कञ्चनपुर, ०७ भदौ । नागरिक उन्मुक्ति पार्टीले सङ्गठन विस्तार कार्यलाई तीव्रता दिएको छ । केही महिना अघि राष्ट्रिय निर्वाचन आयोगमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टी पश्चिम तराईको वैकल्पिक शक्तिका रूपमा स्थापित भईरहदा कञ्चनपुरमा सङ्गठन विस्तार कार्यलाई पनि तीव्रता दिएको हो। आजभन्दा ठिक ७ वर्ष अघि २०७२ भदौ ७ गतेका दिन कैलालीको टिकापुरमा ७ जना सुरक्षाकर्मी र १ जना नाबालकको ज्यान जाने गरी भएको हिंसात्मक टिकापुर काण्डका मुख्य योजनाकारको आरोपमा अहिले जेल जीवन बिताइरहेका रेशम चौधरीको परिकल्पनामा दर्ता गरिएको नागरिक उन्मुक्ति पार्टीले सङ्गठन विस्तार कार्यलाई तीव्रता दिएको छ ।
पार्टी दर्ता लगत्तै भएको स्थानीय तहको निर्वाचनमा कैलालीका ४ वटा स्थानीय तहहरूमा नेतृत्वको अवसर पाएको नागरिक उन्मुक्ति पार्टीले आसन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि तयारी गरिरहेको छ । देशव्यापी सङ्गठन विस्तारमा केन्द्रित उक्त पार्टीको पश्चिम तराईमा भने राम्रो प्रभाव देखिएको छ । सङ्गठन विस्तारका क्रममा कञ्चनपुरको बेलौरी स्थित कलकत्तामा आयोजित पार्टी भेला एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टिकापुर घटनामा निराधार दाग लगाइएको भन्दै दुःख व्यक्त गर्नुभयो । उक्त घटनामा निर्दोष व्यक्तिहरूलाई दोषी ठहर गर्नु, घटनापछि थारु समुदायलाई चरम यातना दिनु, रेडियो स्टेशन र रिसोर्ट लगायतका भौतिक सम्पत्तिहरू ध्वस्त गरिनु जस्ता अमानवीय गतिविधिले आफूहरूमाथि अन्याय भएको उहाँको भनाइ छ ।
नागरिक उन्मुक्ति पार्टीले कञ्चनपुरमा पहिलो पटक आयोजना गरेको भेलाले पार्टीको पक्षमा जनलहर देखिएको नागरिक उन्मुक्ति पार्टीका कञ्चनपुर जिल्ला अध्यक्ष नन्दकुमार रानाले बताउनु भएको छ । कार्यक्रम हुने सम्बन्धी सामान्य सूचनाका आधारमा पनि हजारौँको सङ्ख्यामा नागरिकहरूको उपस्थितिले सकारात्मक सन्देश दिएको उहाँको भनाइ छ । उक्त कार्यक्रमकै दौरानमा एक हजार भन्दा बढी व्यक्तिहरू पार्टी प्रवेश गरेको जिल्ला अध्यक्ष रानाको दाबी छ । कार्यक्रममा पार्टीका उपाध्यक्ष सुनिता चौधरी, प्रवक्ता दामोदर पण्डित, सङ्गठन विभाग प्रमुख लक्ष्मण किशोर चौधरी, कोषाध्यक्ष कोमल ज्ञवाली लगायत पार्टीका शीर्ष नेताहरूको समेत उपस्थिति रहेको नागरिक उन्मुक्ति पार्टीका कञ्चनपुर जिल्ला कमिटी सचिव पीताम्बर चौधरीले बताउनु भयो । कार्यक्रममा थारु कलाकारहरूद्वारा सांस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो । बेलौरीको रिछाहामा पार्टी कार्यालय समेत स्थापना गरिएको जिल्ला सचिव चौधरीले जानकारी दिनुभयो ।