झलारी,
परराष्ट्र मन्त्री एनपी साउँदले कार्यकर्तासँग करिब तीन घण्टा छलफल गरेका छन्। शनिबार कार्यकर्ताका उठाएका प्रश्नको जवाफ मन्त्री सावदले दिएका थिए। नेपाली कांग्रेस कंचनपुर क्षेत्र नम्बर २ ले बनसमितिमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री साउदले जनताका समस्या क्रमिक रुपमा समाधान गर्ने बताएका छन् ।
‘क्षेत्र नं. २ का समस्या प्राथमिकताका आधारमा समाधान हुनेछन्,’ उनले भने, ‘प्रतिबद्धता गरे अनुसार आरक्षपीडित र भूमिहीनको समस्या समाधानको लागि काम गरिरहेको छु।’मन्त्री सावदले राज्यले विभिन्न समयमा आरक्षपीडितका समस्या समाधानका नाममा ३१ आयोग गठन गरेपनि समस्या ज्यूकात्यू भएकाले वर्तमान आयोगलाई निरन्तरता दिन आफुले पहल गरिरहेको बताएका छन् । ‘विभिन्न समयमा अयोगहरु बनेर अर्बौ रूपैयाँ खर्च भएपनि समस्या जस्ताको त्यस्तै भएकाले आफुले ३२ औं पटक आयोग गठन गर्नु नपर्ने गरी समस्या समाधानमा लागेको छु ।’ जग्गा नापीको लागि केन्द्रबाट क्षेत्र नं. २ का ३ वटै पालिकामा २/२ कर्मचारी खटाउने र स्थानीय तहले पनि आवश्यक जनशक्ति थपि नापीको काम चाडो सक्ने उनको भनाई रहेको छ।
मन्त्री सावदले फ्रि भिसा फ्रि टिकटमा ५० जनालाई बैदेशिक रोजगारीमा पठाएको समेत जानकारी दिए । ‘वैदेशिक रोजगारी जान चाहने सबैलाई फ्रि भिसा फ्रि टिकटमा विदेश पठाइने छ,’ उनले भने,‘यहाँका बाटाघाटा, पुलपुलेसा र तटबन्ध छिट्टै निर्माण गरिने छ ।’ उनले आरक्षभित्रको बाटोको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाएर काम अगाडि बढाइने समेत बताए ।
‘ढल निकाशका लागि बनसमितीदेखी कलुवापुर बजार सम्म डिपिआर तयार गरेर काम अगाडि बढाउने छु।’ कांग्रेस नगर उपसभापति देवराज जोशीले आरक्षपिडीतको समस्या, नदी कटान, कलुवापुर डुवान, ढल निकासको व्यवस्था गर्न परराष्ट्र मन्त्री सावदलाई आग्रह गरेका थिए । सुदुरपश्चिम प्रदेश सभा सदस्य गिता चौधरीले चुनावी दौरानमा गरेका प्रतिवद्धताहरु पुरा गर्ने बताइन् । महाधिवेशन प्रतिनिधि दुर्गा भट्टले जनताको पक्षमा रहेर काम गर्नुपर्ने र चुनावको समयमा बोलेका प्रतिवद्धता पुरा गर्नुपर्ने बताए ।
वडा नम्बर ११ का वडा सभापति टेकबहादुर भण्डारीले वर्षेनी कलुवापुर बजार डुवानसंगै नदी कटानको समस्या रहेकोले समाधान गर्न मन्त्री सावदलाई आग्रह गरे । नगर सभापति दान बहादुर ऐरको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि परराष्ट्र मन्त्री सावद रहेका थिए । कार्यक्रमको सञ्चालन नगर सचिव हरेन्द्रकुमार भण्डारीले गरेका थिए । कार्यक्रममा नेता, कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो ।