भनिन्छ नि शिक्षा नै ज्ञान हो । हो यहि नारालाई आत्मसात गर्दै हरेक मानिस अगाडि बढिरहेका हुन्छन् । १ देखि १० कक्षा (माध्यमिक तह) सम्म १० वर्ष ,प्रविणता पत्र तह २ वर्ष ,स्नातक तह ४ वर्ष,स्नातकोत्तर २ वर्ष गरि १८ वर्ष समय खटाउनु परेको अवस्था छ । अझ भन्ने हो भने बोर्डिङ पढेको भए २० वा २१ वर्ष जीवनको यति लामो समय शिक्षामा नै खर्च गर्नु परेको देखिन्छ ।
नेपालीको औसत उमेर ७१.२ वर्षको हिसाबले साढे ३ भागको १ भाग जिन्दगी पढाइलाई दिँदा पनि स्वरोजगार, रोजगार भइँदैन, पैसा कमाइँदैन तर ६ महिना भाषा सिक्दा EPS परीक्षा दिएर कोरिया गई कमाउन सकिन्छ। पढाइलाई सीप, सीपलाई पूँजी, पूँजीलाई उद्यम, उद्यमलाई रोजगारी, रोजगारीलाई, उत्पादन, उत्पादनलाई बजार, बजारलाई व्यापारसँग जोड्न निकै ढिलो भैसक्यो।
अहिलेको शिक्षा प्रणाली पूर्णतः ध्वस्त बनाएर Build Back Better को शैलीमा पुनर्निर्माण गर्न ढिलो गर्नु हुन्न। सीप, दक्षता, कला, ज्ञान, प्रविधि, व्यवसायमूलक, जीवनोपयोगी, व्यवहारिक, रोजगारमूलक शिक्षा : आजको मूल आवश्यकता हुन पर्यो, पहिलो प्राथमिकता बन्नु पर्यो। Demographic Window of Opportunity (DWO; जनसांख्यिक लाभ) को उपयोग गर्ने काइदा पनि यही हो। राज्यले सबै प्रशासनिक/संचालन फजुल खर्चलाई कटौती गरेर युवाहरुलाई तिखार्न, निखार्न, सिकाउन, बिकाउन, टिकाउनमा लगानी गर्नुपर्ने; शिक्षाको कायापलट गर्नमा खर्चनुपर्ने बेला आएको छ।
यस्तो सैद्धान्तिक, बेरसिलो, अनुपयोगी, निकम्मा पढाइ पढेर पार लाग्दैन भन्ने बुझेर नै आज विद्यार्थीहरु पढाइ छाडिरहेका छन्, देश छाडिरहेका छन्, शिक्षालयहरु रित्तिरहेका छन्। विश्व कहाँ छ हामी कहाँ छौँ भन्ने समीक्षा, विश्लेषण, अध्ययन, अनुसन्धान गर्न र निचोड निकाल्न राज्यले देर गर्न हुँदैन। देरले अधेर निम्त्याउँछ।´
मोहन खड्का
अध्यक्ष
यूनाईटेड ग्रुप धनगढी