February 13, 25
8.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कविता : बाआमा म र छोरो !

मा प्रकाशित

पुष्पराज जोशी ‘पुकार’
मट्कौना, कैलाली
म सानो छँदा
सहर छिर्ने बेलामा
रातो रंगमा चामलसँगै दही मुछी
मेरी आमाले निधारमा लगाउँदै गर्दा
बाआमाका आँखा रसाएका थिए,
आमाले भावुक बन्दै
साडीको सप्कोले आँशु पुछेकी थिइन्
बाका आँखाका चेपमा आँशुको छर्को देखिएको थियो
हो, त्यसरी नै
आज मेरा पनि आँखाका चेपमा आँशु रसाएको छ
त्यो बेला बाआमा किन रुँदाहुन् सम्झने म
बीसौँ वर्षपछि बल्ल बुझ्दैछु आज
‘बाआमाको मन छोराछोरीमाथि
छोराछोरीको मन ढुंगामुढामाथि’
त्यो उखान अहिले सम्झँदैछु म
अचेल म दिन विराएर त्यो गाउँमा पुग्छु
जहाँ मेरो नावालक छोरा म आउने प्रतीक्षामा हुन्छ
त्यसरी नै म नावालक हुँदा
मेरा बा आमा म आउने प्रतीक्षामा बाटो कुरेर बसेका हुन्थे
हिजो गाउँको बाटोमा सुकिलो लुगा लगाएको मान्छे देख्दा
मेरा बाआमा छोरै हो कि सोचेर आँखा लोलाउँदै हेर्थे
तर, आज उही रीति फिरेछ
गाउँको ग्राभेल सडकमा भटभटेको आवाज आउँदा
मेरो छोरा बाबा आउनुभयो भन्दै दगुर्दै
घरको काठे कल्भर्टसम्म पुग्छ
भटभटे कैलाशपुरतिर हुइँकिन्छ
छोरो काठे कल्भर्टबाट निराश हुँदै फर्कन्छ
यो रीति दिनदिनै चल्छ
छोरो दिनदिनै निराश बन्छ
जुन दिन म घर फिर्थे
मेरा बाआमा राति अबेरसम्म बस्थे
कुराकानीमै समय विताउँथे
हो, आज उसैगरि
म गाउँ फर्कदा
छोरो मेरो मोबाइल खेलाउँदै
राति अबेलासम्म ब्युँझै रहन्छ
भन्छ–भोलि सहर नजानू है बाबा
म टाउको हल्लाउँदै उसको कुरामा सहमति जाउँछु
ऊ खुसी हुन्छ
बिहानै ऊ गाउँकै स्कुल जान्छ
ऊ फर्कनुभन्दा अगावै म गाउँ छाड्छु
स्कुलबाट फर्कदा ऊ मेरा चप्पल खोज्छ
कोठा, भान्सा, धारा चहार्दै शौचालय पुग्छ
भेट्दैन र ऊ
बाबाले फेरि ‘उल्लू’ बनाएछन् भन्दै निराश हुन्छ
म गाउँ छाड्दै गर्दा
स्कुल गएको छोरो फर्कदा जसरी बाबालाई खोज्छ
हो, हिजो उसैगरी
सहर छिरेको छोरोलाई खोज्दै
बाआमा कति दिन अनिदा बसे होलान् !
अहिले म बाआमा र छोरोलाई सम्झँदैछु ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु