कञ्चनपुर । कञ्चनपुरमा डेंगु रोगको सङ्क्रमण बढ्दै गइरहेको पाइएको छ । जिल्लामा केही सातायता डेंगु रोगको सङ्क्रमण बढेको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार दुई महिनामा एक सय २६ जना डेंगी रोगका सङ्क्रमित भेटिएका छन् ।
यहाँ डेंगीको सङ्क्रमणबाट दुई जनाको मृत्यु पनि भइसकेको छ । मृत्यु हुनेमा बेलौरी नगरपालिकाका–२८ वर्षीय हिक्मतबहादुर खत्रीको १२ भदौमा धनगढीको नोभा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । भने भीमदत्त नगरपालिका ६ की १२ वर्षीया बालिकाको धनगढी सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले जिल्लाको सबैतिर सङ्क्रमण देखिएको र केही सातायता परीक्षण गर्दा डेङ्गीको सङ्क्रमण बढिरहेको बताए । उनका अनुसार सबैभन्दा बढी डेङ्गी रोगका सङ्क्रमित भीमदत्त नगरपालिकामा भेटिएका छन् ।
भीमदत्तका ९३ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ । दोधारा चाँदनीमा सात, पुनर्वासमा पाँच, बेलडाँडी, बेलौरीमा दुई/दुई, कृष्णपुर, शुक्लाफाँटामा एक/एक र बेदकोटमा पन्ध्र जनामा सङ्क्रमण पुष्टि भएको छ । जसका कारण महाकाली प्रादेशिक अस्पतालमा बिरामी चाप बढेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.अर्जुन भट्टका अनुसार अस्पतालमा हाल ज्वरोका बिरामी बढेका छन् । डेङ्गीका कारण उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्नेलगायत लक्षण देखिने गरेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट भट्टले बताए ।
सङ्क्रमण बढ्दै गए पनि परीक्षणका लागि किटको अभाव हुन थालेको छ । स्थानीय तहदेखि महाकाली प्रादेशिक अस्पताल र स्वास्थ्य कार्यालयमा समेत अभाव हुन थालेको स्वास्थ्य कार्यालय कञ्चनपुरका किटजन्य रोग नियन्त्रण अधिकृत सिद्धराज भट्टले जानकारी दिए ।
प्रदेश स्वास्थ्य निर्देशनालयले मागअनुसार आपूर्ति नभएका कारण जिल्लामा पठाउन नसकिएको जनाएको छ । उनका अनुसार किटको मूल्यमा एकरूपता नहुँदा समेत खरिदमा समस्या भएको छ । अहिले प्रदेशमा किटको मूल्य ७ सय देखि १५ सयसम्म पर्छ ।स्वास्थ्य निर्देशनालयले मूल्यको एकरूपताका लागि समेत सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई आग्रह गरिएको जोशीले बताए । तर मन्त्रालयले सङ्घबाटै एकरूपता गरेमा सहज हुने जनाएको छ ।