पुनर्वास ,
कञ्चनपुरको पुनर्वास स्थित डोकेबजारको ऐतिहासिक महत्व झल्काएर पर्यटन प्रवर्द्धनका लागि डोकोको प्रतिमा स्थापित गर्न स्थानीय युवाहरुको सक्रियतामा समिती गठन गरिएको छ ।
नेपाल-भारत सीमा नाका रहेको पुनर्वास नगरपालिका ११ स्थित ऐतिहासिक महत्वको डोकेबजारमा बजारको पहिचान झल्काउन र आन्तरिक पर्यटन प्रवर्द्धनका लागि डोकोको प्रतिमा स्थापना संगै बजारको भौतिक , साँस्कृतिक बिकासमा सघाउन स्थानीय युवा समुयल न्यौपानेको पहलमा बसेको भेलामा समिती गठन गरिएको छ ।
आइतबार बसेको स्थानीय युवाहरुको अगुवाईमा आव्हान गरिएको भेला वडा अध्यक्ष तुलसी अर्यालको अध्यक्षतामा बसेको थियो । उक्त भेलाले समुयल न्यौपानेको अध्यक्षतामा ९ सदसिय टोल बिकास समिती गठन गरेको छ । उक्त समितिमा उपाध्यक्ष धन सिंह लामा ( तमाङ) , सचिव टेकेन्द्र सिंह धामी , कोषाध्यक्ष अप्सरा चौधरी , सदस्यहरु प्रदिप थापामगर , ज्ञानु हमाल , ऋतु न्यौपाने , विजय अछामी र सनम पोख्रेललाई भेलाले चयन गरेको छ ।
नगर भित्रका ऐतिहासिक महत्व बोकेका स्थानहरुको पहिचान स्थापित गर्न स्थानीय निकायको पहल कदमी नदेखिए पछि स्वत: स्फुर्त रुपमा जुटनु परेको स्थानिय युवाहरुले बताए ।