September 13, 24
24.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

ढुङ्गे पहाडको फन्को

मा प्रकाशित

‘दाइ ! सात बजे हिड्छ जीप तयार हुनुहोला है’ होटलवाला भाइले भनेका थिए हिजै । हामी समयमैं तयार भयौं तर जीप हिड्ने अझैं सुरसार छैन । एउटा जीपमा कुइरे भए चार जना र कुइरे नभए छ जना कोचेर लाने रहेछन् । सबै सिट नभरुञ्जेल जीप नहिड्ने रहेछ । युरोप, अमेरिकातिरबाट आएका टुरिष्ठलाई कि कुइरे, कि खैरे भन्ने चलन देखियो यतातिर ।

यो २०७९ साल चैत १३ गते सोमवार बिहानको कुरा हो । सिट भरिएपछि बल्ल हिड्यो जीप । घडीमा आठ बज्दैछ ।

बेंसीशहरको मनाङ्गे चौतारोलाई छोडेर अगाडि बढ्दै गएपछि शहरी उकुसमुकुस खुकुलो हुँदै गयो । यहाँ पनि सडक चाक्लो पार्ने काम हुँदै रहेछ । सडक कतै भत्केको, कतै भत्काइएको, कतै बाटोमैं ढुङ्गा थुपारिएका, कतै बालुवा राखिएका, कतै तारजाली फालिएका, कतै ढल बन्दै गरेका, कतै पुल बनाउँदै गरेका दृश्यले निकै परसम्म हाम्रो गतिलाई अवरोध गरिरहे । बेंसीशहरबाट मस्र्याङ्दी नदीलाई दाहिने पारेर त्यही मस्र्याङ्दीकै छेवैछेउ उँभोउँभो गैरह्यो बाटो । पाङ्खोलादेखि खुदीबजार नपुगुञ्जेल बाटोको धुलाम्य वातावरणले हामीलाई वरपरको प्राकृतिक छँटासित राम्ररी रमाउनै दिएन ।

खुदीबजारबाट मस्र्याङ्दी नदीलाई नाघेर पारि गयौं । बेलीब्रिज रहेछ यो । यहाँ मस्र्याङ्दीबाट बिजुली निकाल्ने योजनाले आफ्नो गति लिइरहेको छ । बाटोमा एउटा लामै सुरुङ् पार ग¥यौं र भुलभुलेमा दाखिल भयौं । मस्र्याङ्दीको मलिलो फाँटमा छरिएको भुलभुलेका तरकारी बारीहरुले ङादी नपुगुन्जेल रमाइलो अनुभव दिइरहे । ङादी यो बाटोको अन्तिम रसिलो बस्ती हो । यहाँ मस्र्याङ्दीलाई थुनेर बनाइएको ठूलो जलाशयले आँखा वरिपरि शीतलता पस्किरह्यो । यहीबाट मस्र्याङ्दीको पानीलाई सुरुङ्भित्रबाट लगेर तल खुदीनिर फेरि मस्र्याङ्दीमैं खसाली टर्वाइन घुमाएर बिजुली निकालिएको छ रे !

ङादीबाट बेलिब्रिज तरेर फेरि वारि आयौं र मस्र्याङ्दीकै देब्रे किनारमा दुगुर्न थाल्यौं । बाटोमा छाप, स्याङे, श्रीचौर र चिप्ला नामका ससाना ठाउँ आए, गए । श्रीचौरसम्म खासै अफ्ठ्यारो हैन बाटो । साँगुरा फाँट, साँगुरा बस्ती र साँगुरा बस्तीका माझैबाट चिरेर बनेका साँगुरा सडकमा साँगुरै गरि कुदिरह्यो जीप पनि । बस र ट्रक भने यो बाटोमा हिड्न गाहारै हुने देखियो । बाटो तलतल गयो भने कतैकतै मस्र्याङ्दीले छङ्छङ् गरेको सुनिन्छ पनि । बाटो माथिमाथि लाग्यो भने मस्र्याङ्दीको स्वरमात्र हैन मस्र्याङ्दी पनि हराउँछिन् र देखिन्छ पारिपट्टिको नाङ्गो पहाडमात्रै ।

घोप्टेझरना भन्ने ठाउँमा एकछिन जिउ हलुङ्गो पार्ने निहुँ गरेर ओर्लिएका हौं । नत्र मस्र्याङ्दी वारिपारिका दुईटा ढुङ्गे पहाडलाई कहिले वारिबाट त कहिले पारिबाट अंगालो हालेर एकोहोरो कुदिरह्यो जीप । घोप्टेझरनानिर ओर्लेको बेला गुरुप्रसाद बुलबुलले थुप्रै फोटोहरु आफ्नो मोबाइलमा कैद गर्न भ्याइहाले । चिप्लामा पनि पारिपट्टि विद्युत्त उत्पादन गर्ने परियोजना देखियो । चिप्लाबाट जगत हुँदै च्याम्चे पुग्दा खाना खाने बेला भैसकेको पत्तै भएन । बाटोमा उफ्रिदैउफ्रिदै यात्रा गर्दा जीपभित्र बसिरहे पनि हिडेको भन्दा बढी भोक लाग्दोरहेछ । हामी पनि अचम्मैसित भोकायौं । च्याम्चेको साँगुरो खोंचमा एउटा मात्रै रहेछ फराकिलो होटेल । होटेलबाट छर्लङ्गै देखिने च्याम्चे झरनाको दृश्यले प्यास पनि मेटाइदियो । थकाई पनि मेटाइदियो । त्यस होटलको खानाभन्दा पनि खुवाईले तृप्त भयौं । खुवाईभन्दा झन् च्याम्चे झरनाको दृश्यपानले खाना खाएपछि सौंफ खाँदाको भन्दा पनि मीठो अनुभूति गरायो ।

जीपका चालक सूर्य गुरुङ पनि फरासिला नै रहेछन् । कुइरेहरु बसेको भए डबल भाडा लिन पाइने थियो । आज आफ्नो जीपमा कुइरे यात्रु नभएकोले अलि खिन्न थिए अघिसम्म । हिड्दै जाँदा, बोल्दै जाँदा माया बस्छ भनेझैं उनी पनि हामीसित बिस्तारै खुल्न लागे । जीपको चालकमात्र नभएर हाम्रा पथप्रदर्शक पनि बनिहाले उनी । वरपरका दृश्यहरुको बारेमा जानेसुनेको वर्णन गरेर हामीलाई चिनाउँदै लगे । ड्राइभर मिजासिलो र अरु यात्रुहरु रमाइला भेटिए भने यात्रा झन् रमाइलो हुन्छ । आज पनि रमाइलो हुँदै गयो ।

हाम्रो जीपको पछिल्लो सिटमा दुई जना युवाहरु बसेका थिए । एकजना त त्यति बोलेनन् । अर्का पातला दाढी पालेका युवा भने फिस्सफिस्स हाँस्दै बोले बेलाबेला । सामान्य कुरा सोधपुछ हुँदा ती दाढी पालेका युवाले मलाई अचम्मसित आकषर््िात पारिरहे । उनी मिजासिला लागे । अहिलेको समयमा युवाहरुको ओंठबाट हाँसो हराइसकेको छ । अचेलका युवाहरुको व्यवहारमा उस्तो आत्मियता र बोलीमा मीठास भेटिन्न । तर यी युवाले मलाई अचम्मसंग लोभ्याए । च्याम्चेमा खाना खान ओर्लिदा उनीसित परिचय नगरिरहन सकिन । ज्ञानदीप विश्वकर्मा रहेछ यिनको नाम । बागलुङ् रहेछ घर । यही मनाङको जिल्ला प्रशासन कार्यालयमा सुब्बाको पदमा कार्यरत रहेछन् । लोकसेवामा नाम निकालेर भर्खरै मनाङ् आएका उनी पहिलोपल्ट घर पुगेर फर्किदै रहेछन् । उनी र ड्राइभरसित अँगालो हालेर फोटो खिचें । ‘तपाइँको व्यक्तित्वको मिजासिलोपनलाई हराउन नदिनु होला है बाबु’ भन्दा नवदुलही लजाएजसरी लजाएर हाँसे उनी । युवक लजाएको पनि निकै सुन्दर पो देखिदो रहेछ ! उनी हाँस्दा च्याम्चेको श्वेत झरना पृष्ठभूमिमा छङ्छङ् गर्दै मुस्कुराइरह्यो ।

हिड्यौं च्याम्चेबाट पनि । एकैछिनको दुगुराईपछि बाटोमा म्यार्दीखोला आइपुग्यो । चालक बोले— ‘बल्ल आरम्भ भो सर मनाङ् जिल्ला’ । मस्र्याङ्दीकै छेउछेउमा ढुङ्गे पहाडलाई फन्को मादैं घुमिरहेको छ बाटो तर म्यार्दीको पुल तर्ने बित्तिकै भूगोलले एक्कासी आफ्नो रुप फेरेजस्तो ग¥यो । प्रकृतिको श्रृङ्गारमा अर्कै रङ् थपिएको आभास भयो । पहाडी पाखाको हरितिमा रङ् हराएर ढुङ्गेलो रङ् थपिएजस्तो लाग्न थाल्यो ।

‘बेसीशहरबाट पैतिस किलोमिटर काटियो बाटो’ उनै चालक भन्दैछन् ।
‘हामीले कम्तिमा सय किलोमिटर जति बाटो काटियो होला भन्ने सोचेको थिएँ मैले त’ भनिहालें मैले पनि !
‘पहाडमा थोरै दुगुरे पनि धेरै दुगुरेजस्तो लाग्छ, जीपको स्पीड हेर्नु भएन बीसबाट तीस जानै पाउन्न’ सूर्यले बोलेपछि टाउको हल्लायौं हामीले ।

मनाङ् लागेपछि बस्ती पातलिदै गए, पहाड नाङ्गीदै गए । हरियाली हराउँदै गयो । ठाडा भीर र भिराला चट्टानहरु उभिएर पहरा दिन थाले मस्र्याङ्दीलाई । म्यार्दीको पुल तरेपछि एउटा भयङ्करको ठाडो भीर आयो । आकाशको घामलाई पनि छेकिरहेको छ यो चट्टानले । त्यही भीरलाई ताँछेर बनाइएको घुमाउरो बाटोमा जीप ढलीमली गर्दै अघि बढेपछि डरले आफै बन्द भैहाले आँखा । जीपले ठूलै फन्को मा¥यो त्यस ढुङ्गे भिरमा । गाडी दोहोरो ओहोरदोहोर गर्न पनि नमिल्ने साँगुरो बाटोबाट तलतिर हेर्दा मस्र्याङ्दी कतै लुक्न गएकी छन् जस्तो भान प¥यो । निकै परसम्म ठाडो भीरले अत्यास लगाइरह्यो ।
‘यो बाटोमा सबैभन्दा कहालीलाग्दो ठाउँ यही हो सर’ यो ठाउँको चिनारी दिदै छन् चालक पनि ।

पारिपट्टि मस्र्याङ्दीको खोचमा एउटा रमाइलो गाउँका रुपौला दृश्यहरु छरिए । मनको अत्यास हराएर हरियो आर्कषण फैलियो मुटभरि । त्यस गाउँको माथिमाथि हामीले बाटोभरि हेर्दै आएकाभन्दा पनि झन् अजङ्गका चट्टान उभिएका छन् । तर यो सानो गाउँ हरिया रुखहरुको माझमा मुसुक्क मुस्कुराइरहेको छ । बगिरहेको मस्र्याङ्दीलाई चपक्क अँगालो हालेर त्यही अठ्याएर राख्न खोजिरहेको छ त्यस गाउँले ।

‘ताल भन्ने गाउँ यही हो सर’ फेरि बोले चालक सूर्य गुरुङ् । मस्र्याङ्दी नदी सो गाउँको छेउछेउबाट बगिरहेको छ । गाउँलाई वरिपरिबाट बालुवाका थुप्राहरुले घेरेका छन् । खेतीपाती गर्ने जमिन पनि कतै देखिएन । माथिपट्टिको भिरालो जमिनमा सानो गुम्बा देख्यौ । ताल वा पोखरीको आकृति कतै देखिन्न । नदी, रुख, बालुवा र चट्टानमात्रै भएको गाउँको नाम पनि ताल ! यो गाउँको नाम ताल किन राखे होलान्? जिज्ञासा उठ्यो मनमा ।
ताल गाउँको पल्लोपट्टि उभिएको ढुङ्गे पहाडमा क¥याङम¥याङ् धर्साहरु उँभोउँभो गैरहेका छन् । माथितिर जाने बाटोका रेखा होलान् कदाचित् ती ! चढेर नसकिने उत्तुङ्ग पहाडको पुछारमा थपक्क बसेको त्यो गाउँलाई त्यही पहाडको अग्लाईले थिचिरहेकोजस्तो आभास भयो । यो गाउँलाई वारिपारि उभिएका अग्लाअग्ला भिराला ढुङ्गे पहाडहरुले कुन बेला थिच्ने हुन्? जस्तो लागिरह्यो । कुन बेला मस्र्याङ्दी उर्लेर बगाउने हो? जस्तो भैरह्यो । माथिबाट हेर्दाको यो अत्यासलाग्दो दृश्यबाट अनभिज्ञ भएर थपक्क बसिरहेको छ ऊ भने । गाउँभरि हरिया राता पहेंलो रङ्का टिनले छाएका घरका ताँती देखिए । ती टिनहरु घाममा टलक्क टल्किएर मुस्कुराएको छ गाँउ । हेर्दा ताल गाउँ ठूलै देखियो । आधारभूत भौतिक सुविधा पनि पुगिसकेका छन् । तर यो कसैको बाटो पर्खिरहेको मान्छेजस्तो उदासउदास देखियो हामी हिडिरहेको बाटोबाट हेर्दा ।

फेरि त्यस्तै भिराला चट्टान खोपेर बनाइएको बाटो आयो । फराकिलो ठाउँ र सम्म ठाउँ देखिन छोडेपछि मस्र्याङ्दी पनि भीर मुनी लुकि हाल्दी रहिछन् । धारापानी भन्ने ठाउँ नआउन्जेल भिराला चट्टानी पाखाले अत्यास लगाइरहे । हामी दुगुरिइरहेको बाटोसंगै भाका मिलाएर समानान्तर दुगुरिइरहेको छ पारिपट्टिको ढुङ्गेलो पहाड पनि । यहाँबाट हेर्दा पारिपट्टिको पहाडी पाखो सिङ्गै एउटै ढुङ्गो उभिएजस्तो लाग्दैछ । वारिपट्टिको पहाडलाई भने ठाउँठाउँमा खोला, खोल्सा, खहरेहरुले बगाएर क्षतविक्षत पारेका छन् । डोजरले खोस्रेको ठाउँ वरपर बगेका ढुङ्गाहरुको विरुप दृश्यले कतैकतै कहाली पनि लागेर आउँछ । तैपनि हामीले मनभित्रको त्रासलाई कुतुहलतामा अनुवाद गर्ने चेष्टा गरिरह्यौं ।

बाटोमा धारापानी भन्ने ठाउँ आयो । यो पनि ढुङ्गा बग्ने पहिरोलाई अठ्याएर बसेको रहेछ । यहाँनिर पनि धारापानी, त्यहाँनिर पनि धारापानी । यता पनि धारापानी, उता पनि धारापानी । धारापानी भनेको कुनै एउटा गाउँ नभएर सडकछेउ ढुङ्गाका रास सम्याएर बसेका सानासाना गाउँहरुको साझा नाम रहेछ । धारा कतै नदेखिए पनि जहाँजहाँ ढुङ्गा बगेर थुप्रिएका देखिन्छन् त्यहाँत्यहाँ धारापानी नामका ससाना गाउँ छन् भनेर बुझें मैले ।

एक ठाउँमा पारिपट्टि प्लाष्टिक जलाएर कूरुप भएको गाउँ देखियो । ‘थोचे भन्छन् यसलाई’ चिनाए चालकले । वारिबाट आँखा च्यातेर अघाउन्जेल हे¥यौं थोचेलाई । उतापट्टिको ढुङ्गे पहाडले आएर कुन् बेला थिच्ने हो? यतापट्टिको मस्र्याङ्दीले कतिखेर बगाउने हो? भन्ने त्रासमा बाँचेकोजस्तो लागिरह्यो यो गाउँ पनि ।

‘थोचेलाई थोचे नभनेर थिचे भनेको भए सुहाउँथ्यो’ प्रायः मौन रहेर मोबाइलले फोटो खिचिरहने गुरुप्रसाद बुलबुल बोले यसपटक । हाँस्यौ सबैजना । तर उनले निकै गम्भीर प्रकारले बोलेका हुन् । गाउँको भौगोलिक अवस्थिति त एकछिन चिन्तित र त्रसित बनाउने खालकै छ । यी अग्लाअग्ला ढुङ्गे चट्टानहरुले कुन बेला आएर थिच्ने हुन्? भन्ने त्रासैत्रासमा कसरी बसेका होलान् यी गाउँलेहरु । गाउँको पुछारमा पहिरो गैसकेको रहेछ । मस्र्याङ्दीले बाढी ल्याएर चिनारीहरु छोडेर जाने गरेको पनि देखियो । थोचेको गाउँ भने बाढी र पहिरोले निश्चिन्त भएर थपक्क बसेकोबसेकै छ । हामी त वारिबाट हेरेरै त्रसित भयौं । थोचेको परपर नाचे, खर्चे, तान्चे, तिचे र तिल्चे नामका अरु पनि गाउँ छन् रे ! तर हामीले थोचेलाई मात्रै देख्यौं । अर गाउँहरुलाई ती अग्लाअग्ला चट्टानले आफ्नो अँगालोमा कतै लुकाइरहे ।

चट्टाने पहरालाई खोपेर बनाइएको एउटा साँगुरो बाटो थोचेबाट तेरपायाँतेरपायाँ माथिमाथि गएको देखियो । केही पदयात्री पनि हिडिरहेका छन् । ‘गोरखाको चुम उपत्यका, छेकम्पार र लामबगरतिर जाने पदमार्ग हो त्यो’ सूर्य गुरुङ्को वचन सुनेपछि निकैबेरसम्म त्यतैतिर आँखा च्यातेर हेरिरह्यौ सबैजना । त्यो पहाडका चट्टान खोपेर बनाइएको त्यो बाटो बास्तबैमा डरलाग्दो नै देखियो । यो डरसंग चुनौति र रहर मिसिएपछि यात्रा पनि रमाइले हुने त हो ! हामी भने हेरेरै पो त्रसित भएका छौं ।

धारापानीमा भन्दा पनि अझ बढी ढुङ्गाहरु थुप्रिएको अर्को सानो बस्ती आइपुग्यो ।
‘बगरछाप हो यो’ बोलिहाले चालक । यो त पहाडबाट बगेर आएको पहिरो मस्र्याङ्दीको बगरमैं पुगेर रोकिएकोजस्तो रहेछ’ अनायास निस्किहाल्यो मेरो मुखबाट । गम्भीर बनाउने भूगोल भएको ठाउँमा पनि हाँसीहाले सबैजना । तिनै ढुङ्गाका रासहरुलाई पन्छाएर बनेको साँगुरो बाटो अघिअघि गैरह्यो । पारिपट्टिको भूदृश्य भने यहाँ पनि उस्तै छ । कतै पनि हरियो नउम्रिएका ढुङ्गेला पाखाहरु ठिङ्ग उभिएकै छन् ।

चालक सुनाउँदै छन्— ‘दुई वर्षअगाडि मस्र्याङ्दीमा ठूलो बाढी आएको थियो । सोही बाढीले नदी छेउछाउका यी गाउँलाई यसरी थिलथिलो पारेको हो’ । हुन पनि हो धारापानीदेखि नै नदी छेउछाउका बस्तीलाई डोजरले खोस्रेर थिलथिलो पारेजस्तो देखियो । यो सिलसिला चामे नपुगुञ्जेल चलिरह्यो । पुरै खेतवारी, बाटो र बस्तीलाई बाढीले उधिनेर, खोस्रेर, पल्टाएर नाङ्गो पारेको छ । कतैकतै सडक निर्माणको कार्यले पनि बाटो वरपरको भूवनोटलाई झन् क्षतविक्षत पारेको छ । खै कुन ठाउँनिर हो, एकठाउँमा त मस्र्याङ्दीले सिङ्गो पुललाई नै बगाएर अङ्गभङ्ग पारी छेउमा छाडिदिएजस्तो पनि देखिएको हो । आङ् नै जिरिङ्ग भएको थियो त्यतिखेर । बाढीको भयावह परिणतिलाई बुझ्न यही दृश्य पर्याप्त छ । मस्र्याङ्दीले बेलाबेला ल्याइरहने जलप्रकोपलाई झेलेर पनि मानिसहरु यही सडकले विकास र समुन्नति ल्याइदेला भन्ने सपना सजाएर पर्खिरहेकै छन् सुदूर भविष्यतिर हेरेर ।

हामी दानाक्यू पुग्यौं । दाहिनेतिर मुसुक्क मुस्कुराएको श्वेत हिमालसंग हाम्रा आँखा जुधे । मन रमाएर आयो । अघिदेखि नजिकनजिक सरिरहेको जस्तो लाग्दै थियो यो हिमाल । यहाँबाट त झन् धेरै नजिक पो देखियो ।
दानाक्यू पुगेपछि दायाँतिरको यो हिमालमात्र हैन बायाँतिर पनि अर्को हिमाल देखियो । अघिदेखि जुन हिमाल देखिए पनि त्यसैलाई लमजुङ् हिमाल भनिरहेका थिए सूर्य गुरुङ्ले । तर दानाक्युमा आएपछि थाह भो दे्रब्रेतिरको रहेछ लमजुङ् हिमाल र दाहिनेतिरको रहेछ नमजुङ् हिमाल । ल र न को उच्चारणको भेदलाई छुट्टयाउन नसकेकोले झुक्किएको रहेछ मेरो कान । प्रत्यक्ष हेर्दा पनि लमजुङ् हिमाल र नमजुङ् हिमाल आकार, आकृति र दृश्यमा उस्तैउस्तै लागे । जुम्ल्याहा दिदीबहिनी सेतो खास्टो ओढेर एउटै आँगनमा उभिएका जस्ता !

नदी वरपरको ढुङ्गेलो दृश्य हेरेर थकित भएका हाम्रा आँखामा हरिया रुखका रहरिला दृश्यहरु पर्न लागे । दानाक्युको वरिपरिको भूगोल ढाकेर उभिएका छन् लालीगुरासका बोटहरु । लालीगुरास फुलेर पनि ओइलिसकेको याम हो यो कदाचित् । फूलहरु उतिसारो छैनन् रुखमा । हरिया रुखहरुले नै मन शीतलो बनाइरहे ।

अलि परपर पुगेपछि कतैकतै रुखका हाँगामा पातलोपातलो देखिए फूलिरहेका लालीगुरास । लालीगुरास हेर्न नपाएका मान्छेका लागि यत्तिको फूल हेर्न पाउनु पनि सौभाग्य नै हो ।
‘कम्तिमा मनाङ् पुगेर लालीगुरासका हरिया रुखमात्रै हेरेर आउनु प¥यो’ भन्नबाट त जोगियौं ।

शरीरमा चिसोचिसो अनुभव हुन लागिसकेको छ । हिमालको निकै निकट पुगिसकेका छौं । सुस्तसुस्त वातावरण फेरिएको हामीलाई ख्याल नभए पनि शरीरले भने अनुभव गरिसकेको छ । पातलो शर्ट र विन्डचिटर लगाएको शरीरले बाक्लो कपडाको माग गर्न लाग्यो । मैले घाँटीसम्मै टम्म चेन लगाएर चिसोलाई हेप्ने प्रयत्न गरे । तर चिसोले नै मलाई पो हेप्न खोजिरह्यो ।

हिमालका दृश्यहरु हात लम्काएर समात्न सकिएलाजस्तो गर्दै आँखैनिर टाँसिन आएजस्तो गर्न लागे । पूर्वतिरका हिमाल मनासुलु र हिमालचुली रहेछन् । अलि परको रहेछ पाङ्बोचे हिमाल । हिमाल र लालीगुरासका दृश्य हेदैं तिमाङ् गाउँ पुग्यौं । यो गाउँको सरसफाई, बाटो र पङ्क्तिबद्ध घरले ध्यान ताने । नओर्लिएर रहन सकिएन । जीपचालक सूर्य गुरुङ्ले हामीलाई ओर्लिन र फोटो खिच्न रहर लागेको ठाउँमा जीप रोकिदिएकै छन् । तिमाङ्मा हामीले पनि ओर्लिएर टन्न फोटो खिच्यौं । दायाँबायाँ उभिएका उनै हिमाललाई पृष्ठभूमिमा पारेर । केही लालीगुरासका फूल र बोटलाई क्यानभासमा समेटेर । हिमालले त नाङ्गो आँखाले हेर्दाजस्तै आफ्नो अप्रितम सौन्दर्य पोखे मोबाइलमा पनि तर लालीगुरासका फूल भने फोटोमा निकै सानासाना पो देखिए ।

यतातिरका लालीगुरास गुलाफी रङ्का रहेछन् । तिमाङ् गाउँको छेउमा एउटा घरको आँगनमा एक्लै उभिएको रुखमा भने ढकमक्क रातो लालीगुरास फुलिरहेका थिए । त्यो देखेर गुरुप्रसाद बुलबुलले चहकिंदै भने — ‘अङ्कल दुईटा रङ्का लालीगुरास देख्न पाइयो आज एउटै दिनमा’ ।

घुम्दैघुम्दै अघि बढिरहेको तेरपायाँतेरपायाँ बाटो वरपरका लालीगुरास र सल्लाका रुख हेर्दै स्याक्र्यू पुग्यौं । एकैछिनमा कोतो भन्ने ठाउँ आयो । कोतो पुगुञ्जेल हिमालको दृश्यले आँखामा लुकामारी खेलिरह्यो । बाटो घुमेसंगै सेतो हिमाल पनि कहिले दाहिनेतिर देखिन्छ । कहिले देब्रेतिर देखिन्छ । कहिले आँखाअगाडि आएर उभिएजस्तो गर्छ त कहिले आँखा पछाडि पुगेजस्तो पनि भान पार्छ । कोतोभन्दा उता लागेपछि भने हिमाल पनि आफ्नै ठाउँमै थपक्क उभिएजस्तो लाग्न थाल्यो !
बाटोमा जति ठाउँ आए पनि सबै नाङ्गा छन्, उजाड छन् उदास छन् । खेतवारी, कान्ला, करेसाबारी सबै रित्ता छन् । मान्छेले खेतीपाती गर्न बिर्सिएजस्तो एउटा अनौठो रिक्तता व्याप्त छ बाटो परपर । चिटिक्क परेका आधुनिक घर त उभिएका छन् । बस्तीको माझमा सलक्क परेका सडक र ढल त बनेका छन् । भौतिक विकासले राम्रैगरि प्रवेश गरिसकेको भए पनि स्थानीय उत्पादनको उपस्थिति भने कतै, केही देखिएन । कतै मनाङ्को चिनारी भन्नु नै यी भिराला ढुङ्गे पहाड, ती उत्तुङ्ग हिमचुली अनि यिनै लालीगुरास र सल्लाका रुख मात्रै त होइनन् ? सोधिरह्यो मनले मनलाई नै !

मनमा कुरा खेलाउँदाखेलाउँदै हामी चामे पुग्यौं । ढुङ्गे पहाडहरुको फन्को मार्दामार्दै बेसीशहरबाट चामे पुग्दा ६६ किलोमिटर कुदेछौं । घडीको अङ्क गणना गर्दा साढे पाँच घण्टा समय लागेछ ६६ किलोमिटरको दुरी पार गर्न ।
एकजनाको पन्ध्रसयका दरले भाडा तिरेपछि चालक सूर्य गुरुङ्लाई फर्किने हतार भै हाल्यो ।
‘फर्किदा उति सारो यात्रु पाइन्नन् । खोज्नुपर्छ नत्र खालीखाली जाने हो’ यति भनेर उनी कसैसंग फोनमा इङ्गेज भैहाले मान्छे खोजी दिनू भन्दै । हामीले बाईबाई भन्न पनि भ्यााएनौं ।

बेंसीशहरबाट चामे पुगुन्जेल गफ गर्दै आएका उनै भाइ ज्ञानदीप विश्वकर्मासंग पनि छुट्टिने बेला भयो । छुट्टिने बेलामा मैले ज्ञानदीपभाइलाई मेरा चारवटा पुस्तक उपहार दिएँ । ‘अङ्कल हजुरसंगको आजको यात्रा अविष्मरणीय रह्यो’ छुट्टिनुअघि बोले उनी ।
‘तपाइँको नामका चार ओटा शब्द ज्ञान, दीप, विश्व र कर्मा संस्कृतबाट आएका सुन्दर शब्द हुन् । तपाइँलाई बिर्सिन खोजे पनि बिर्सिन दिने छैनन् यी सुन्दर शब्दले मलाई पनि’ मैले यसो भन्दा उनी मन खोलेर हाँसे । शिरैमाथि टल्किरहेको श्वेत हिमालजस्तै टिलिक्टिलिक् चम्किरहे परै पुगुन्जेलसम्म उनका सेता दाँत ।

उनी आफ्नो कार्यालयतिर लागे । हामी मस्र्याङ्दी तरेर पारिपट्टिको श्वेत स्तूप होटेलतिर सोझियौं । त्यहाँ भेटिए कैलालीको लठैया घर भएका रमेश चौधरी । नाउँ र गाउँ सोधेपछि उनीसित थारु भाषामा कुरा गर्न थाले म । थारु भाषाको आत्मीयताले उनले राम्रै कोठा दिए हामीलाई ।

‘एटेच कुन्टी हो, अपने पन्ध्र सय डेबी, अपनने के अपन मनैं हुइटी, टबमारे हो, नै कि आउर जहन महङ्गा बा’ (एटेच कोठा हो, तपाइँहरु पन्ध्र सय दिनुहोला, तपाइँहरु आफ्नो मान्छे भएर मात्रै हो, नत्र अरुलाई त महङ्गो हुन्छ) बोल्न त उनले व्यापारिक पाराले नै बोलेका हुन् तर हामीले उनको कुरालाई आत्मीय रुपमा लियौं । हामीले नमागे पनि उनले हामीलाई आफै सहुलियत दिइ हाले वा दिएजस्तो गरे । मख्ख प¥यौं हामी । कोठामा पस्यौं । बाक्ला लुगा लगायौं । तातो चिया पियौं । बस्दाबस्दै मैले अघि तिमाङ्मा खिचेको फोटो र एउटा मुक्तक पोष्ट गरिहालें फेसबुकमा । अनि निस्कियौं चामेको चहलपहलसित मिसिएर निस्फिक्री रमाउन ।

लमजुङ् हिमालकै फेदमा छ चामे । मस्र्याङ्दी नदीलाई नै च्याप्प अँगालो हालेर थपक्क बसीरहेको जस्तो लाग्यो पहिलो हेराईमा चामे । जनसङ्ख्याको दृष्टिकोणले नेपालको सबैभन्दा सानो जिल्लाको यो सदरमुकाम पनि सानै रहेछ । तर सानो ठाउँमा घर भने ठूलाठूला छन् । घरभन्दा होटल झन् ठूलाठूला लागे । घर र होटलको दाँजोमा सडकको स्थिति भने दयनीय छ । लमजुङ् हिमालबाट बगेर आउने खोल्सा र मस्र्याङ्दीका भँगालाले चामेका सडकलाई पनि खोल्साजस्तै चिसोचिसो बनाइदिएका छन् । वरपर हिड्दै केही सरकारी कार्यालय, गुम्बा, विद्यालय र अस्पताल हे¥यौं । दाहिनेपट्टिको पाखोमा अलि माथितिर एक्लै एउटा सानो गुम्बाको आकृति देखियो । त्यहाँ पुगेको भए दुईटा पहाडले थिचिन लागेको चामे झन् छर्लङ्गै देखिन्थ्यो होला । तर स्याइँस्याइँ गर्दै बतास चल्न थालेकोले त्यहाँसम्म पुग्ने आँट आएन ।

घाम नडुब्दै चामेको चिसोले हाम्रो मुटुलाई हल्लाउन थालिहाल्यो । चामे बजारको एक फन्को नमार्दै तातो ओछ्यान खोज्न लाग्यो शरीरले पनि । चामेका हिमाली सम्झनाहरु आँखाभरि बटुलेर होटलमैं फर्कियौं । उनै रमेशले तातो खाना खुवाए । जतिजति चिसो बढ्दै गयो उतिउति मस्र्याङ्दीको सुसाहट पनि बढ्दै गयो । माथिमाथि हिमालका चुचुराहरुलाई सेता बादलले छोप्न लागे । आकाशले गड्याङ्गुडुङ् गर्न आरम्भ ग¥यो । सम्साझैं सघन अँध्यारोमा डुबे अघिसम्म उज्याला देखिने हिमाल पनि । सुत्नुअघि एकपटक आउँदाआउँदै फेसुबकमा पोष्ट गरेको मुक्तकमा आँखा पोखिए ः
मनमैं बसी भएका दूरलाई पनि सम्झिएको छु
नेपालगंज र कोहलपुरलाई पनि सम्झिएको छु
पुगेर हिमालको सेतो आँगनमा उभिएर एकछिन
घर, साथीसङ्गी र हजुरलाई पनि सम्झिएको छु

 

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु