December 4, 24
19.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

केमिकलका कारण धानबाली नसुकेको भागेश्वर सुगर मिलको दावि

मा प्रकाशित

पुनर्वास ,
गएको साउन भदौंमा पुनर्वासको सिमरी , उदरी , परासनका किसानहरुको धानबाली सुके पछि किसानहरुले ठूलो मार खेप्नु परेको छ ।

पुनर्वासका धान बाली बाढीको पानीले एकाएक सुके पछि नजिकै रहेको भागेश्वर सुगर एण्ड केमिकल इन्डष्ट्रीले खोलामा मिसाइएको रसायनका कारण धानबाली सुकेको आरोप लगाइएको छ । तर , चिनी मिलले भने आफना कुनै उत्पादन सामाग्रीहरु खोलामा नजाने गरेको प्रतिक्रिया दिएको छ ।

मिल बाट निस्कने पानी प्रशोधन गरि खोलामा जाने गरेको कम्पनिका प्रमुख महाप्रबन्धक द्वारिका नाथ पाण्डेले बताए । उनले भने –‘यहाँ प्रयोगमा ल्याइएका सम्पूर्ण कच्चा पदार्थहरु विक्री वितरण भइरहन्छन् । कुनै पनि फोहोर सामाग्री तथा रसायनहरु यहाँ उत्पादन हुँदैन् ।’ उनले मिलबाट प्रशोधित भइ खोलामा जाने पानीमा कुनै पनि रसायन नहुने र खेतिका लागि उपयूक्त हुने गरेको बताए । उनले भने –‘उखुबाट फोहोरका रुपमा आउने सामाग्रीहरु मलका रुपमा प्रयोग ल्याउने गरिन्छ । पानी पनि प्रशोधन गरिएको हुँदा खेतिमा कुनै असर पार्दैन् ।’

उनले किसानहरु मिलप्रति नकारात्मक नभएपनि मिललाई बन्द गराउन चाहने केही व्यक्तिहरुले अफवाह फैलाइरहेको बताए । त्यसको पुष्टि उनले प्रयोगशालामा भएको परिक्षणले पनि गरेको बताए ।

चिनी उद्योगहरूबाट निस्कने फोहोरको लागि उद्योग विशिष्ट मापदण्ड २०६० मा सान्दर्भिक मापदण्ड र अनुमतियोग्य सीमाहरू तोकिएको छ । सो कम्पनिले ती मापदण्ड विपरित कुनै काम नगरेको पाइएको प्रतिक्रिया दिए ।


सो मापदण्ड अनुसार बायोकेमिकल अक्सिजन डिमांड (विओडी) अधिकतम एक सय मिलिग्राम प्रति लिटर भन्दा बढी हुन नपाइने उल्लेख छ भने केमिकल अक्सिजन डिमांड (सीओडी) अधिकतम दुई सय ५० मिलिग्राम प्रति लिटर हुनुपर्ने उल्लेख छ । सो कम्पनिको प्रयोगशाला परिक्षणका क्रममा विओडी ५७ मिलिग्राम प्रति लिटर रहेको छ भने सिओडी एक सय ४४ मिलिग्राम प्रति लिटर रहेको छ ।

विओडी भनेको जैविक सामग्रीहरू तोड्न आवश्यक पर्ने अक्सिजन सूक्ष्मजीवहरूको मात्रा रहेको उनको भनाई छ । उनले सीओडी भनेको अक्सिजन मार्फत जैविक पदार्थलाई तोड्न आवश्यक अक्सिजनको मात्रा रहेको बताए ।

कम्पनिको परिक्षणका क्रममा हाइड्रोजेनको मात्रा सात रहेको थियो । मापदण्ड अनुसार पाँच दशमलब पाँच देखि आठ दशमलब पाँचसम्मको मात्रालाई सामान्य मानिने गरेको उनको भनाई छ । भागेश्वर सुगर मिलका महा प्रवन्धक पाण्डेले भने –‘बाढीका कारण विभिन्न फोहोरहरु समथर ठाउमा गएर जम्ने गर्छ । ती कुनै बालीमा चप्किएमा त्यसले नष्ट गर्ने गर्छ ।’

पुनर्वास नगरपालिकाको सिमरी, उदरी , परासन र दोदा नदी किनारकै तीन सय बिघा भन्दा बढीको धानबाली सुकेर र कुहिएर सखाप भएको छ ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरले क्षति भएको धान र उक्त क्षेत्रमा जमेको पानीको नमुना संकलन गरी परीक्षण गरेको थियो । ‘परीक्षण रिपोर्टमा दुषित पानीका कारण धानबाली नष्ट भएको भन्ने उल्लेख छ’ कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले भने, ‘तर, त्यो दुषित पानी कहाँबाट आएको हो भन्ने यकिन हुन सकेको छैन् । पुनर्वास नगरपालिकाले रिपोर्टसहित जिल्ला विपद व्यवस्थापन समितिमा पठाएको छ । सोही आधारमा संघ तथा प्रदेशबाट कृषकलाई राहात वितरण गरिने छ ।’
उनका अनुसार दुषित पानीका कारण कृषकहरुको करौंडौ लगानीमा क्षति पुगेको छ ।

विज्ञ नहुँदा समस्याः कृषि ज्ञान केन्द्र

दुषित पानीका कारण धानबाली नष्ट भएको पुष्टि भएपनि यस प्रमुख कारण पत्ता लाग्न नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
‘हामीले काठमाडौंबाट यस विषयमा विज्ञ व्यक्ति माग गरेका छौं’ ज्ञान केन्द्रका जोशीले भने –‘दुषित पानीले त धानबाली नष्ट भएको पुष्टि भएको छ तर, प्रमुख कारण के हो भन्ने पत्ता लाग्न सकेको छैन् ।’

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ उद्रीका देव बोगटीले १० कट्ठा जमिनमा लगाएको धान फल्न सकेन् । धानका बोट सुकेका छन् । केही बोट रातो र पहेँलो भएका छन् ।
साउनमा दोदा नदीको बाढी खेतमा पसेपछि धानबाली सुकेको उनको भनाइ छ । ‘बाढीपछि एकाएक धान सुक्न थाल्यो, विषादी छर्कियौँ तर सुधार भएन’, उनले भनिन, ‘आधा बिघा अधिया पनि बनाएका थियौँ, त्यहाँ पनि बाली लागेको छैन ।’

पुनर्वास नगरपालिका वडा नम्बर ५ का मोहन रानाले तीन बिघा जमिनमा धान खेति गरेका छन् । तर, अहिले धानमा बाली नलागेपछि उनले क्षतिपूर्तिको माग गरिरहेका छन् । साउन तेस्रो साता दोदा नदीमा आएको बाढी बस्तीसम्मै पुगेर डुबान भएको थियो । डुबान भएको पानी घटेपछि एकाएक धानबाली सुकेको उनको भनाई छ ।

‘बाढी पसेको दुई–तीन दिनपछि पानी घट्यो, त्यसपछि धान सुक्न थाल्यो’, उनले भने, ‘तीन बिघाको पूरै धानमा बाली छैनन् ।’ खेतमा जमेको पानीबाट गन्ध आउनु र पानी पनि कालो हुनुले दुषित पानीका कारण धानमा क्षति पुगेको उनको भनाई छ । अन्नबालीनै उब्जनी नभएपछि अब खाद्यान्नको जोहो कसरी गर्ने उनको मनमा चिन्ता छ ।

धान सुकेर खेतमै पूरै नष्ट भएको छ, त्यहीको उब्जाउ खाने र बाँकी बेचेर घरखर्च चलेको थियो’, किसान रामकिसन चौधरीले भने, ‘अब के खाने रु कसरी बालबच्चा पाल्ने रु समस्या छ ।’ उनले डेढ बिघामा ५० बोरा धान फलाउने गरेको र त्यसैबाट वर्षभरि खान अनि परिवारको खर्चको जोहो गर्ने गरेको बताए ।

उनले अन्य वर्षमा पनि बाढी आउने गरेको तर, यसरी धानबालीमा नष्ट नपुर्याएको स्मरण गर्दै भने –‘अरुबेला पनि बाढी आउथ्यो, तर यस्तो क्षति गरेको थिएन् । यसपटक एक्कासी धान कसरी सुक्यो थाहा भएन ।’

पुनर्वास नगरपालिकाको सिमरी, उद्री, परासन र दोदा नदी किनारकै तीन सय बिघाभन्दा बढीको धानबाली सुकेर र कुहिएर सखाप भएको छ ।

खेत नजिकै रहेको भागेश्वर सुगर मिलमा रहेकाले किसानहरुले मिलका कारण धानबालीमा क्षति पुगेको आशंका गरिरहेका छन् । सुगर मिलले सिमरी नाला छेउमै फोहोर राखेको र त्यही फोहोर नालामा मिसिएर खेतमा क्षति पुगेको हुन सक्ने किसान रमेश राना थारूले बताए ।

नगरपालिकामा क्षेतिपुर्तिको माग राख्दै किसानद्वारा नगरपालिकामा ताला

पिडित किसानहरुले धानबालीको क्षेतिपुर्तिको माग राख्दै पुनर्वास नगरपालिकामा तालाबन्दी गरेका छन । बाढी पिडित तथा किसान संघर्ष समितिले नगरपालिकाको मुल गेटमै तालाबन्दी गरेका हुन् ।

स्थानीय भागेश्वर चिनीमिलको केमिकलबाट किसानको धान खेती नष्ट भएको बताउदै छानबिन गरि किसानलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गर्दै तालाबन्दी गरेका हुन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु