पुनर्वास । प्यारातालको पर्यटन विकासका लागि नागरिक स्तरबाट पहिलो पटक सुरु गरिएको अभियानले तीव्र रुप लिन थालेको छ । सो अभियानलाई सार्थक र सफल पार्न देश विदेशमा रहेका नेपालीहरूले स्वस्र्फुत रुपमा सहयोग गर्ने क्रम जारी छ ।
तिनै तहको सरकारले प्यारातालको संरक्षण गर्न कुनै पहल नगरेको भन्दै नागरिक स्तरबाट अहिले माछाको स्तम्भ र सेल्फी पोइन्टको निर्माण कार्य अन्तिम चरणमा पुगेको प्याराताल पर्यटन प्रवर्द्धन तथा संरक्षण समितिका अध्यक्ष दीपेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार अब जैविक उद्यानमा आन्तरिक पर्यटकहरूलाई आकर्षित पार्न वाटर फाउन्डेसन निर्माण समेत गरिन लागेको जानकारी दिए ।वाटर फाउन्डेसन आगामी नयाँ वर्ष २०८१ सम्म निर्माण गर्ने लक्ष्य लिएको छ ।
यसैबिच नागरिक स्तरबाट पहिलो पटक सुरु गरिएको यो अभियानलाई सार्थक र सफल पार्न पुनर्वास नगरपालिका वडा नम्बर ११ अमरबस्तीका प्रेमबहादुर थापाले कछुवाको स्तम्भ निर्माण गर्ने घोषणा गरेका छन् । तालको पहिचान झल्काउने संरचना निर्माणको कामको थालनी भइरहेका बेला काँग्रेस नेता समेत रहेका थापाले आफ्ना दिवङ्गत छोरा केशवको सम्झनामा ताल परिसरमा कछुवाको स्तम्भ निर्माण गरी दिने घोषणा गरेका हुन् ।
२०६०/०६१ को समयमा धनगढी बाट प्रकाशित हुने सुदूर सन्देश दैनिक पत्रिकामा आबद्ध भई पुनर्वासबाट पत्रकारिता गर्दै प्याराताल क्षेत्रको अतिक्रमण विरुद्धमा कलम चलाएका तत्कालीन सञ्चारकर्मी तथा शिक्षण पेशामा आबद्ध केशव थापा परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटीमा आबद्ध थिए । समाज सेवामा समर्पित युवा थापा सामाजिक कार्यकै शिलशिलामा काठमाडौँबाट फर्कने क्रममा सडक दुर्घटनामा परि उनको ज्यान गएको थियो ।