सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा विश्व सिमसार दिवस मनाइएको छ । ‘सिमसारःमानब हितको आधार’ भन्ने नाराका साथ सिमसार दिवस मनाइएको हो । उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावतले सिमसार क्षेत्र जोखिममा पर्दै गइरहेको बताएका छन् । ताल तथा सिमसार क्षेत्रको संरक्षणमा जुट्न आजको आवश्यक रहेको बताए ।
विभिन्न कारणले गर्दा घोडाघोडी क्षेत्रमा रहेका तालहरूको पानी पनि सुक्दै गइरहेको भन्दै रावतले चिन्ता व्यक्त गरे । वन क्षेत्रको संरक्षण नहुँदा सिमसार क्षेत्रहरू पुरिँदै गएको भन्दै नगरप्रमुख रावतले वन संरक्षणमा जुट्न पनि आग्रह गरेका छन् । सिमसार संरक्षण गर्न राज्यको मात्र जिम्मेवारी नभएको बताउँदै नगरप्रमुख रावतले यसमा सबै लाग्नु उनको भनाई थियो ।
घोडाघोडी र कर्णाली कोरिडोरमा रहेका ताल तथा सिमसारहरू नास हुँदै गइरहेको र नदी कटान, बाढी र डुबानले सिमसार क्षेत्र पुरिँदै गएको सहभागी वक्ताहरूको भनाई थियो । सिमसार जोगाउन सबैले आ आफ्नो ठाउँ बाट लाग्नु पर्ने उनीहरूको धारण रहेको थियो । सिमसार क्षेत्र नष्ट हुँदा जैविक विविधतामा पनि खतरामा पर्ने उनीहरूले बताए छन् । डिभिजन वन कार्यालय पहलमानपुर,बसन्ता संरक्षित वन परिषद् पहलमानपुरको सहयोग र घोडाघोडी संरक्षण तथा जन जागरण मञ्चले कार्यक्रम आयोजनामा विश्व सिमसार दिवस मनाइएको थियो ।
सिमसारको संरक्षण र यसको महत्त्वका बारेमा जनचेतना फैलाउने उद्देश्यले सन् १९७१ को फेब्रुअरी २ तारिखका दिन राम सार महासम्धी स्थापना गरिएको थियो । औपचारिक रूपमा नेपाल सन् १९८७ मा यस महासन्धिको सदस्य भएको हो भने सन् १९९१ देखि नेपालले यो दिवस मनाउन थालिएको हो । घोडाघोडी संरक्षण तथा जन जागरण मञ्चका अध्यक्ष हेम बमको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख खडक बहादुर रावत रहेका थिए ।
कार्यक्रममा बसन्ता संरक्षित वन परिषद् पहलमानपुरका अध्यक्ष पुष्कल बम, डिभिजन वन कार्यालय पहलमानपुरका वन अधिकृत राजीव चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष भरत बहादुर शाही, सामुदायिक बनका पदाधिकारी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो । घोडाघोडी संरक्षण तथा जन जागरण मञ्चका सचिव हरिलाल सापकोटाको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन विश्वनाथ देवकोटाले गरेको थिए ।