September 12, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

नौतुना रेलैमा

मा प्रकाशित

खगेन्द्र गिरि ‘कोपिला’

भैरहवाभन्दा बढी चहलपहल देखियो बेलहियामा । बिहानै भीड हुने रहेछ यहाँ त । आठ बजेको समय, सूर्योदयले पूर्वबाट लाली छर्दै गर्दा हामी पुगेका हौं बेलहिया । भैरहवाबाट भारत जाने नेपालको अन्तिम नाका । हामीले ओर्लिन भ्याएका थिएनौ बसबाट । घेर्न आइपुगेका थिए ट्याक्सीवालाहरु । भारतीय मुद्रा साट्नु र बेलहियाको चहलपहल पनि त हेर्नै छ हामीलाई तर ट्याक्सीवालाहरुको हुलले पछ्याएर दिक्क पारिसके ।
वारि बेलहिया, पारि सुनौली । दुबैतिरको भाषा, रहनसहन र जीवन शैली एउटैएउटै छ तर देशको परिचयले पृथकपृथक बनाइदिएको छ यी दुबै ठाउँलाई । माझमा तन्किएको दशगजाको रेखाले वारिपारिका भूभागलाई छिमेकीमा रुपान्तरण गरिदिएको छ । बेलहियामा हामीलाई घेरिरहेको हुलसंगै नेपालद्वार पार गरेर प्रवेश ग¥यौं भारतीय भूमिमा ।
हामीले सुनौली भन्ने गरेको यो भारतीय नाकालाई यहाँ सोनौली भन्छन् । ठाउँ उही हो जिब्रोको चपलता र बोल्ने शैलीले मात्रै उच्चारण फरक भएको हो । सुनौलीको बजारमा बिहानी सूर्यका सुनौला रङ् छरिन लागिसक्दा पनि बजारमा कुनै चहलपहल छैन । पसलहरु बन्द नै छन् । तर सडकभरि देखिए ट्याक्सी र कारका ताँतीहरु ।
तीन जना छौं हामी । म, देउखुरीका गुरुप्रसाद कुम्हाल ‘बुलबुल’ र दैलेखका तेजबहादुर माझी । नवलपरासीको भुमहीमा सम्पन्न साहित्यिक कार्यक्रममा सहभागि भएर घर फर्किने क्रममा अचानक कुशीनगर घुम्न जाने कार्यक्रम बनाएर यता हान्निएका हौं हामी । अहिले भने हाम्रो गन्तव्य बनेको छ गोरखपुर ।
यो २०७९ साल पुष ३ गतेको कुरा हो ।
निकैबेर चल्यो सुनौलीमा ट्याक्सीवालाहरुसंग मोलमोलाई । प्रति व्यक्ति भारतीय मुद्रा तीन सय पचासमा लगिदिने सम्झौता भएपछि बस्यौं एउटा ट्याक्सीमा । सात जना यात्रुमात्रै बस्न मिल्ने इनोभा गाडी भए पनि उसले नौजना कोची हाल्यो । यात्रुहरुको सुविधा र सहजताको कुनै चासै छैन उसलाई । प्रहरीलाई गुनासो गर्छौं भन्दा पनि ड्राइभरले टेरेन । पुलिस क्या करेगा? उसका भी तो पेट है (पुलिसले के गर्छ र उसको पनि त पेट छ) भनेर यात्रु थपिहाल्यो । उसको अगाडि तर्क र तथ्यले काम गर्ने अवस्था नदेखेपछि उसको अतिक्रमणलाई सहन बाध्य भयौं हामी ।
हिड्यो इनोभा गाडी गोरखपुरतर्फ । सुनौलीबाट एकैछिनमा पुग्यौं नौतनवा । पाँच,सात किलोमिटरभन्दा बढी रहेनछ । नौतनवा नेपालको इतिहासमात्र होइन मध्य नेपालको जनजीवनसंग पनि जोडिएको ठाउँ हो । उहिले ब्रिटिश र पछि भारतीय सेनामा काम गर्न जाने नेपाली युवाका पैतालाका डोबहरु मिसिएका छन् यहाँका माटोमाटोमाल। नौतनवाको रेल चढेर गोरखपुरमा भर्ना भै देहरादुनमा तालिम गर्न जाने युवाहरुले कुनै समय गीत नै बनाएका थिए —
‘नौतुना रेलैमा, आइपुग्यो बेलैमा, डेरादुनैमा हजुर डेरादुनैमा’ । देहरादुनजस्तै यो नौतनवा पनि नेपाली जिब्रोमा मिसिएर डेरादुन र नौतुना भएका ठाउँ हुन् ।
२००७ साल फाल्गुण ११ गते राष्ट्रवादी नेता डा.केआइ सिंहले भैरहवामा गरेको विद्रोहलाई दमन गर्न गृहमन्त्री वीपी कोइरालाले बोलाएको भारतीय सेना नौतनवाबाटै नेपाली भूमिमा पसेको थियो । त्यो घटना नेपाली इतिहासको कालो घटना हो । नेपालबाट युवाहरु सैनिक बन्न भारत जानु जति हाम्रोलागि अपमानजनक कुरा हो त्यत्ति नै नेपाली भूमिमा भारतीय सेनाले पाइला टेकेको त्यो घटना पनि अपमानको पराकाष्ठा हो ।
त्यो भन्दा ६ वर्ष पहिले डा. केआई सिंहले बर्माबाट आई क्लिनिक खोलेर काम गरेको ठाउँ पनि हो नौतनवा । त्यही क्लिनिकमा बसेर काम गरेको अनुभवले उनले भैरहवा क्षेत्रमा आफ्नो प्रभाव पारेर गरिवका उद्धारकको छवि बनाएका थिए । ‘भैरहवाका गाउँतिरमा मान्छेहरुले डा.केआई सिंहले कुल्चेको ठाउँको माटो समातेर आफ्नो निधारमा टीका लगाएको मैले आफ्नै आँखाले देखेको छु’ अघि विहान भैरहवाको देवकोटाचोकमा छुट्टिदा विजयसागर श्रेष्ठ सरले भन्नु भएको थियो । कहाँ होला डा. केआई सिंहले क्लिनिक खोलेर बसेको ठाउँ? कस्तो भयो होला? हेर्न आतुर भएर आयो मन । हाम्रो गाडीको ड्राइभरलाई सोध्दा उसले अनभिज्ञता जनायो । ‘तब तो हम पैदा भी नहीं हुए थे (त्यो बेला त म जन्मेको पनि थिएन) भनेर उसले गाडी नौतनवाभन्दा दाहिनेदाहिने गुडाएर दक्षिणतिर हुइक्यायो । हामी बाइपास रोड कुद्न थालेपछि नौतनवा देब्रेतिर छुट्टयो र ओझेल प¥यो आँखाबाट ।
म बाटो वरपरका रमाइला हरिया गहुँखेतपट्टि आँखा डुलाएर अतीतको स्मृतिबाट वर्तमानमा फर्किन थालें ।
यो बाटो म धेरै पटक हिडेको छु । पहिलेको भन्दा अचेल सडक धेरै राम्रो बनेको रहेछ । तर सडक वरपरका घर,भवनका दृश्यले मनभित्र कुनै रहरिलो स्मृति छोड्न सकेनन् । अस्तव्यस्त गाउँ,बस्तीले गोरखपुरसम्म हामीलाई पछ्याइरह्यो ।
सुनौलीबाट हिडेको डेड घण्टा नपुग्दै पुगी हाल्यौं हामी गोरखपुर । उहिलेउहिले त यहाँ आइपुग्न बसले पाँच घण्टा पनि लाइदिन्थ्यो ।
ओर्लियौं गोरखपुर रेल्वेस्टेशननिरको चोकमा । महाराणाचोक भन्दा रहेछन् यसलाई । आँखा पल्तिर उभिएको भव्य रेल्वे स्टेशनको विशाल भवनले आफ्नै आकर्षण पोखिरहेको छ तर वरपरका दृश्यहरु भने त्यति आकर्षक छैनन् । यहाँका दृश्यले मन तानिरहेका छैनन् । यतिका वर्षसम्म पनि उस्तै रहेछ फोहोर र अस्तव्यस्तता । मान्छेको हुल पन्छाउँदै पुग्यौं विश्वविद्यालयचोक निर र खाजा खाने होटल चाहा¥यौं । यहाँको कोलाहल र फोहोर त्यति पृतिकर छैन । खाना खानु त पर्ने थियो तर फोहोर वातावरणले खाने जाँगर हराएर गयो । छिटै उम्किन पाए हुन्थ्यो यो ठाउँबाट । यता अलमल गर्ने मन कत्ति पनि छैन । नजिकै रहेको वसपार्क पुगेर हतारहतार लागि हाल्यौं कुशीनगरतिर ।
पर्सिपल्ट कुशीनगरबाट फर्केको दिनमा पनि ओलिएका हौं यही चौराहामै । अस्ती झैं यता अलमलिने मन छैन आज पनि । समय र दिन फरक भए पनि ठाउँ र वातावरण उस्तै छ । हतारहतार लाग्यौं गोरखनाथ मठतिर । टेम्पोले सफा बाटोबाट नलगेर फोहोर फालिने भित्री बाटो हुँदै कुदाइरह्यो । टेम्पोमा कुदुञ्जेल कत्ति पनि रमाएन मन ।
गोरखपुर महान कवि फिराक गोरखपुरीको साहित्यले चिनिएको ठाउँ पनि हो । गोरखपुरका फोहोर र अव्यवस्थित चोक, गल्ली, मोडहरुमा कुदिरहँदा मन भुलाउन खोजिरहेँ उनकै स्मृतिमा डुबेर । उनी बितेको पनि तीस वर्ष भैसक्यो । तर उनका रचनाहरुको स्पन्दन अझैंसम्म जिउँदै छ । कहाँनिर होला उनी बसेको ठाउँ? कहाँनिर होला उनले काव्य रचना गरेको कल्पनाभूमि? टेम्पोवालालाई सोधें । उसले ‘होगा कहीं मुस्लिम मोहल्ला में’ (होला कतै मुस्लिम टोलमा) भनेर रुखो उत्तर दियो । खास नाम रघुपत सहाय भए पनि उर्दूमा शायरी लेख्ने भएकोले आफ्नो उपनाम उर्दूमै फिराक गोरखपुरी राखेका थिए उनले । टेम्पोवालाले मुस्लिम नाम सोचेर नै मुस्लिम टोलको कुरा ग¥यो होला । गोरखपुरमा रहुञ्जेल धेरै मान्छेहरुलाई सोधें पनि कसैले भन्न सकेनन् उनी बसेको ठाउँको बारेमा । कविहरु त चिनिने भनेको पुस्तकमैं हो भनेर चित्त बुझाएँ ।

परैबाट देखियो गोरखनाथ मन्दिरको अग्लो द्वार । रातो रङ्को अग्लो द्वारमाथि सेता शिखरहरु सुशोभित छन् । सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति भए पनि चेकजाँच त्यसतो खास केही भएन । हामी द्वार पार गरेर भित्र पस्यौं । भित्र त मन्दिर नभएर सानो बजार पो देखियो । यो पूजा सामाग्रीको बजार रहेछ । एकापट्टि सवारी साधन राख्ने ठाउँ र अर्कोपट्टि प्रतीक्षालयजस्तो ठाउँ पनि देखियो । खाना खाने होटलहरु पनि प्रशस्तै छन् । अलि अगाडि पुगेपछि अर्को द्वार देखियो । यो द्वार सेतो रङ्को छ । मन्दिर परिसरमा पस्ने मुख्य प्रवेशद्वार यो पो रहेछ । बाहिर त हामीले प्रवेश गरेर आएको जस्तै तीन वटा द्वार रहेछन् । भित्री प्रवेशद्वारबाट सरसामानहरु भित्र लान दिदो रहेनछ । मोबाइल भने लिन दियो । तेजबहादुर माझी भाइलाई जुठो परेको हुनाले मन्दिरभित्र पस्न मिलेन । उहाँलाई सामानसहित बाहिरै पर्खिन लगाएर म र गुरुप्रसाद बुलबुल भित्र पस्यौ ।
मन्दिरभित्र पस्ने वित्तिकै सानो उद्यान देखियो । पुसको चिसोमा पनि फुलिरहेका रङ्गीचङ्गी फूलहरु आफ्नो मुस्कान पोखिरहेका छन् । उद्यानलाई फलामका बलिया डण्डी र जालीको बार बनाएर सुरक्षित राखिएको छ । मान्छेकै आँखा र हृदयलाई शीतल पार्न फुलिरहेका यी फूलहरुलाई पनि मान्छेकै डर रहेछ । तैपनि फलामले घेरिएको उद्यानभित्र पनि फुलिरहेका छन् ती फूलहरु आफ्नै धर्म निभाएर । छेउको भीमकुण्डमा मानिसहरु खुट्टाले चलाउने ससाना डुङ्गामा विहार गरिरहेका छन् । हामी भने त्यता लागेनौं ।
संगमरमर ओछ्याइएको फराकिलो बाटो हुँदै मन्दिरतर्फ सोझियौं । सेतो मन्दिरमाथि तीन वटा शिखर शैलीका चुच्चे गुम्बद ठडिएका छन् । बिचैमा अर्को थेप्चो आकारको गुम्बद पनि छ । मन्दिर र गुम्बदहरु पुरै सेतो संगमरमरले नुहाइदिए जसरी सुशोभित छन् । मन्दिर पनि पुरै सेतो संगमरमरले बनेको छ । वरपर फूलका क्यारी, चौतारा र पटाङ्गिनीहरु पनि संगमरमरमैं लिप्त छन् । लाग्यो यो संगमरमरको साम्राज्य नै हो ।
मूल मन्दिरलाई घेरेर बनाइएका अनेकौं देवालय, शिवालय, यज्ञशाला र प्रतिक्षालयका भवनहरुले टनाटन भरिएको छ यो परिसर । सानाठूला सबै भवनको छतभरि शिखरैशिखर छन् । शिखरैशिखरहरुको भेला त हैन कतै यो गोरखनाथ मठ भन्नु ! मनका अनेक प्रश्न उर्लिए । अनेक जिज्ञासाहरु आफैतिर सोझिए ।
मन्दिरको प्राङ्गणमा मोबाइलले फोटो खिच्न दिएको थियो तर मन्दिरभित्र भने खिच्न दिएन । मोबाइललाई गोजीमा राखेर हामी मन्दिरभित्र डुल्यौं । मन्दिरभित्रको फराकिलो भागमा वृषभको मूर्ति भगवान शिवको विग्रहपट्टि दृष्टि लगाएर आदेशको प्रतिक्षामा प्रतिक्षारत भएझैं टोलाएका छन् । भगवान शिव यहाँ गोरखनाथको रुपमा प्रतिष्थापित हुनुहुन्छ । भित्ताभरी अनेकौं योगी मुनीहरुका मूर्ति राखिएका छन् । देव,देवी र पौराणिक मिथकहरु झल्किने कलाकृतिले मन्दिर शोभायमान छ । बाहिर देखिएको त्यस्तो कोलाहल मन्दिरभित्र भने चुपचाप छ । हामी पनि एकछिन आँखा बन्द गरेर आफैभित्र डुब्यौं । मन्दिर भन्नु नै एकछिन आफैभित्र डुबेर आफ्नो अस्तित्वको बोध गर्न सिकाउने ठाउँ त हो ।

मूलमन्दिरको दर्शन सम्पन्न गरेर त्यही मन्दिर पछाडिको अर्को मन्दिरमा पस्यौं । यो मन्दिर त मन्दिर भन्दा पनि भगवान, भगवति, देव, देवी, ऋषि, मुनि, संत र योगीहरुका मूर्तिहरुको सङ्ग्रहालयजस्तो रहेछ । हाम्रो सनातन परम्परामा जन्मेर आफ्नो आध्यात्मिक साधना र योगकर्मद्वारा संसारको कल्याण गरेका सबैजसो पात्रका मूर्ति बनाएर राखिएका छन् यहाँ । कि यसलाई सङ्ग्रहालयभन्दा पनि हाम्रा पौराणिक पात्रहरुको सम्मेलनस्थल भनौं भनौं लाग्यो । पुराणमा उल्लेख भएको चौरासी हजार ऋषिहरुले गरेको धर्मसभा त हैन कतै यो ? सङ्ग्रहालयभित्र सबैलाई ढोग्दै परिक्रमा गरिरहँदा महर्षि वेदव्यासले नैमिसारण्यमा गरेको धर्मसभा कदाचित यस्तै थियो होला भन्ने आभास भैरह्यो ।
मन्दिरको दाहिनेतिर गुलाफी रङ्को भवन महन्तको निवास, अतिथिगृह र पुस्तकालय रहेछ । यस मन्दिरका वर्तमान महन्त योगी आदित्यनाथ अचेल उत्तरप्रदेशको मुख्यमन्त्रीको रुपमा कार्यरत हुनाले यहाँ बस्नु हुन्न । सुरक्षा व्यवस्था कडा हुनाले त्यतापट्टि हामीलाई प्रहरीले जान दिएनन् । हामीले विष्णुमन्दिरमा गएर दर्शन ग¥यौं । गौशालाको अवलोकन ग¥यौं र महन्त दिग्विजय नाथ स्मृतिभवनको अवलोकन पनि ग¥यौं । त्यसपछि फर्कियौं फेरि अग्रभागको त्यही उद्याननिर ।
मन्दिरमा पुगेपछि प्राङ्गणमा एकछिन बसिहाल्नु भन्छन् । तर हामीलाई बस्नु भन्दा पनि घुम्ने र सबैकुरा हेर्ने उत्सुकता छ । खुट्टा थाकिसके पनि, पेटमा भोकको प्रभाव परिसके पनि मन भने थाकेको छैन ।
मन्दिर परिसरको सरसफाईले मन विमुग्ध भएको छ । प्रायः मन्दिरहरुमा हुने होहल्ला र अव्यवस्था यहाँ छैन । भक्तजनहरुलाई मन्दिरमा जे पायो त्यही ल्याएर आउन दिदो रहेनछ । यो मन्दिरको विशेषता के लाग्यो भने भक्तहरु यहाँ खाली हात दर्शन गर्न आउँदारहेछन् । भक्तजनहरुले मन्दिरमा जे पायो त्यही ल्याएर नआइदिएपछि मन्दिर फोहोर हुने संभावना रहन्न ।
दान गर्नेहरुको लागि दानपात्र राखिएका छन् ठाउँठाउँमा । मन्दिरको परिसर नरिवलका अग्ला बोट र बढेका अशोक वृक्षले भरिएको छ । ती बोटबाट झरेका पातहरु पनि टिपेर कतै थन्क्याएको होला । बाटो, आँगनमा कतै पनि केही फालिएको देखिन्न । सरसफाई त गरेपछि गर्न त सकिदो रहेछ । कहाँ अघिको त्यो फोहोर गोरखपुर शहर ! कहाँको अहिलेको यो स्वच्छ गोरखनाथ मन्दिर !
यहाँको साजसज्जा र व्यवस्थापनले उज्यालिएको सौन्दर्यलाई हेरौं कि मन्दिरबाट गुञ्जिरहेको मन्त्र धूनसंग आफूलाई एकाकार गरुँ? म निकैबेर अलमलमा परिरहें ।
कसैसंग बोल्न मन लागेन । आफ्नै लयमा डुबेर मन्दिर, देवालय, मूर्ति र कलाकृतिहरुसंग एक्लै वार्ता गरिहेँ । गुरुप्रसाद बुलबुल पनि आफ्नै कुतुहलतामा रमाउँदै डुबेका छन् ।
अहिलेको मेरो मनोदशा नै व्यक्त भए जसरी लेखेको भएर हो कि मनभित्र गुजिरह्यो उनै फिराक गोरखपुरीको युग्मपङ्क्ति ः—

तुम मुखातीब भी हो करिब भी हो
तुम को देखें कि तुम से बात करे?

साँच्चै यस्तै भैरहेको छ मलाई । म यहाँको स्वच्छ परिवेश हेरेर नै मुग्घ भैरहेको छु ।
एघारौ शताब्दिमा जन्मिनु भएका महायोगी गोरखनाथलाई शिवकै अवतार मानिन्छ । शैव मतका अनेकौं सम्प्रदायमध्ये नाथ सम्प्रदाय पनि एक हो । महायोगी गोरखनाथले यहाँ गोरखनाथ मठको स्थापना गर्नु भएको थियो । उहाँको देहावसानपछि उहाँका शिष्य र अनुयायीहरुले उहाँलाई शैव अवतारकै रुपमा मठसंगै मन्दिर पनि बनाएर प्रतिष्थापित गरे । सिद्धार्थ बुद्ध र गोरखनाथ बाबाको जन्म एकै दिन वैशाख पूर्णिमामा भएको हो ।
मकर सङ्क्रान्तिमा लाग्छ रे यहाँ ठूलो मेला । हामी एक महिना पहिले नै आइपुगेका छौं । त्यही भएर हुल पनि खुकुलोखुकुलो नै रहेछ ।
गोरखनाथ बाबाको प्रताप र आध्यात्मिक ज्ञानको ज्योति नेपालसम्म पनि फिंजिएको छ । त्यही नाथ परम्परामा छ सय वर्षपछि जन्मेका गोरखनाथ नाम गरेका अर्का योगीले पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणको आर्शीवाद र प्रेरणा दिनु भएको थियो भन्ने जनश्रुति पनि प्रचलित छ । गोरखनाथकै प्रतापले पृथ्वीनारायण शाहले आफ्नो सेनाको आरम्भिक पल्टनको नाम नै श्रीनाथ गण राख्नु भएको थियो । पछि गोरखनाथ नामको अर्को पल्टन पनि बनाइयो । नेपाली मुद्रामा ‘श्रीगोरखनाथ सहाय’ भनेर लेख्ने चलन पनि सोही बेलादेखि चलेको हो तर नेपाललाई धर्मनिरपेक्ष बनाइएपछि सो चलन हट्यो ।
गोरखनाथ मठका वर्तमान महन्त योगी आदित्यनाथले लेख्नु भएको ‘हिन्दु राष्ट्र नेपाल’ भन्ने पुस्तक पढ्न पाएको थिएँ । त्यसमा उहाँको नेपालप्रतिको अपनत्व छताछुल्ल भएर पोखिएको छ । नेपालसंग ऐतिहासिक सम्बन्ध भएको त्यही गोरखनाथ मठको प्राङ्गणमा उभिदा आज मेरा मनमा अनेक कुरा खेलिरहेका छन् । पृथ्वीनारायण शाहलाई पनि सम्झिएँ । नेपाल एकीकरणको प्रेरणा दिने गोरखनाथ बाबालाई पनि सम्झिएँ । सम्झना गर्नु पनि श्रद्धाको प्रथम खुट्किलो नै हो !
मन्दिर प्रवेश गर्ने श्वेतद्वारको छेवैमा मन्दिरको प्रसाद बाँड्ने पसल छ । अघि एकजनाले भनेको थियो मन्दिरमा चढाइने भोगनै मिसिएर बनेको प्रसाद हो यो । त्यसको शुल्क तिर्नु पर्दो रहेछ । विभिन्न मिठाईका परिकार मिसिएको प्रसाद किन्यौं । केही यस मन्दिरको सम्झना मिसिने प्रतिक चिन्ह पनि किन्यौं । गोरखपुरनाथ मन्दिरपट्टि फर्किएर ‘जय शम्भो’ भन्दै ढोग्यौं र बाहिर निस्कियौं ।

‘गोरखपुर पुगेपछि गीताप्रेस पुगिहाल्नु होला’ धेरैले मलाई सुनाएका थिए ।
‘गोरखपुरको आत्मा गोरखनाथमठ हो भने गोरखपुरको मस्तिष्क गीताप्रेस हो’ यो पनि कतै सुनेको कुरा हो ।
‘यो यो पुस्तक लिएर आइस्सेला’ गोरखपुर जान्छु भनेपछि बुनुले म्यासेन्जरमा टिपाएकी थिइन् मलाई अनेक पुस्तकका नाम । मलाई पनि गोरखपुरमा पाइला टेकेदेखि नै गीताप्रेस पुग्ने रहरले पनि पछ्याइरहेकै छ । गोरखनाथ मन्दिरबाट बाहिर निस्किएपछि एउटा टेम्पो समातौं । फेरि टेम्पोले पुरानो बजार क्षेत्रका साँगुरासाँगुरा फोहोरफोहोर गल्ली भएरै लग्यो । ‘अलि राम्रो बाटो लैजानु न’ भन्न सकेनौं हामीले । अपरिचित र नौलोजस्तो लागेपछि गोरखपुरमा ठग्छन् भन्ने सुनेको थिएँ । नबोलेपछि परिचितजस्तो भइँदो रहेछ क्यारे ! नबोली नबोली बाटो काट्यौं ।
गोरखनाथ मन्दिरबाट चार किलोमिटर जति टाढा रहेछ गीताप्रेस । गीताप्रेस रहेको साँगुरो सडकलाई गीताप्रेसमार्ग नै भनिदोरहेछ । पश्चिमबाट आउने लालदिग्गीमार्ग र दक्षिणबाट आउने वसन्तपुरमार्ग जोडिने लालदिग्गी भन्ने चोकबाट पूर्वतिर लाग्ने साँगुरो सडक नै हो गीताप्रेसमार्ग । यो ठाउँलाई रेतीचोक भन्दारहेछन् । मध्य दिउँसो पनि घाम नलागेको यो अँध्यारो सडकले गोरखपुरको पुरानो झझल्को दियो । अँध्यारो सडकमा उकुसमुकुस भएर उभिएझैं देखिने यस प्रेसले छरेको ज्ञानको ज्योति भने टाढाटाढासम्म पुगेको छ । सडकको उत्तरतिर गीता मुद्रणालय र दक्षिणतिर गीता पुस्तकालय आमुन्ने सामुन्ने उभिएका छन् । मुद्रणालयमा पस्ने मूलद्वारको संरचना र कलाकारिताले कुनै मन्दिरकै झल्को दिइरहेको छ । विद्याकी देवी सरस्वतीको ठूलो प्रतिमा र अन्य देवदेवीका सयौं मूर्तिहरु शोभायमान छन् द्वारको माथिपट्टि ।
हामी पुस्तकालयतर्फ पस्यौं । पुस्तकालय त्यति ठूलो त हैन तर निकै सूरुचिपूर्ण ढङ्गले सजाइएको छ । विधा र भाषा अनुरुप पुस्तकहरु बिक्रीका लागि छुट्टाएर राखिएका छन् । नेपाली भाषाका पुस्तकहरु पनि छुट्टै राखेको देख्दा निकै खुसी पनि लाग्यो र छनोट गर्न सजिलो पनि भयो ।
गीता प्रेस मूलतः सनातन वैदिक साहित्यका पुस्तकहरु प्रकाशित गर्ने यस धर्तीकै आधिकारिक संस्था हो । वैदिक साहित्यलाई मानिसले आफ्नो उद्धेश्य र क्षमता अनुसार मनलाग्दी पाराले प्रकाशित गर्ने लेखक र संस्थाहरु अनेक छन् तर गीताप्रेसद्वारा प्रकाशित पुस्तकहरुलाई नै सबैभन्दा शुद्ध र आधिकारिक मान्ने गरिएको छ । यहाँबाट प्रकाशित पुस्तकलाई एउटाएउटा कोड सङ्ख्या दिइएकोे हुन्छ । जसको आधारमा पुस्तक छान्दा वैदिक र पौराणिकताको शुद्ध रुप भेट्न सकिन्छ ।
यो पुस्तकालय आजभन्दा एकसय वर्ष अघि सन् १९२३ को अप्रेल महिनामा स्थापना गरिएको थियो । जगदयाल गोयन्का र घनश्यामदास जालान यसका संस्थापक हुन् । यसका प्रकाशनलाई सम्पादन गर्नमा स्वामी रामसुख दास र हनुमान प्रसाद पोद्धारको ठूलो योगदान छ ।
हामीले केही पुस्तक किन्यौं । मुद्रणालयको एक फन्को मारेर गीताप्रेसबाट पनि विदा लियौं ।
अलि पर भेटियो नखस मार्ग । त्यही सडकमा हिड्दै परपर गएपछि बिस्तारै गोरखपुरको आधुनिक विकसित क्षेत्र देखिन थाल्यो । घुम्दै फिर्दै फेरि उही महाराणाप्रतापचोक आइपुग्यौं । यहाँ नेपालतिर जाने गाडीका लाती भेटिए । फेरि उस्तै भयो मोलमोलाई । बल्ल कुरा मिलेपछि एउटा कारमा कोचियौं र लाग्यौ अस्ती आएकै बाटो भएर सुनौली तिर । सम्झिएँ फेरि उही गीत ‘नौतुना रेलैमा, आइपुग्यो बेलैमा डेरादुनैमा हजुर डेरादुनैमा’।
गोरखनाथ मन्दिर र गीताप्रेसमा बटुलेका स्मृतिकुसुमसंग एकोहोरो कताकता उडीरहें बाटोभरि । कतिखेर सुतेको छु थाहै पाइनँ । नौतनवा पुग्नै लाग्दा झल्यास्स ब्युझिएँ । अनायास सम्झिएँ उनै फिराक गोरखपुरीको युग्मपङ्क्ति ः—
बडे शौक से सुन रहा था जमाना
तूम ही सो गए दास्तां कहतेकहते

 

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु