पुनर्वास फागुन १५
सवारी नियम पालन गरि सार्वजनिक सवारी साधन हाँक्दै आएका असल सवारी चालकहरुलाई कञ्चनपुरमै पहिलोपटक पुनर्वासको त्रिभुवनबस्तीमा नगद सहित सम्मान गरिएको छ ।
ट्राफिक नियम पालना गरि सडक दुर्घटना नियन्त्रणमा उल्लेख्य भुमिका निभाए बापत बेलौरी पुनर्वास डोकेबजार रुटका अटो चालकहरुलाई आइतबार सम्मान गरिएको हो ।
अस्थायी ट्राफिक प्रहरी कार्यालय त्रिभुवनबस्ती र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको पहलमा आइतबार एक कार्यक्रमको आयोजना गरि अटो चालकहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापा र बिशिस्ट अतिथी सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी प्रवीण धितालले टाफिक नियम पालना गरि सवारी हाँक्ने दस जना अटो चालकलाई सम्मान गरेका थिए ।
ट्राफिक प्रहरी द्वारा सम्मान पाउने हरुमा हरिलाल रिजाल , कल्लु राना , तुलाराम चौधरी , हेमन्तसिंह बिष्ट , दलबहादुर मल्ल , ओम कुमार सुनार , गणेश लामिछाने , इन्द्रबहादुर तामाङ , जितेन्द्र नेपाली र दिपक बहादुर बस्नेत रहेका छन् ।
दुर्घटना रोक्न अटो चालकहरुको भुमिका महत्वपूर्ण हुने र नियम पालना गरि सवारी चलाउनु हुने अटो चालकलाई सम्मान गर्न पाउँदा खुशी लागेको कार्यक्रमका प्रमुख अतिथी मेयर थापाले बताए ।
सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी धितालले भने -सडकमा सवारी चलाउदा हुँदै नहुने घटना पनि हुन सक्छ चालकले यत्ती कुरा सोचेर सवारी हाँके दुर्घटना नियन्त्रणमा ठूलो योगदान रहन्छ । उनले भने हामीले गति संग होइन सुरक्षा संग प्रतिस्पर्धा गर्नु पर्दछ ।
ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले सञ्चालन गरेको कार्यक्रममा अस्थायी ट्राफिक प्रहरीपोष्ट त्रिभुवनबस्तीका प्रमुख प्रहरी सहायक निरीक्षक हिक्मतसिंह महताले स्वागत गरेका थिए ।