कमरेड शब्द स्पेनिश भाषाको कामाराडाबाट आएको रहेछ । जसको शाब्दिक अर्थ कोठामा सँगै बस्ने साथी अर्थात आफ्नो सुख-दुस्खमा निर्वस्त्र रूपमा देखेको मर्दा, पर्दा सबै भन्दा बढि काम लाग्ने मित्रको रूपमा लिईन्थियो । फ्रान्समा समाजवादी र मजदुरहरू बिच दुरी बढेको कारणले आन्दोलनको रूप लियो, पछि गएर त्यही कमरेड शब्दले राजनीतिक रंग फ्रान्सेली क्रान्तिबाट पाएपछि समाजवादी र मजदुरहरू बिच सम्वोधन र समन्वय गर्नका लागि प्रिय शब्द बन्यो–कमरेड ।
कमरेड शब्दको साइनो रुसी भाषासँग थिएन तर यसको विश्वभरका कम्युनिस्टीकरणका लागि रुसी क्रान्तिको मुख्य हात रहेको पाइन्छ । सोभियत रुसमा क्रान्तिकारीहरू एकअर्कालाई सम्वोधन गर्न ‘तबारिस’ शब्दको प्रयोग गर्थे ।
‘कम्युन’ शब्द अंग्रेजी शब्द भएको र त्यसको अर्थ साझा अर्थात सहकारी हुने हुदा, श्रमिक मजदुरहरूले साझा खेतिपाती गरी साझा उत्पादन, समान बितरण र उत्पादित बस्तुमा साझा स्वामित्वलाई प्रथामिक्ता दिदै गए । साझा स्वामित्व रहेको समुदाय अर्थात जनपद नै पछि गएर कम्युनिजम बन्यो,कम्युनिजममा व्यक्तिको धन सम्पत्तिलाई स्विकार गर्दैनथ्यो, सबै सरकारीकरण गरिनु पर्छ ,उत्पादन र बितरणमा समान हुनुपर्छ भनेपछि कोही धनी र कोही गरिब नहुने भए, त्यस्को प्रभाव विश्वभरका श्रमिक मजदुरहरूमा पर्न थाल्यो, ‘दाल भात तरकारी, जिउ ज्यान सरकारी’ भने जस्तै उनीहरू आकर्षित बन्दै गए र देशको शासन सत्ता श्रमिक मजदुरको हातमा ल्याउन बन्दुकको नालबाट मात्र प्राप्त गर्न सकिन्छ, भन्ने गरिन्थ्यो । साथै उनीहरूलाई उर्जा भर्न ‘लालसलाम कमरेड’ भन्ने शब्दको बढि प्रयोग हुन थालेको पाइन्छ । त्यही कम्युनिजम नै आजको कम्युनिस्टमा परिणत भएको पाईन्छ ।
नेपालका कृषि बैज्ञानिक भनेर चिनिने मदन राई आफ्नो एक अन्तर्वार्तामा भन्छन, ‘कम्युनिष्ट राष्ट्र तानजनिया गएकोबेला माक्सवादीबाट सिकेको अनौठो कुरा के भने धनी र गरिव बिचको खाल्डो त देखिएन सरकारी घर बनाएर दुई÷तीन कोठाका दरले बाँडियो तर त्यस घरको लिपपोत, स्याहार सम्भार कस्ले गर्ने मान्छेको जात लोभिपापी हुने भएपछि कार्यान्वयन हुन नसक्दा श्रम खेर जादो रहेछ ।’
त्याहाको सरकारका खरिदार,सुब्बालाई खाद्यान्न बितरण गर्ने जिम्मा दिएको रहेछ, काम गरेर गएका श्रमिकहरू खाद्यान्न लिन जान्छन, खाद्यान्न दिने चाहि स्विटर बुनेर बसिरहेका हुदा रहेछन र भन्छन भोलि आउ, आज चाहिने खाद्यान्न भोली लिएर के काम, श्रम गर्याे खान नपाउने अवस्था, यो प्रकृतिको भ्रष्टाचार हुदो रहेछ, श्रममा पनि सबै श्रमिकको एकनास श्रम गर्ने शरीर हुदैन, कसैले एक फोक्टा त कसैले पाँच फोक्टा त कसैले दश फोक्टा खन्न सक्छन, खाद्यान्न बितरण चाहि समान हुने भनेपछि माक्सवादबाट सिकेको अनौठो कुरा, ‘सकेजति गर, चाहिएजति लेउ’ ।
त्यसो हुँदा किन श्रम बढि गर्ने, त्यसो हुदा बढि गर्ने र नगर्ने बिच फरक नभएपछि, एक, पाँच र दश फोक्टा खने पनि त्यही दुई किलो पाईन्छ भने पाँच र दश फोक्टा खन्न सक्ने मजदुरले पनि एक फोक्टा खन्न थाले । बितेका बाह्र चौध बर्षमा त्यो राष्ट्र आर्थिक रूपमा टाट पल्ट्यो, यस्ता प्रकारले कम्युनिष्ट राष्ट्रहरू भत्कदै गए ।
उता सोभियत रुसमा पनि राष्ट्रपति मिखाएल गोर्भाचोभले आफ्नो शासन कालमा पेरोस्त्रोईका र ग्लास्नोस्त सिद्धान्त अपनाए पछि त्यस्को केही बर्ष भित्रमा नै सोभियत संघ बिघटन भई १६÷१८ टुक्रामा बिभाजित भएको हामीले देखेका छौं ।
विश्वभरका श्रमिक मजदुरहरू एक हौ भन्ने बुझाउनका लागि मुठ्ठी बाँधेर हात उठाएर अभिवादन कमरेड भनेर सम्बोधन गर्न थालियो,हात मिलाउदा पनि एक किसिमको तरङ्ग आउने गथ्र्यो ।
चल्तीको ‘जय नेपाल दाजु’ सम्बोधनकै बीच पुष्पलालको नेतृत्वमा नेपालमा पहिलोपटक विसं २००६ वैशाख १० गते नेकपा स्थापना गरि ‘लालसलाम’ को सम्बोधन भित्र्याएका थिए । पार्टी स्थापना गर्दा कोलकाताको श्यामबजारस्थित एक भवनमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ रहेका थिए । यसरी विश्वभरिका श्रमिक मजदुर एक हौ भन्ने नाराका साथ मुठ्ठीबाँधेर ‘लालसलाम कमरेड’ भन्ने कम्युनिस्टहरू आज एक हुन सकेनन विश्वभरका कम्युनिस्टहरूले प्रयोगमा ल्याएको उही ‘हसिया हथौडा’ झण्डा छ । त्यसैले मुठ्ठीबाँधेर अभिवादन गरेको प्रयोगले विश्वभरका श्रमिक मजदुर एक छौ भन्ने आवाज पुष्टि भएको पाउँदैनौ ।
मुठ्ठीबाँधेर ‘अभिवादन कमरेड’ शब्दले विश्वभरका श्रमिक मजदुर एक हुन किन सकेनन यो एउटा ठूलो प्रश्न खडा भएको छ । विश्वभरका श्रमिक मजदुरलाई बाहिर राखेर हेर्दा, नेपालमा किन आज एक हुन सकेनन ती श्रमिक मजदुरहरूले खोज्ने बेला भएको छ । यसरी पुष्पलालले स्थापना गरेको नेकपा विभिन्न चरणमा फुटेर विभिन्न कम्युनिष्ट पार्टी बनेका थिए । पछिल्लो पटक २०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिली पुनः नेकपा पार्टी बनेको भएपनि पार्टी भित्रको चरम विवादले फेरी फूटेर सर्वोच्च अदालतको फागुन २३ गतेको निर्णयले पुर्ववत एमाले र माओवादी केन्द्रमै फर्किएका छन भने नेत्रबिक्रम चन्द बिप्लव, मोहन बैद्य, नारायणमान बिजुक्छे, चित्रबहादुर केसी आदि कम्युनिस्ट पार्टीहरू बाहिर रहेपछि मुठ्ठी बाँधेर अभिवादन गरेको शब्दले जनाउने हामी श्रमिक मजदुर किन एक हुन सकेनौ ? कम्युनिष्ट बिचारधारामा आस्था राख्ने कार्यकर्ताहरू र आम कम्युनिष्टलाई मतदान गर्ने मतदाताहरूले सोच्ने र बिश्लेषण गर्ने समय आएकोछ । नेताहरू त सत्ताको खेलमा नै रुमलिन पुगेका छन, उनीहरू त्यसैको खेलमा समय दिईरहन्छन, मतदाता नागरिकको अवस्था के छ ?
उनीहरूको चाहाना के छ, स्वास्थ्य शिक्षाको अवस्था कस्तो छ, अतिआवाश्यक बस्तुहरू कसरी पूर्ति गर्ने बिकासलाई कसरी कुन मोडेलबाट अघाडी बढाउने तिर ध्यान नगएपछि जनता आक्रोशित छन र भन्छन, ‘कम्युनिस्ट पार्टीका नेताहरूले पुरा नहुने झुटा आश्वासन हामीलाई दिदा रहेछन,तिनै आश्वासनलाई मतदाताहरूले बिश्वास गर्नाले आजको अवस्था आएको हो ।’
नेताहरूको चिप्लो बोलि र ब्यबहारले नागरिकको अवस्था दिनप्रतिदिन तल झर्दो छ भने देशमा भएको व्यापक भ्रष्टाचारले टाट पल्टने अवस्था आएको छ । हिजोको दिनमा लाल सलाम भन्नेहरूको दुईतिहाइको सरकार थियो तर, बन्द मुठ्ठी किन कसिलो भएन ? हात किन क्रान्तिकारी शैलीमा माथि उठिरहेको छैन ? हात मिलाउँदा हुने चुम्बकीय शक्ति खोइ ? कता हरायो लाल सलामको जोश ? सर्वहारा विचार कता लुप्त भयो ? श्रमिक वर्गको चिन्ता कसले गर्ने ? शोषित वर्गबारे कसले सोच्ने ? श्रमिक मजदुर एक हौ भन्ने आफुलाई क्रान्तिकारी कम्युनिस्ट नेता ठान्ने नेताहरूले नै श्रमलाई बिभाजन मात्र हैन, समान आय र समान बितरण गरिनेछ भन्नेले तल्लो तहका मजदुरहरूलाई नै सरकारले तोके भन्दा तल पारिश्रमिक दिएर आफुलाई उदाङ्ग पारिरहेका छन र गर्वका साथ भन्छन हामी कम्युनिस्टहरू हौ, हामीले कसैलाई अन्याय गर्न पनि दिदैनौ र गर्नेपनि छैनौ । के सबै नेपाली जनताले एकैनासको खान पाएका छन त ? यहाँ ठूलै प्रश्न चिन्ह खडा हुन्छ । तपाई हामी सबैको मनमा उत्तर खोज्दै कालोबादल मडारिनु पनि स्वाभाविक नै हुन आउँछ ।
यो त एउटा जेटिएले आफ्नो अध्ययन पुरा गरिसकेपछि अलैंची कहाँ फल्छ भनेर खोजि गर्दा थाहा नभएको जस्तो होला नेपाली जनतालाई । कुरा गर्ने साझा तर सत्तामा पुगेपछि गरौ आधा÷आधा भनेर मिलिभगत गरेर पचाए जस्तो भएन र ? नेताले आफ्नो भुडी देखि पानी ट्याङ्की सम्म भर्ने,तर नेपाली जनता भने खाली पेट हावा भरिएर ग्यास्टिकको बिरामी हुनुपर्ने ? कस्तो विडम्बना हो यो हाम्रो देशको समानता । हुने हो भने व्यबहारमा लागु हुनुपर्ने होइन र ?
त्यसैले मुठ्ठीबाँधेर ‘अभिवादन कमरेड’ भनेर हामीलाई बिश्वभरका हैन, नेपालभित्रका श्रमिक मजदुर एक हुने भएछौ भन्ने कुरा कमसेकम अरू स–साना कम्युनिस्ट पार्टीलाई बाहिर राखेरभए पनि दुई ठूला कम्युनिष्ट पार्टीहरू एक हुनेभए भनेपछि हामीले थोरै सहयोग गर्दा नेपालमा पनि कम्युनिष्ट पार्टीको दुईतिहाईको सरकार गठन हुने भयो, भनि गर्व गरेका थियौ ।
निर्वाचनमा दुई कम्युनिस्ट पार्टीहरू निर्वाचनमा तालमेल गर्ने भनि नेकपा एमाले ६० प्रतिशत र माओवादी केन्द्र ४० प्रतिसत सिट सहित अन्य कम्युनिस्टहरूलाई बाहिर राखेर चुनावी तालमेल गर्ने र निर्वाचनपछि एकिकरण गर्नेगरि निर्वाचनमा भाग लिएका थिए । २०७४ मा प्रदेसभा सदस्य र सङ्घीय सदस्यको निर्वाचन भयो, सङ्घिय संसदमा समानुपातिक र प्रत्यक्ष गरि नेकपाले १ सय ७४ सिटमा बिजयी बनेर केपी ओलीको नेतृत्वमा सरकार बनाई सरकार चलाई रहेको थियो । त्यसैगरि छ वटा प्रदेशमा समेत नेकपाले एकलौटी सरकार बनाएको थियो । ४१ महिना नपुग्दै हामीलाई देखाएको सपना दुई कम्युनिस्ट पार्टीका ठूला नेता खड्गप्रसाद ओली र पुष्पकमल दाहाल प्रचण्डले पुरै तुहाई दिएका छन ।
केपी ओलीको अकर्मण्यताले २०७७ पौष ५ र २०७८ जेठ ८ गतेको संसद बिघटनले संङ्घिय सरकार मात्र हैन छ वोटा प्रदेश सरकारबाट समेत बाहिरिन पुगेपछि हामीलाई लाग्न थाल्यो त्यो हसिया हथौडा झण्डामा गोलबन्द भएर बसेर हामी एक हुने रहेनछौ, हामीलाई नेतृत्वले झुक्याएर त्यही झुक्याएको कुरालाई पत्याउदै कम्युनिष्ट पार्टीमा लाग्नु ठूलो भूल भयो भन्दै धेरैजसो कम्युनिस्ट साथीहरू पार्टीबाट मोह भङ्ग भएको बिचार राखि रहेको पाईन्छ ।
हामीले एक्काईसौ शताब्दीमा पनि कम्युनिस्ट पार्टीका नेतृत्वले झुक्याएको कुरा पत्याउदै उक्त पार्टीलाई नै बिजयी बनाउन कुद्नु,हिड्नु भनेको हामीले कम्युनिस्ट पार्टी बुझेका रहेनछौ, किन अर्को पार्टीको भाषण सभामा जान हुदैन भन्दा रहेछन भने अरू पार्टीको कुरा बुझे भने कम्युनिस्ट पार्टीका सदस्य नरहने भए भन्ने उनीहरूलाई चिन्ता लाग्दो रहेछ ।
अन्त्यमा कम्युनिष्ट पार्टीको सदस्य बनेर कामगर्दा समेत ‘अभिवादन कमरेड’ को शाब्दिक अर्थ नबुझेको कारणले हामीले धेरै दुःख पायौं ।
त्यसैले सगरमाथामा पुग्न जति सजिलो छ, त्यहाँ लामो समयसम्म टिक्न त्यत्तिकै गाह्रो हुन्छ भन्ने बिर्सिएकाछौ र उनीहरूले दिएको झुटा आश्वासनलाई मुटुभित्र राखेर फेरिपनि गर्दैछौ मुठ्ठी बाँधेर ‘अभिवादन कमरेड’ ।