September 13, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

उस्तै रह्यो मनको तीर्खा

मा प्रकाशित

बस लागेकै रहेछ । बस्यौं । सीट पनि पाइहाल्यौं । सिटभन्दा बढी मान्छे नहाल्ने नियम भने पालना गर्दारहेछन् बसवालाहरु । बसको जस्तै नियम बाहिर किन बस्न नसकेको होला? लाग्छ यहाँका मान्छेले फोहोरलाई आफ्नो जीवनको अङ्ग बनाइसकेका छन् !

हिड्यो बस । सडक वरपर गोरखपुरको अस्तव्यस्त र फोहोर रुप देखिदै रह्यो । मान्छेहरु खुलामा उभिएरै मुत्रत्याग गरिरहेका छन् । सडक व्यवस्थित भए पनि वरपरको ठाउँलाई फोहोरले निलेको छ । बस आफ्नै गतिमा पूर्वपूर्व लागिरह्यो । रोकिने, हिड्ने क्रम चलिरह्यो । मान्छे ओर्लिने चढ्ने गरिरहे । गोरखपुरको पुरानो बजार क्षेत्रबाट बाहिरी क्षेत्रमा प्रवेश गरेपछि फेरिदै गए दृश्यहरु । मान्छेको हुल उस्तै भए पनि भवन सडकपेटीहरु सफा देखिन लागे । बाटोमा गोरर्खा स्मारक पनि देखियो । एक ठाउँमा त एउटा चौबाटोको नाम नै रहेछ गुरुङ्चोक । होला कुनै गोरखाली वीरको सम्मानमा राखिएको यो नाम । बिचरा अरुको लागि आफ्नो पौरख खर्च गरेर विदेशी भूमिमैं इतिहास बनेका छन् । होला नेपालको कुनै अनकन्टार गाउँमा उनको घर । कसैले चिन्दो होला कि चिन्दैन होला उनलाई अचेल उनको गाउँमा? निरुत्तर रह्यो मेरो जिज्ञासा मबाट नै ।

बाटैमा आयो कुडाघाट । गोर्खाली सेनाको भर्ती केन्द्र छ यहाँ । सैनिक क्षेत्र भएकोले व्यवस्थित लाग्यो कुडाघाट । बाटोमा वनक्षेत्र पनि आयो । गोरखपुरको हुल रित्तिदै वातावरण खुकुलिदै गयो । बस कुदिरह्यो । हामी झ्यालबाट देखिने बाहिरका दृश्यहरुमा आँखा ओछ्याउँदै हल्लिरह्यौं । हाटा भन्ने ठाउँमा आइपुगेपछि कुशीनगर लेखेका साइनबोर्डहरु देखिन लागे । कुशीनगर जिल्लाको क्षेत्र आरम्भ भएको अनुमान गरें । हेतिमपुर पुगेपछि त आइहाल्यो कुशीनगर । गाजीपुर जाने बाटो छोडेर ओर्लियौं चोकमा । ५५ किलोमिटर बाटो डेड घण्टामा पार गरेर पुगियो कुशीनगर ।

चोकैमा उभिएको छ विशाल बुद्ध प्रतिमा । भगवान बुद्धलाई ढोगेर हामी अघि बढ्यौं । पहेंलो रङ्को अग्लो द्वारमा हिन्दी र अङ्रेजीमा लेखिएको छ — ‘स्वागतम् बुद्ध महापरिनिर्वाणस्थल’ । शब्दमा कुदिएको त्यही स्वागतलाई स्वीकार गर्दै हाम्रा पाइला बढे बुद्धपथतिर । भोक पनि लागिसकेको छ । पेट पनि भर्नु छ । तर पहिले हामी आवासको जोहो गर्न पट्टि लाग्यौं । होटेल खोज्दै जाँदा हामी निकै पर पुग्यौं । यहाँ धेरै महङ्गा र पहिले नै बुक गर्नु पर्ने होटेल धेरै रहेछन् । धर्मशालामा पनि ठाउँ पाउन गाहारो भो । बल्लबल्ल महाबोधी होटेलमा पाइयो एउटा कोठा । झोला थन्क्यायौं । खाना खायौं र लाग्यौं कुशीनगरको शालीन सौन्दर्यलाई आँखाले टिप्न ।

भगवान सिद्धार्थ बुद्धको देहावसान भएको ठाउँ हो यो । यहीं उहाँको शरीर समाधिष्ठ गरिएको छ । कुशीनगरको प्रमुख दर्शनिय स्थल हो उहाँकै समाधि स्तुप । रामाभार स्तुप भनिन्छ यसलाई । बुद्धमार्गको दुबैतिर यहाँका गुम्बा, स्तुप, मन्दिर, विहार र होटल धर्मशालाहरु छन् । रामाभार भने बुद्ध मार्गको पल्लो छेउमा रहेछ । हामी पुग्दा घाम निकै उज्यालो भैसकेका थिए आकाशमा । रामाभार स्तुपको वरिपरिको उद्यान र चौरमा मानिसको कल्याङ्मल्याङ् घना भैसकेको थियो ।

अग्लाअग्ला नरिवलका रुखहरु शोभायमान छन् उद्यानमा । नरिवलका रुखहरुले पहरा दिइरहेका छन् रामाभार स्तुपलाई । स्तुप माटोको विशाल डल्लोजस्तो देखिन्छ । माटो पनि जलेर कालो भएको इटाको थुप्रोजस्तो लाग्छ । मलाई त यो स्तुप माटोभन्दा पनि इटाद्वारा नै बनेको जस्तो लाग्यो । अढाई हजार वर्षसम्म प्रकृतिका अनेक प्रहारहरु झेल्दैझेल्दै उभिएकै छ यो स्तुप ।

‘ए रुको रुको ! स्तुप पर मत चढो’ (ए ! पर्ख पर्ख स्तुपमा नचढ्नु) चर्को स्वरमा करायो कोही । सिटी पनि बज्यो । हामी सबैको ध्यान उद्यानको द्वारपट्टि गयो । पाले बसेका प्रहरीले बजाएको रहेछ त्यो सिटी । स्तुपको पहिलो परिक्रमा पथमा हिडिरहेका दुई जना केटाहरुले स्तुपमा चढ्न खोजेछन् । त्यो देखेर पालेले रोकेको रहेछ ।

केटाहरुको त्यो अभद्रता देखेर हामी अवाक् भयौं । लेख्न त ठाउँठाउँमा लेखिएकै छ— स्तुप पर चढ्ना मना है (स्तुपको माथि चढ्न निषेध छ) । तर यो पढेर पनि अभद्रता देखाउने कोही न कोही आइहाल्छन् । उसो त मन्दिर र गुम्बामा जाँदा न्युनतम् अनुशासन पनि कायम नगर्ने मान्छेहरुको बानी नै बसिसकेको छ । बुद्धका स्तुप र गुम्बाहरु त झन् ध्यान गर्ने र मन एकाग्र गर्ने ठाउँ हुन् । रामाभार स्तुपमा पनि धेरै मान्छे ध्यान वा मन एकाग्र गर्न नभएर रमाइलो गर्न, हाँसो ठट्टा गर्न आएका जस्ता देखिन्छन् । तर यो रमाइलो गर्ने ठाउँ हैन । यो त करुणा र शान्तिको भाव बटुल्न आउने ठाउँ हो ।

मैले धेरैजसो ठाउँमा बुद्ध गुम्बा र मन्दिरहरुको वातावरण निकै शान्त देखेको छु । तर यहाँ भने कोलाहलले जितेको छ । हामी हिन्दु धर्मालम्बीका मन्दिर र मेलाकै जस्तो छ यहाँ पनि कोलाहल । बुद्ध त ध्यान र शान्तिको कुरा गर्नुहुन्थ्यो । कोलाहल गर्ने बानी परेका मान्छेहरु बुद्धको मन्दिरमा पुग्दा पनि एकछिन शान्त भएर रहन सकेका छैनन् ।

नेपालको लुम्बिनीमा जन्मेर आफ्नो यौवनकाल नेपालकै कपिलबस्तुमा व्यतीत गरि २९ वर्षको उमेरमा घरपरिवार त्याग्नु भएको थियो बुद्धले । उहाँको गृहत्यागलाई बौद्ध साहित्यमा महाभिनिष्क्रमण भनिन्छ ।घरपरिवार, पत्नी छोरा तथा राज्यको उत्तराधिकार समेत त्यागेर हिड्नु भएका सिद्धार्थ गौतमले भारतको बोधगयामा तपस्या गरेर बुद्ध हुनु भएको थियो । उहाँले बुद्धत्व प्राप्तिपछिको पहिलो प्रवचन सारनाथमा दिनु भएको थियो । बौद्ध साहित्यमा यस घटनालाई धर्मचक्रप्रवर्तन भनिन्छ । चार दशकभन्दा लामो समयसम्म मानवता, शान्ति र प्रेमको सन्देश बाँड्दै उहाँ देशदेशावर डुलिरहनु भयो । ८० वर्षको उमेरमा यही ठाउँमा उहाँको देहावसान भएको थियो । बौद्ध साहित्यमा उहाँको निधनलाई महापरिनिर्वाण भन्दछन् । यो आजभन्दा २५०५ वर्ष अगाडिको कुरा हो । उहाँलाई समाधिष्ट गरिएको ठाउँमै पछि स्तुप निर्माण गरिएको थियो । त्यही हो रामाभार स्तुप ।

वरिपरि बनेका दुई वटा ढुङ्गा र सिमेन्टका पदमार्गमा हिड्दै स्मरण गरेँ बुद्धलाई । स्तुपभन्दा पूर्वतिर फराकिलो खेत देखियो । पश्चिमपट्टि भने घना नै छ बस्ती र अनेक भवनहरुको पङ्क्ति ।

हामीले पनि केही चित्र खिच्यौं । दुई पटक स्तुपको प्रदक्षिणा ग¥यौं र केही बेर चौरमा टोलाएर बस्यौं । मन्दिर र गुम्बामा पुग्यो भने एकछिन बसेर त्यहाँको चिसो बतासलाई सास फेरे पनि शरीरभित्र सकारात्मकताका शीतल भावहरु पस्छन् भनिन्छ । बुद्धको स्मरण मिसिएको रामाभार स्तुपको चिसो बतासमा शान्तिमय आनन्दको परम अनुभूति भयो एकछिन ।
धेरै बेर बसेनौं हामी त्यहाँ । कुशीनगरका धेरै कुराहरु हेर्नु छ । रामाभारसंगै जोडिएको अर्को उद्यानमा पनि निकै चहलपहल छ तर त्यहाँ पसेनौं हामी । उद्यान त जुन शहरमा पनि भेटिन्छन् । भगवान बुद्धका पैतालाका डोबहरु भेटिने कुशीनगर त अन्त कहाँ पाउनु ! बुद्धसंग जोडिएका पुराना कुराभन्दा अरु कुरा हेर्नु छैन हामीलाई ।

बुद्धपथमा एकछिन हिडेर पुग्यौं थाइ मन्दिर । थाईल्याण्डकी राजकुमारी महाचक्री श्रीधरणले बनाएको यस श्वेत मन्दिरले पनि आफ्नै कला पोखिरहेको छ । थाई मन्दिरका छत, ढोका र झ्यालहरुको कला निकै फरक र आकर्षक हुन्छ । यो मन्दिर पनि थाइ बास्तुकलाले रङ्गीएको छ । मन्दिरको देब्रेतिरको विहारलाई अचेल अस्पतालमा परिणत गरिएको रहेछ ।
थाई मन्दिरबाट निस्केर हामी कुशीनगरका प्राचीन अवशेषस्थलमा पुग्यौं । यही नै हो बुद्धको महापरिर्वाणस्थल । यो निकै फराकिलो चौर हो । चौरभित्र ठाउँठाउँमा प्राचीन भग्नावशेषहरुलाई निकै जतनपूर्वक संरक्षित गरिएको छ । यी बुद्धकालिन विहारका अवेशष हुन् । बुद्धको समयमा हजारौ भिक्षुहरुले सामुहिक ध्यान साधना गर्ने विहार हुन् यी । समयका अनेक कालखण्डमा भोग्नु परेका प्रहारहरुले अचेल भग्नावशेषमा परिणत भएका छन् यी । बुद्धकालिन यी विहारहरुले बुद्धकालीन समयलाई वर्तमानमा सजीव बनाइदिएका हुन् ।
चौरको माझैमा एउटा अग्लो ठाउँमा नयाँ मन्दिर देखियो । यो पनि भग्नावशेष नै हो । त्यसैमाथि नयाँ मन्दिर टक्क उभिएको छ । यस मन्दिरको नाम परिनिर्वाण मन्दिर हो । मन्दिरको पछिल्तिर स्तुप ठडिएको छ । यस स्तुपलाई परिनिर्वाण स्तुप भनिन्छ । मन्दिर र स्तुप दुबैको पहेंलो रङ्को मधुर उज्यालोले सूर्यको जम्मै स्वर्णीम रङ् यतै थुप्रिएको त हैन भन्ने आभास पनि भयो । मन्दिरको आकृति निकै फरक छ । झट्ट हेर्दा फक्रिन लागेको कमलको कोपिलाजस्तै देखियो । यस्ता आकृतिका मन्दिर कतै देखिएका थिएनन् । केही खुट्किला चढेर पस्यौं भित्र । पितलले बनेको विशाल मूर्तिको रुपमा शैय्यामा सुतेझैं पल्टिनु भएको छ भगवान बुद्ध । उत्तरतिर सिरान गरेर देब्रे भागलाई माथि पारेर सुत्नु भएको छ बुद्ध । उहाँको सुतिरहेको मूर्तिलाई पहेंलो रङ्को कपडा ओढाइएको छ ।

यो बुद्धमूर्ति धेरै पुरानो हैन । आफ्नो जीवनको अन्तिमकालमा ढाड दुख्ने समस्याले गर्दा बुद्ध बसेर प्रवचन दिन सक्नु हुन्थेन । उहाँ पल्टेर नै प्रवचन दिनु हुन्थ्यो । उहाँको जीवनको अन्तिमकाल यही स्थलमा बितेको हुनाले उहाँको मूर्ति पनि पल्टेको स्थितिमैं बनाउनुको निकै बिम्बात्मक अर्थ छ । वरिपरि परिक्रमा गर्दै मानिसहरु ढोगीरहेका छन् बुद्धमूर्तिलाई । मन्दिरभित्रै केही भिक्षुहरु देखिए । कोही ध्यानमुद्रामा छन् भने कोही पुस्तक पढ्दै छन् । एकजना गोरो वर्णका अमेरिकन जस्ता लागे । अर्का अलि युवा भिक्षु नेपालीजस्ता लागे । सोधेर कुरा गर्ने मन लागेको हो तर प्रहरीले त्यहाँ उभिनै दिएन ।

परिनिर्वाण मन्दिर र परिनिर्वाण स्तुपलाई परिक्रमा ग¥यौं । अनि त्यो अग्लो ठाउँबाट ओर्लिएर हामी पछिल्तिर गयौं । यहाँनिर पुराना इटाहरु थुपारेको जस्तो लाग्ने चौतारोजस्तै संरचना देख्यौं । यद्यपि यो चौतारो नै भनिहाल्न मिल्नेजस्तो पनि देखिन्न । कमलको फूलको आकृतिमा रचना गरिएको माटोको मण्डलाजस्तो देखिन्छ । बुद्धले आफ्नो अन्तिम सास फेरेको वायुमण्डल यही हो । उहाँले आफ्नो मानव चोला त्याग्नु भएको ठाउँ यही निर हो । बुद्धको निधनपछि देशदेशाटनमा घुमिरहेका उहाँका मुख्य चेलाहरुलाई बोलाउन सर्वत्र सन्देश पठाइयो । उनीहरु नआउँञ्जेल धेरै दिनसम्म बुद्धको शरीरलाई यहीनिर राखिएको थियो । पछि यहाँबाट लगेर रामाभार स्तुपनिर समाधिष्ट गरिएको थियो ।

बुद्धले आफ्नो प्रथम सास फेरेको जन्मस्थली लुम्बिनीमा पनि पुग्ने अवसर पाएको छु मैले । उहाँले अन्तिम सास फेरेको ठाउँनिर पनि आएर उभिन पाएँ आज । यी दुबै घटनालाई मैले मेरो जीवनका नबिर्सिने अनुभव ठानें । निकै बेर उभिइरह्यौ त्यहाँनिर हामी तिनै जना । मान्छेको कोलाहलले बिथोल्न खोजे पनि कतै हराएजस्तो भएको छ मन । बुद्धको करुणामय आकृति हृदयको सतहमा अवतरण भैरहेजस्तो लागिरह्यो । तेजबहादुर माझी भाइ त आध्यात्मिक साधनामा लागि सकेको मान्छे । निकै बेरसम्म एकाग्र भएर कतै टोलाइरहको देखेें । उहाँलाई नबिथोलेर एकछिन गुरुप्रसाद बुलबुल र म एक्लाएक्लै डुल्यौं वरपर ।
अढाई हजार वर्ष अघि बुद्धको भौतिक शरीर माटोमा वीलिन भैसकेको भए पनि बुद्ध सन्देशको अनुगुञ्ज त भै नै रहेको छ यतै कतै वरपर । त्यही सन्देशसंग आफूलाई एकाकार गर्न यहाँ पनि मान्छेहरु रुखका बुटाबुटानिर बसेर ध्यान गर्दैछन्् । भिक्षुको पोशाक लगाएका व्यक्तिहरुमा एकाग्रता देखिए पनि सेतो पोशाक लगाएका मान्छेहरुमा भने त्यस्तो एकाग्रता देखिएन । सेतो पोशाक लगाएका एक हुल मान्छे मन्दिरको पश्चिमपट्टि बसेर प्रवचन सुन्दैछन् । एक जना सेतो पाइन्ट र सेतै कमिज लगाएको मान्छे प्रवचन दिदै छ । उ हात हल्लाएर आँखा वरपर नचाएर अलि चर्को स्वरमा बोल्दै छ । यसको यो मुद्रा बौद्ध आचरण अनुकुल लागेन । बौद्ध भिक्षु बोलेको र उनीहरुले सुनेको पनि ध्यान गरेजस्तै शान्त हुन्छ । मौनता बौद्ध साधनाको पहिलो परिचय हो ।

के रहेछ भनेर नजिक गएर सुन्न मन लाग्यो । हुन त उसको प्रवचनमा बुद्धकै कुरा बुद्धकै प्रसङ्ग सुनिए । तर ऊ कसैको आलोचना पनि गरिरहेको छ । उसको प्रवचनमा आक्रोश छ । तथ्यभन्दा तर्कमा बल गरिरहेको छ उसले । उसको प्रवचन सुनिरहेकी एउटा महिलाको निकट पुगेर सोधें । उनीहरु महाराष्ट्रबाट आएका रहेछन् । हिन्दु धर्म छोडेर भर्खरै बौद्ध धर्ममा रुपान्तरण भएका रहेछन् । नागपुरबाट आरम्भ भएको र आफूलाई बुद्ध परम्पराको आधुनिक रुप मान्ने ‘नवयान’ आन्दोलनका पथिक रहेछन् यीनीहरु । बौद्धशीलहरु सिक्न र पालना गर्न अझै सकेका रहेनछन् । बुद्धको शब्दलाई समाते पनि उनीहरुले बुद्धको सारलाई भने समात्न नसकेको देखियो । आक्रोश र उत्साहको जगमा उठेको आन्दोलनको स्वर चर्को भए पनि चरित्र भने फेरिएको नहुने रहेछ । हामीले नेपालमा यो देखिसकेका छौं । यहाँ पनि त्यही देखियो । सके यिनीहरु बौद्ध धर्मका अनुयायीमात्रै बनेका श्रमण मात्रै होलान् । बौद्ध उपासक बन्न भने पहिले आफ्नो स्वभावमा परिवर्तन गर्न आवश्यक हुन्छ ।

बौद्ध बन्न नसकेका ती नवबौद्धहरुको प्रवचन छोडेर हामी चिनियाँ गुम्बातिर लाग्यौं । उसो त कुशीनगरमा श्रीलङ्का, कम्बोडिया, जापान र बर्मा सरकारले बनाएका मन्दिरहरु पनि छन् । तिब्बती मन्दिर र बौद्ध म्युजियममा पनि छुट्टै आर्कषण छ । तिनीहरुमध्ये चीनले बनाएको मन्दिरलाई निकै आकर्षक मानें मैले । तीन तहका घुमाउरा छतको आकृतिले परैबाट ध्यान तानियो । आँखा एकोहोरिए ।

दुई तले चिनीयाँ मन्दिरभित्र पस्न टिकट लाग्यो । मन्दिरको आँगन सागुरै छ । आँगनमा श्वेत रङ्का बुद्ध मूर्तिमा अनुवादित भएर उभिनु भएको छ । दुई तले मन्दिरको तल्लो तलामा १२ हाते बुद्धको मूर्ति देख्यौं । तिब्बती परम्परामा बुद्धलाई अलौकिक देखाउने सिलसिलामा उहाँका हात पनि बारह ओटा बनाइयो भन्ने सुनिएको हो । यहाँ उनै अलौकिक कल्पनाका बुद्धका १२ ओटा हात देखिए । सिढी र खम्बाभरि ड्रागनका मूर्तिहरु निकै कलात्मक रुपमा कुँदिएका छन् । ती ड्रागनले मन्दिरलाई आफूमाथि उचालेको हो कि भन्ने भान पनि पर्छ ।
माथिल्लो तलामा उक्लियौं । यहाँ तीन वटा उस्तैउस्तै लाग्ने बुद्धमूर्ति छन् । निकट पुगेर ढोग्यौं । माथिल्लो तलाको बाहिरपट्टि लाफिङ बुद्धको भीमकाय मूर्ति छ । प्रायः बुद्धका मूर्तिहरु ध्यानस्थ मुद्रामैं देखिन्छन् । अन्यत्र बुद्धलाई हाँसेको देखिन्न तर चीनमा बुद्धको बालक रुपको कल्पना गरेर हाँसेको अवतारको कल्पना गरिएको पाइन्छ । तिनै चिनियाँ कल्पनाका हाँसेका बालबुद्ध भारतीय भूमिमा आएर बुद्धको ज्ञान बाँड्न लागिरहेका छन् । सबैभन्दा बढी भीड लाफिङ् बुद्धकै मूर्तिनिर देख्यौं ।

चिनियाँ मन्दिरभन्दा उत्तर दिशामा रहेको बर्मीज मन्दिरको पहेंलो आकृतिले अघिदेखि नै ध्यान तानिरहेको थियो । चिनियाँ मन्दिरबाट निवृत्त भएर त्यतै लाग्यौं । यहाँ निकै भीड रहेछ । कुनै मेलामैं आइपुगेको आभास दियो यहाँको कोलाहलले । बुद्धका उपासनास्थलमा आएर पनि मान्छेहरु एकैछिन पनि मौन भएका छैनन् । उसो त भनाइ नै छ ‘नेपालीको हल्ला, देशीको सल्ला’ । देशी भनेर उहिलेउहिले भारतीयहरुलाई भन्ने गरिन्थ्यो । यहाँ आएर मलाई त्यो भनाइ चरितार्थ लाग्यो । भुइँभरि कागज र प्लाष्टिकहरु छरपष्ट फालिएका छन् । अन्यत्रका बौद्ध मन्दिरहरु सेता राता रङ्का हुन्छन् । बर्मीज बास्तुकलामा बनेका बौद्ध मन्दिर भने झट्ट हेर्दा सुन पोखिएर एकै ठाउँमा थुप्रिएझै लाग्छन् । यस मन्दिरको स्तुप आकारको छत र छतको छेउछाउका सबै कलाकृति पनि सुनैसुनले बनेजस्तो लागे । लुम्बिनीमा बनेको बर्मीज प्यागोडा पनि ठ्याक्कै यस्तै थियो । बर्माको पुरानो राजधानी रङ्गुनस्थित गोल्डेन प्यागोडाकै प्रतिकृति झैं बनाएका हुन्छन् बर्मा सरकारले विदेशमा बनाएका बौद्ध मन्दिरहरु । यस मन्दिरको नाम भने महासुखमदादा चान थ्याग्री प्यागोडा भए पनि बर्मीज गोल्डेन टेम्पलको नामले परिचित छ ।
कुशीनगरको यस बर्मीज मन्दिरको विशेषता के देखियो भने मूल प्राङ्गणमा बौद्ध भिक्षुहरुको जुलुश हिडिरहेजस्तो मूर्तिहरुको लश्कर छ । हातमा भिक्षापत्र बोकेका र अग्नि रङ्को चीबर पहिरेका यी भिक्षुका मूर्तिहरु पङ्क्तिबद्ध भएर हिडिरहेका छन् जस्तो लाग्यो । यी मूर्तिहरुको सङ्ख्या भने हामीले गन्न बिर्सियौं । एक जनाले भन्यो एकसय आठ ओटा छन् । होलान् पनि लामै लश्कर हेर्दा ।

मन्दिरको छेवैमा सानो पोखरी पनि छ । बुद्ध यही निरको पोखरीमा नुहाउनु हुन्थ्यो भनेर पनि सुनायो कसैले । पोखरीको संरचना भने नयाँ नै छ । अचेल यो पोखरी साँगुरिदै गएकोजस्तो लाग्यो । कुशीनगरमा मन्दिर, गुम्बा र उद्यानहरुको जसरी व्यवस्थापन गरिएको छ यो पोखरीलाई भने अलि हेलचेक्¥याइँ गरेजस्तो लाग्यो । हुन त मानिसहरुले नै आएर फोहोर र अव्यवस्था गर्न थालेपछि कुनै पनि ठाउँ कुरुप हुन समय लाग्दैन ।

विश्वको सबैभन्दा अग्लो मैत्रेय बुद्धको मूर्ति भने निर्माणाधीन अवस्थामा रहेछ । त्यहाँ अचेल भित्र पस्न दिदोरहेन छ । निर्माण पुरा भएपछि फेरि हेर्न आउनुपर्छ भनेर चित्त बुझाइयो ।
कुशीनगर ठाउँ त सानै हो तर यहाँ हेर्ने ठाउँहरु निकै छन् । कुशीनगरका प्रत्येक मन्दिरहरु आफै पुस्तकालयजस्ता लाग्छन् । जुन भित्तामा हे¥यो त्यहाँ कुनै न कुनै बुद्धकथा पढ्न पाइन्छ । जुन उद्यानमा डुल्यो त्यही डुलिरहेजस्तो अनुभव हुन्छ आफूसंगै शान्ति । जुन कलाकृतिमा आँखा लगायो त्यसले कुनै न कुनै मिथक बोकेकै हुन्छ ।

दुई दिने छोटो भ्रमणले कुशीनगरका प्रत्येक कुराहरुको गहिराई पढ्न सकिने कुरै भएन ।
‘दाजु मन त कताकता अधुरै रहेजस्तो लाग्यो’ तेजबहादुर माझीले पोखिहाल्नु भो मनको कुरो । ‘एक चो फेन आए पर्लस् यहोंर काकु’ (एकचोटी फेरि आउनु पर्छ है अङ्कल) गुरुप्रसाद कुम्हाल ‘बुलुबल’ले पनि आफ्नो तुलबुललाई रोक्न सकेनन् । मौन भयो मेरो पनि मन । सहमतिमा टाउको मात्रै हल्लाएँ ।

रात गहिरिदै गयो । कुशीनगरका सडकहरु पनि सुनसान हुँदै गए । बौद्धस्थलहरु पनि पहेंलो उज्यालोको चमकले चम्किदै गए । भारतमा घुम्न जाँदा राती बाहिर निस्किनु प¥यो भने एक प्रकारको भयले घेरेर ल्याउँथ्यो । कुशीनगरमा भने निर्भय बनेको छ मन । रातको सुनसान अँध्यारोमा पनि हामीले बुद्ध पथको एक फन्को लगायौं । मानिसलाई भय भनेको त मानिससितै हो । कुशीनगरका सडकहरुबाट भय भन्ने शब्द नै आफै भयभीत भएर कतै भागेर गैसकेजस्ता लाग्यो ।

कुशीनगरमा बसुञ्जेल समय स्थिर छ जस्तो आभास भैरह्यो । हाम्रो मन मात्रै अस्थिर छ जस्तो लागिरह्यो । तेस्रो दिनको बिहानीपख कुशीनगरसित बिदा लिने समय आएपछि भने हाम्रो मन होइन समय नै अस्थिर रहेछ भन्न बाध्य भएँ ।

अन्ततः ‘स्वागतम् बुद्ध महापरिनिर्वाणस्थली’ लेखेर हिजो हामीलाई स्वागत गरिरहेको उहि विशाल द्वारनिर उभिएर कुशीनगरपट्टि फर्केर आँखा लगाएँ । कुशीनगर आफ्नै इतिहासको अनन्त कथा बोकेर बिहानीको उज्यालोमा मुस्कुराइरहेको छ । छेवैको कसावा बजारमा भने बिहानैदेखि आरम्भ भैसकेको छ कोलाहल । हामी भने केही अनुभूति लिएर अनि केही अनुभूति यतै छोडेर फर्कियौं गोरखपुरतिर ।

गोरखपुर नपुगुञ्जेल आँखाबाट ओझेल परेन झझल्को कुशीनगरको । मनभित्र एकतमासले छचल्किरहे भावनाका ज्वारभाटाहरु । कुनै शब्द नबनेर भावनाकै गहिराईमा डुबीरहे त कुनै शब्द बनेर पोखिइरहे । अनन्त तिर्खा बोकेर आएको थिएँ कुशीनगर । फर्किदा पनि कताकता उस्तै रह्यो तीर्खा । मुक्तक बनेको एउटा भावलाई त मोबाइलको नोट प्याडमा टिपिहालें मैले :-

खोजेको कुनै मौन आभास बाँकी नै रह्यो
अनुबन्धित अलिखित आश बाँकी नै रह्यो
अघाउन त अघाएँ झैं लागे पनि
किन हो? अलिकति प्यास बाँकी नै रह्यो

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु