कञ्चनपुर । बेलौरी छोटी भन्सार कार्यालय परिसरमा सरसफाईका नाममा रुख कटानी सम्बन्धी थप अनुसन्धानका लागि वन कार्यालयले फेरी दुई जनालाई पक्राउ गरेको छ ।
कुण्डा सव डिभिजन वन कार्यालय पचकडियाले बेलौरी छोटी भन्सार कार्यालय परिसरमा झाडी सरसफाईका नाममा रुख कटानी प्रकरणमा दुई जना आरोपितलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिह विष्ट र पुर्व शिक्षक केशवराज जोशीलाई पक्राउ गरेको वन कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले झाडी सरसफाइका नाममा रूख काटेको प्रकरणमा हिरासिह विष्टलाई केशवराज जोशीलाई पक्राउ गरिएको बताए ।
उनका अनुसार बुधबारै उनीहरु बिरुद्धमा मुद्दा दायर गरिने छ । यस अघि बेलौरी नपा ६ का वडा अध्यक्ष भोजराज चौधरीलाई पक्राउ गरेर हाजिरी जमानीमा छाडिएको थियो । अर्का आरोपी मदन सिह बोहरा भने फरार रहेको वनले जनाएको छ । उक्त रुख फडानीको बारे अनुसन्धानको जिम्मेवारी कुण्डा सब डिभिजन वन कार्यालय पचकडियाका प्रमुख दिनेशकुमार यादवले पाएका थिए । गोलिया ११९ क्युफिट र दुई चट्ठा दाउरा वनले नियन्त्रण लिएको थियो । उनीहरु पाँचै जना बिरुद्धमा बिना ईजाजत रुख बिरुवा काटेको विषयमा मुद्दा दायर भएको छ । बुधबारै थुनछेक बहस हुनेछ ।