कञ्चनपुर : आज ११२ औँ अन्तराष्ट्रिय महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईँदैछ ।सोही अवसरमा कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० मा रहेको श्री फारवेस्ट ईन्टरनेशनल स्कुलले पनि विभिन्न कार्यक्रमको आयोजना गर्दै अन्तराष्ट्रिय महिला दिवस मनाएको छ ।
मङ्गलवार बिहान प्रभातफेरी तथा अतिरिक्त क्रियाकलापको आयोजना गर्दै ११२ औँ अन्तराष्ट्रिय महिला दिवस मनाइएको सो विद्यालयका प्रधानाध्यापक नरेन्द्र गुरुङले जानकारी दिए ।
महिलाहरूको सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता गर्ने नारालाई आत्मसाथ गर्दै विद्यालयले पनि अन्तराष्ट्रिय महिला दिवस मनाएको जानकारी दिए । यस वर्ष नेपालले ‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय लक्ष्य तय गरेको छ ।
नारी मुक्ति आन्दोलनका अभियन्ताहरूको पहलमा सन् १९१० को मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्न तथा महिला हक अधिकार स्थापित गर्न सङ्घर्ष सुरु गरेको दिनका रूपमा हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिएको छ ।
नेपालको संविधानले पनि महिलाउपर हुने सबै प्रकारका भेदभावहरूको अन्त्य गर्दै समानुपातिक, समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ ।