हरिश्चन्द्र बाग / दीपेन्द्र बस्नेत
कञ्चनपुर
०४६ को राजनैतिक परिवर्तन पछि देशमा बिकास निर्माणको सन्दर्भमा परिवर्तन भएको उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बताउनु भयो ।
बिहीबार कञ्चनपुरको बेलौरी बजारमा निर्माण सम्पन्न ढल निकास सहितको सडक तथा सडकबत्तीको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले स्थायित्व, समावेशिता र विकासमैत्री नीति अवलम्बन गरिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले राजनीतिक असहमतिहरू स्वाभाविक भए पनि ती विकासका अवरोध बन्न नहुने उल्लेख गर्नुभयो । “देशको समृद्धि हामी सबैको साझा लक्ष्य हो । हरेक दल र नेतृत्वले आफ्नो स्वार्थभन्दा माथि उठेर जनताको हितलाई प्राथमिकता दिनुपर्छ,” उहाँले भन्नुभयो । उहाँले देशभरि सहरी विकासका परियोजनाहरूलाई तीव्रता दिइएको दाबी गर्दै कञ्चनपुरको पूर्वाधार विकासलाई समेत सरकारले विशेष ध्यान दिने प्रतिबद्धता जनाउनु भयो ।
प्रतिनिधि सभा सदस्य तारा लामा तामाङले कञ्चनपुर क्षेत्र नं. १ को समग्र विकासका लागि सबै जनप्रतिनिधि, राजनीतिक दल, सरोकारवाला संघसंस्था र नागरिकहरू एकजुट भएर लाग्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले सडक र सडकबत्तीको निर्माणले बजार क्षेत्रको आवागमन र सौन्दर्यतामा सहजता ल्याएको भन्दै खुसी व्यक्त गर्नुभयो । बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले लामो समयदेखि अव्यवस्थित सडकले असोभनीय बजार अब सुन्दर र व्यवस्थित भएको उल्लेख गर्नुभयो । उक्त क्षेत्रका जनप्रतिनिधिहरू र नागरिकहरुले अन्य विकास निर्माणका योजनाहरूका लागि समेत उपप्रधानमन्त्री सिंहलाई अनुरोध गर्नुभएको छ ।