काठमाडौं । नेपाल प्रेस युनियनले सञ्चारमाध्यमबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले दिएको आलोचना गरेको छ । आइतबार साँझ एक प्रेस विज्ञप्तिमार्फत प्रेस युनियनले आफ्ना कमी–कमजोरी ढाकछोप गर्न लामिछानेले सञ्चार माध्यम, सञ्चारकर्मी र समग्र पत्रकारिता क्षेत्रलाई बद्नाम गर्ने उद्देश्यले प्रमाणहीन आरोप लगाएको बताएको छ ।
“पूर्व सञ्चारकर्मी लामिछानेले कुनै आधार र प्रमाणबिना सञ्चारमाध्यम, सम्पादक र समग्र पत्रकारितालाई बद्नाम गर्ने गरी दिएका अभिव्यक्ति खेदजन्य छन् । आमनागरिकबाट जनमत प्राप्त गरेर आएका एक राजनीतिकर्मीले दिएका अभिव्यक्ति अपरिपक्व र अराजनीतिक छन् भन्ने बुझाइ युनियनको छ,” विज्ञप्तिमा भनिएको छ ।
लामिछानेले पत्रकारितालाई दुस्मनको जस्तो व्यवहार गरेर मिडियालाई घेराउ गर्नेसम्मको अभिव्यक्ति दिनु अशोभनीय भएको महासंघको भनाइ छ ।
“एउटा परिपक्व राजनीतिकर्मीबाट यस्तो धम्कीपूर्ण भाषा प्रयोग हुने कल्पना समेत गर्न सकिँदैन । प्रमाणहीन आरोप लगाएर नेपाली सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठाउने काम नगर्न युनियन आग्रह गर्दछ । सञ्चार माध्यमले प्रकाशन गरेका सामग्रीको बारेमा चित्त नबुझे कानुनी उपचारमा जान सक्ने विकल्प हुँदाहुँदै सञ्चारमाध्यमकै मानमर्दन गर्नु निन्दनीय छ,” विज्ञप्तिमा भनिएको छ ।