कञ्चनपुर, २९ साउन ।
कञ्चनपुरको लालझाडी गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण र जलवायु अनुकूलनमा स्थानीय सरकारको भूमिका विषयक बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकको अध्यक्षतामा बिहीबार सञ्चालित कार्यक्रममा बोल्दै उहाँले विपद्को बेला हुने समस्यालाई पालिकाको तर्फबाट आवश्यक सामग्रीहरूको व्यवस्थापन सहित पूर्वतयारीका साथ गर्नुपर्ने कामहरू गरिएको बताउनु भयो । बाढी पहिरो जस्ता प्राकृतिक विपद्को समयमा गर्नुपर्ने उद्धारको तयारी, हावाहुरी चलेको बेला आगजनी जस्ता घटनाहरू समेत हुन सक्ने भएको हुँदा तत्काल प्रतिकार्यको लागि दमकलको व्यवस्थापन, जङ्गली हात्ती आएको खण्डमा साइरनको व्यवस्थापन, त्यस्तै आकस्मिक जोखिमपूर्ण समस्या आएको बेला एम्बुलेन्सको व्यवस्थापन लगायतका विषयमा सङ्घसंस्थालाई सहयोगी भूमिका निर्वाह गर्न समेत अध्यक्ष बडायकले आग्रह गर्नुभयो ।
त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले विपद्को समयमा हुने जोखिम कुनै बेला पनि हुन सक्ने भएको हुँदा त्यसको न्यूनीकरणमा स्थानीय तह देखि विभिन्न संघसंस्थाहरूले आआफ्नो ठाउँबाट महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले कञ्चनपुरको दक्षिणी क्षेत्रका लागि चुरे हुँदै बग्ने नदीनालाहरू प्रमुख समस्याका रूपमा रहेको उल्लेख गर्नुभयो । २०६५ सालमा आएको बाढीले जनधनको ठूलो क्षति व्यहोर्नु परेको स्मरण गर्दै नगर प्रमुख चौधरीले त्यसयता लालझाडी गाउँपालिका र बेलौरी नगरपालिकामा धेरैजसो समस्याहरू उत्पन्न भएको बताउनु भयो । उहाँले प्राकृतिक विपद् सहित महामारीका रूपमा देखा परेको कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा समेत सबैको सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बेलौरी नगरपालिकाका उपप्रमुख चित्र कुमारी चौधरी, लालझाडी गाउँपालिकाका उपाध्यक्ष सत्यदेवी महरा, बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र प्रसाद चौधरी, लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र सिंह रावल, वडाध्यक्ष सहितका जनप्रतिनिधिहरू, प्राकृतिक स्रोत व्यवस्थापन केन्द्र, लिबर्डबाट लक्ष्मी भट्ट, एनएनएसडब्लुएबाट मीरा श्रेष्ठ लगायत सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । लालझाडी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष हेमराज रानाले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो भने सङ्घसंस्थाको तर्फबाट प्राकृतिक स्रोत व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक प्रवीण कुमार श्रेष्ठले विपद् जोखिम न्यूनीकरण, जलवायु अनुकूलन, स्थानीय तहको हक अधिकार लगायत विभिन्न विषयहरूमा छलफल र व्यवस्थापनको लागि कार्यक्रमका प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन एनएनएसडब्लुए लालझाडीका कोर्डिनेटर रोशन चौधरीले गर्नुभएको थियो ।