रा सकिएको दिनमा कुइरेले हान्ने झटारो नै हो यस कामको आर्कषण’ । लामो पदयात्रा सकेर काडमाडौं फर्केपछि अन्तिम दिनमा कुइरेले आफ्ना गाइडलाई केही बक्सिस दिन्छन् । यसैलाई झटारो भन्दारहेछन् । भारी बोक्नेहरु पनि यसै झटारोको आकर्षणले पर्यटकका ठूलाठूला भारी बोकेर दुईदुई तीनतीन हप्तासम्म भारी बोक्दै डाँडाकाँडा हिड्दारहेछन् । पचास वर्ष पुग्न लागेका तेजबहादुर पुरीलाई पनि त्यसै झटारोको लोभले यो काम छोड्न मन लागेको रहेनछ ।
मैले मनाङ् मुस्ताङतिर नेपालीलाई अलि हेप्छन् भन्ने सुनेको थिएँ । तेजबहादुर पुरीले सुनाए— ‘पहिलेपहिले त नेपालीलाई अलि पक्षपात नै गर्थे । तर यता डुल्न आउने कुइरेभन्दा नेपालीले नै बढी पैसा खर्च गर्छ भन्ने बुझेपछि बरु अचेल नेपालीले बढी मान पाउँछन्’ । रहस्य त यो पो रहेछ । आफ्नो होटलमा बास बस्न आएका हामी दुईजना नेपाली पाहुनालाई सेवासुश्रुवामा कुनै कमी गरका छैनन् कान्छाका बुढाबुढीले पनि । यद्यपि हामीले त्यस्तो खासै खर्च गरेका पनि केही छैनौं !

साङ्रिलाको आँगनमा दिनभरि डुल्दा अनेक भाव उठिरहे मनभरि । मनभित्र छचल्किएका सबै भावहरुलाई राख्न सकिएन समातेर । कोठामा बाईफाईले काम गरेको छैन । हामी उपन्यास पढ्न थाल्यौं । बुलबुलले ‘टुवरा’ का पाना पल्टाए । म ‘मिन्झारी’ पढ्न थालें । एकसय एकतिसौं पृष्ठमा पुगेको छु । यहाँ पनि घुम्न गएकै प्रसङ्ग रहेछ — ‘कल्लु र म टीकापुरबाट बेलुका छ बजे साइकल लिएर निस्केका थियौं । दुर्गौली पुग्दा हाम्रो साइकल बिग्रियो । साइकल बनाएर तोरैयापुर पुग्दा झमक्क रात परिसकेको थियो’ ।
पढ्दापढ्दै म त भुसुक्कै निदाएछु …….

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु